कान्छी छोरी रोसिका १ बर्षको हुदाँ श्रीमान विपिन घर्तीमगरलाई हेपेटाइटिस– बी रोगले ज्यान लिएपछि मंगला गाउँपालिका वडा नं ३ बरंजा बान्द्रेकी कुमारीलाई पहाडबाट ढुंगा खसेर थिचेजस्तै भयो । बैदेशिक रोजगारीको सिलसिलामा बहराइन पुगेर रित्तै फर्किएका बिपिन दुईछोरी र श्रीमतिको हातमुख जोड्न कतार जाने तयारीमा थिए । बहराइनमा कम्पनीले तोकेको तलब समेत नदिएपछि निराश हुदै घर फर्किएका बिपिनको मेडिकल चेकअफमा हेपेटाइटिस– बी रोगको संक्रमण देखिएपछि उपचारको क्रममा जन्डिस र क्यान्सर समेत देखिएपछि ज्यान गुमाए ।

गाउँमा समान्य कृषि पेशाबाट दुई छोरीलाई हुर्काइरहेकी कुमारीको जेठी छोरी रोशनीलाई अचानक टाउको दुखेपछि चेकजाँचको क्रममा ब्रेन ट्यूमर को रिर्पोट चिकित्सकले थमाइदिएपछि छोरीको उपचारका लागि काठमाण्डौमा छिन् । ब्रेन ट्युमरसँगै क्यान्सरको संकेत देखिएपछि भक्तपुर क्यान्सर अस्पतालमा रहेकी कुमारीले छोरीको उपचारमा आर्थिक जुटाउनै हम्मेहम्मे भएको बताईन् ।

‘छोरीको उपचारमा सहयोग खोजीरहेको छु,‘सानो सानो सहयोगले मेरो छोरीले नयाँ जीवन पाउँछिन्’ कुमारीले बेनीअनलाइनलाई भनिन् । उनले छोरीको उपचारमा हालसम्म करिव ६ लाख खर्च भइसकेको छ । काठमाण्डौको टिचिङ अस्पतालमा अप्रेसन गरेपछि थप उपचारका लागि भक्तपुर क्यान्सर अस्पतालमा रहेकी छोरीलाई सहयोग जुट्ने क्रम जारी भएपनि कति खर्च लाग्छ भन्ने एकिन नभएको उनको भनाई छ । बरंजाबाट विभिन्न देशमा रहेकाले सहयोग जुटाउन सुरु गरेका छन् ।