म्याग्दीको सदरमुकाम बेनीमा ब्यवस्थित हेलिप्याड निर्माणकार्य सुरू भएको छ । खुल्लामञ्च र बहुउद्देश्यीय मैदानबाट उडार र अवतरण गर्दा खेलकुद गतिविधि प्रभावितसँगै बजार क्षेत्र समेत धुलाम्मे हुन थालेपछि बेनी नगरपालिका–७ को पहलमा म्याग्दी र कालिगण्डकी नदीको संगमस्थल दोभिल्लामा पक्की हेलिप्याड निर्माााकार्य अगाडि बढाएको वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताए ।

‘प्राविधिक रुपमै यहाँ हेलिप्याड बनाउँदा उपयुक्त देखियो,‘अब प्रतिकुल मौसम बाहेक सधै यसलाई प्रयोग गरिन्छ’ श्रेष्ठले भने । उनका अनुसार हेलिप्याडका लागि हवार्ड क्षेत्रका इन्जिनियर, हेलिकप्टरका क्याप्टेनको राय अनुसार निर्माणकार्य अगाडी बढेको छ । नेपाली सेनाको एआई १७ हेलिकप्टरलाई समेत सहज हुने तथा नाईटभिजनका लागि समेत आवश्यक पूर्वाधार बनाइने वडा कार्यालयले जनाएको छ ।

खुल्लामञ्च हुदै दाहसंस्कार गर्ने घाट जाने बाटो नजिक रहेको हेलिप्याड बर्खाको समयमा समेत प्रयोग गर्न सकिने बेनी रिडरोड मर्मत तथा हेलिप्याड निर्माण उपभोक्ता समितिका अध्यक्ष ज्ञानेन्द्रकुमार श्रेष्ठले बताए । उनका अनुसार वडा कार्यालयबाट गठिन समितिले आफ्नो काम सुरु गरेको बताए ।

हेलिप्याडको लम्बाई र चौडाई ६÷६ को हुने उपभोक्ता समितिका सचिव भरतप्रसाद उपाध्यायले बताए । उनका अनुसार हेलिप्याड निर्माणसँगै बेनीबजार रिङरोड मर्मत समेत गर्ने गरी एघार लाख बजेट विनियोजन भएको छ । हेलिप्याडमा अवतरण र उडानको क्रममा यात्रुले प्रयोग गर्ने भर्याङ समेत बनाइने छ भने बर्खाको समयमा पानीको बाहवले समेत असर नहुने गरीमा पिल्लर हालिने छ । सदरमुकाम बेनीमा आउने पर्यटक तथा स्थानीयले आपतकालिन रुपमा हेलिकप्टर अवतरणका लागि खुल्लामञ्च, बहुउदेश्यीय मैदान र महारानी थानमा रहेका खुल्ला जमिनको प्रयोग गर्ने गरेका थिए ।