जन्मदिन मनाउने आ–आफ्नै शैली हुन्छन् । कतिपयले आफ्नै तौर तरिका अनुसार जन्मदिन मनाउने गरेका छन् । कतिले मठमन्दिरमा पुगेर पनि जन्मदिन मनाउँदै आएका छन् । पछिल्लो समय जन्मदिन मनाउने नाउँमा धेरै खर्च गर्ने गरिएको छ। साथीभाई र परिवारका साथ ठूलो खर्च गरेर भोजभतेरसहित भड्किलो रुपमा जन्मदिन मनाउने क्रम बढ्दै गैरहेको छ ।

तर, म्याग्दीका एक विद्यालयका प्रधानाध्यापकले भने आफ्नो जन्मदिनको अवसरमा विद्यालयलाई ल्यापटप खरिद गरेर दिएका छन् । मंगला गाउँपालिका–२ बावियाचौरस्थीत मंगला माविका प्रअ गमबहादुर खत्रीले जन्मदिनको अवसरमा पुस्तकालयलाई शैक्षिक साम्रागीसँगै ल्यापटप खरिद गरी उपहार दिएका छन् ।

‘विद्यालयको सम्रग विकासमा हाम्रो सकारात्मक सहयोग’ भन्ने नारा सहित शैक्षिक क्षेत्रमा जिल्लाकै अब्बल विद्यालय बनाउने अभियानमा रहेका विद्यालयका शिक्षकले जन्मदिन तथा उत्सवमा विद्यालयलाई सहयोग गर्ने कार्यक्रम अन्तरगत प्रअ खत्रीले विद्यालयलाई ल्यापटप दिएको शिक्षक केशव कँडेलले बताए । यता जन्मदिनको अवसरमा सहयोग गदै प्रअ खत्रीले विद्यालयमा सरकारी अनुदानले मात्रै प्रयाप्त नभएकाले शिक्षकबाटै विभिन्न सहयोग गर्ने गरिएको बताए ।

‘मैले सानो प्रयास मात्रै गरेको छु,‘आफ्नै जन्मदिनमा विद्यालयलाई सहयोग गर्न पाउँदा खुसी छु’ खत्रीले भने । उनले विद्यालयका शिक्षकहरुमार्फत नै केही रचनात्मक कार्यहरु सुरु भएपछि साथ दिने प्रयास गरेको बताए । यसैबीच विद्यालयकी शिक्षक यूकुमारी गिरी रोकाले शुक्रबार आफ्नो जन्म्दिनको अवसरमा विद्यालयलाई ५ हजार बराबरको ड्रम सहयोग गरेको पुस्तकालय शिक्षक सोनिया आचार्यले बताईन् ।

उनका अनुसार शिक्षकसँगै विद्यार्थीले समेत जन्मदिनमा पुस्तकालयमा समेत पुस्तक लगाएतको साम्रागी सहयोग गर्ने गरेको जानकारी दिईन् । जन्मदिनको अवसरमा विद्यालयलाई सहयोग गरेर जन्मदिन मनाउन पाउँदा आफूलाई अत्यन्तै खुसी लागेको शिक्षक यूकुमारीको भनाई छ । प्रअ खत्री र शिक्षक यूकुमारीलाई विद्यालय परिवारले जन्मदिनको शुभकामनासहित पुष्पगुच्छा उपहार दिएका थिए ।