न्यु धौलागिरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड म्याग्दीको शनिबार बेनीमा २०औं साधारणसभा सम्पन्न भएको छ । सहकारीले गत आर्थिक वर्षसम्म कुल २ हजार ४ सय १४ जना सदस्यको शेयर पुँजी सात करोड ११ लाख २३ हजार एकसय रुपैयाँ रहेको जनाएको छ ।

सहकारीले सोही अवधिमा निक्षेप सङ्कलन ४० करोड १६ लाख ७२ हजार दुईसय ३४ र लगानी ३९ करोड ७७ लाख ७० हजार आठसय १२ रुपैयाँ पु¥याएको छ । साधारणसभाको उद्घाटनसत्रमा सहकारीका अध्यक्ष लिलाबहादुर बानियाँले संस्थागत, सचिव रामजीप्रसाद सुवेदीले प्रगति र कोषाध्यक्ष चन्द्रकुमार केसीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारणसभाको अवसरमा सहकारीले मंगला गाउँपालिका–३, बराङ्जाका अपाङ्गता सोमप्रसाद सापकोटालाई अध्ययनका लागि नगद १५ हजार पाँचसय रुपैयाँ सहयोग गरेको छ ।

यसैगरी म्याग्दी बहुमुखी क्याम्पसको स्नातक तह दोस्रो वर्षमा अध्ययनरत दृष्टिविहिन छात्र गोपाल खत्रीलाई नगद तीनहजार रुपैयाँसहित दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गरिएको छ । त्यस्तै परोपकारी पत्रकारितामार्फत विपन्नहरुलाई सहयोग पु¥याएको भन्दै म्याग्दीका क्रियाशिल पत्रकार हरिकृष्ण गौतमलाई नगद पाँचहजार रुपैयाँसहित दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो ।

यसैबीच संस्थाका कोषाध्यक्ष चन्द्रकुमार केसीले अन्नपूर्ण–७, हिस्तानकी ९ महिनाकी बालिका रियाना रन्तिजालाई आफ्नो कलेजो दान गरी जीवन बचाएको भन्दै उनलाई सहकारीले दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गरेको छ । त्यस्तै संस्थाका सञ्चालक समिति सदस्य बिमला गौचन सामाजिक क्षेत्रको अभियानमा योगदान पु¥याएवापत भारतको नयाँदिल्लीमा डा. भिमराव अम्बेडकर एक्सिलेन्सी सर्भिस अन्तर्राष्ट्रिय अवार्ड–२०१९ बाट सम्मानित भएकोमा सहकारीले पनि दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गरेको थियो ।

यस्तै सहकारीले उत्कृष्ट कर्मचारीका रुपमा व्यवस्थापक हरिप्रसाद पौडेल, उत्कृष्ट सेवा केन्द्र सिङ्गा तातोपानीका संयोजक तुलप्रसाद श्रेष्ठ, संस्थाबाट विदाई भएर जान लागेकी कर्मचारी रिना बुढोथोकी र कार्यालय सहयोगी गंगादत्त शर्मा नगद, दोसल्ला र सम्मानपत्रले सम्मानित भएका छन् । संस्थामा उत्कृष्ट कारोबार गर्नेहरु बचतकर्ता मीमबहादुर गुरुङ, खगराज आचार्य, भूमिसरा रोका, असल ऋणी चन्द्रबहादुर क्षत्री, मनबहादुर रोका र टिका रानालाई पनि सम्मान गरिएको छ ।

साधारणसभाको उद्घाटन गर्दै बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले सहकारीलाई पैसाको आवश्यकताभन्दा पनि योजना आवश्यक रहेको बताए । उनले सहकारी संघसंस्थाहरुको लगानी उत्पादनमूलक क्षेत्रमा कम रहेको बताउँदै यसका लागि लगानीको आकर्षण र वातावरण निर्माण गर्न नसकिएको अवस्था रहेको बताएका छन् । धौलागिरी सहकारीले आर्थिक कारोबारसँगै सामाजिक क्षेत्रमा उल्लेखनीय लगानी गरेको नगर प्रमुख श्रेष्ठको भनाइ छ ।

सोही कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले आर्थिक कारोबार उत्कृष्ट बनाएको धौलागिरी सहकारीले जिल्लाको सबै स्थानीय तहमा आफ्नो शाखा विस्तार गर्नुपर्ने बताए । बेनपा–४, सिङ्गाका वडा अध्यक्ष गोविन्द पौडेलले धौलागिरी सहकारीले बचत तथा ऋण कारोबार मात्रै नगरी सामाजिक क्षेत्रलाई प्राथमिकता दिइएकोमा प्रशंसा गरेका थिए । उनले सहकारी संघसंस्थाले आफ्नो लक्ष्य र उद्देश्य अनुसार आर्थिक क्रियाकलाप गर्नुपर्ने भन्दै ऋण लगानी उद्देश्य अनुसार भएमा जोखिम कम हुने बताएका छन् ।

कार्यक्रममा सम्मानित व्यक्तित्वद्वय बिमला गौचन, हरिकृष्ण गौतम, जामुनाखर्क माध्यमिक विद्यालय अर्थुङ्गेका सहायक प्रधानाध्यापक मोहनप्रसाद सुवेदी र शेयर सदस्य सीता गौतम सुवेदीले मन्तव्य राखेका थिए । सहकारीका अध्यक्ष लिला बानियाँको अध्यक्षता र सचिव रामजीप्रसाद सुवेदीको सञ्चालनमा सम्पन्न कार्यक्रममा सञ्चालक समिति सदस्य बमबहादुर पुनले स्वागत गरेका थिए ।