म्याग्दीको तल्लो भेगसम्मै भारी हिमपात भएको छ । शुक्रबार दिनभरीको बर्षासँगै बेनी नगरपालिकाको अधिकांस वडाको माथिल्लो क्षेत्रमा हिमपात भएको छ भने जिल्लाका पाँचवटै गाउँपालिकामो मानववस्ती रहेको स्थानमा आसपासका क्षेत्रमा बाक्लो हिमपात भएपछि हिउँ खेल्नेहरूको भिड लागेको छ ।

यो सिजनकै पहिलो बर्षामै हिमपात भएपछि खेतीपाती गर्ने किसान समेत मख्ख छन् । बेनीबाट देखिने भकिम्लीको स्वर्गाआश्रम आसपासका क्षेत्रमा हिमपात भएको छ । हिमाली क्षेत्रमा हिमपात भए पनि १२ बर्षपछि गतबर्ष समेत तल्लो भेगमा हिमपात भएको थियो । जिल्ला सदरमुकाम बेनीमा २ फागुन ०६३ मा हिमपात भएको थियो ।

पर्यटकीयस्थल पुनहिल, घोरेपानी, मोहरेडाँडा, ताकमकोत लगाएतका क्षेत्रमा हिमपातमा रमाउन जानेको विस्तारै भिड लागेको छ । ताकममा स्वास्थ्य शिविरका लागि पुगेका लायन्स क्लव बेनी पिस सिटीका पुर्व अध्यक्ष एवम् जोन चियरपर्सन लोकेश पुनमगरका अनुसार हिमपातले ताकमकोत छोपेको छ ।

म्याग्दीको माथिल्लो भेगमा २ फिटभन्दा बढी र तल्लो क्षेत्रमा १ फिटसम्म हिमपात भएको छ । माथिल्लो भेगमा हिमपातले मानिसहरू घरबाहिर निस्कनसमेत सकेका छैनन् । हिमपातले गूर्जाको जनजीवन कष्टकर बन्दै गइरहेको छ । गूर्जामा हिमपातले धाराको पानी समेत जमेको छ । रातीदेखिक हिमपात हुँदा डाँडापाखाहरु सेताम्ये भएका छन् । यस वर्ष दोस्रो पटक हिमपात हुँदा कृषक र पर्यटकहरु रमाए पनि बृद्धबृद्धा,बालबालिका र पशुचौपायाँलाई भने सास्ती भएको छ ।

विज्ञापन