श्रवणशक्ति गुमेका (बहिरा) विद्यार्थीलाई मंगला यूवा क्लवले पोशाक सहयोग गरेको छ । बेनी नगरपालिका–४, सिंगास्थित धौलागिरी मावि स्रोत कक्षामा अध्ययनरत विद्यार्थीलाई मंगला गाउँपालिका–१,तल्लो डडुवामा सक्रिय रहेको क्लवले शुक्रबार एक कार्यक्रम गरी विद्यालयमा अध्ययनरत १६ जना विद्यार्थीलाई सदन पोशाक वितरण गरिएको हो ।

पोशाक हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष गोविन्दप्रसाद पौडेल, अध्यक्ष शेर बहादुर पुन र सदस्य भोज बहादुर गिरी, ब्यवस्थापन समितिका अध्यक्ष भगवान खड्का, प्रधानाध्यापक डण्ढपानी सापकोटा, समाजसेवी देबेन्द्र बहादुर बानियाँले साम्रागी हस्तान्तरण गरेका थिए । क्लवका शुभचिन्तक एवम् विद्यालयका शिक्षक खोमराज पौडेलले समस्याका बारेमा जानकारी गराएपछि क्लवले सहयोग गरेको क्लवका सचिव नेत्रराज सुबेदीले बताउनुभयो ।

क्लवले करिव २० हजार बराबरको सहयोग गरेको छ । सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष पौडेलले समान अवसर र गुणस्तीय जीवनयापनका लागि स्रोतकक्षामा अध्ययनरत विद्यार्थीलाई सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले सरकारी अनुदानले मात्रै अपुग हुने भएकाले ब्यक्तिग तथा संस्थागत सहयोगले कक्षा सञ्चालनमा सहज भएको बताउनुभयो ।

विब्यस अध्यक्ष खड्काको अध्यक्षता, शिक्षक खोमराज पौेडेलको स्वागत र शिक्षक टेकबहादुर चोखालको सञ्चालनमा सम्पन्न भएको थियो । क्लवले स्थापनाकालदेखि नै मंगला गापाको तल्लो डडुवामा अवस्थित जानकी आधारभुत विद्यालयमा कम्प्यूटर, प्रिन्टर सहित शैक्षिक साम्रागी सहयोग, विकास निर्माण सहित समुदायका विभिन्न गतिविधिमा सक्रिय रहेको छ ।

विज्ञापन