प्राकृतिक उपचारको अस्पतालका रुपमा रहेको तातोपानी कुण्डमा शनिबार बाथ रोगसम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भएको छ । तातोपानी कुण्ड व्यवस्थापन समितिको आयोजना र नेशनल बाथरोग सेन्टर पोखरा शाखाको प्राविधिक सहयोगमा बाथ रोगसम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

शिविरमा १ सय ७० जना बाथ रोगसँग सम्बन्धित बिरामीहरुले उपचार सेवा पाएको तातोपानी कुण्ड व्यवस्थापन समितिले जनाएको छ । शिविरको बरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर विनित बैद्य र मनिसा भोछिभोय,डा. कल्पना पुडासैनी सहित स्वास्थ्यकर्मीहरुको टोलीले उपचार तथा परामर्श सेवा उपलब्ध गराएको थियो । शिविरमा उपचार सेवा लिनेहरुमध्ये अधिकांश महिलाहरु रहेका छन् ।

कुण्डमा डुब्न आउने बिरामीहरुको स्वास्थ्य अवस्था चेकजाँच गर्ने उद्देश्यसहित निःशुल्क शिविरको आयोजना गरिएको जनाइएको छ । स्वास्थ्य चेकजाँच गरेका बिरामीहरुलाई निःशुल्क औषधी समेत वितरण गरिएको कुण्ड व्यवस्थापन समितिका सहसचिव कुमार केसीले जानकारी दिए । तातोपानी कुण्डमा डुब्न आउने बिरामीहरुलाई लक्षित गरी कुण्डले हरेक वर्ष निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दै आइरहेको छ ।

शिविरमा बेनी नगरपालिका–४, सिङ्गाका वडा अध्यक्ष गोविन्द पौडेलको विशेष उपस्थिति रहेको थियो । म्याग्दीको बेनपा–४, सिङ्गास्थित रहेको प्रसिद्ध तातोपानी कुण्ड पछिल्लो समय स्वदेशी र विदेशी बिरामी तथा पर्यटकहरुको रोजाइमा पर्न थालेको छ । कुण्डमा भौतिक पूर्वाधार विस्तार र प्रचारप्रसार भएसँगै पछिल्लो समय कुण्डमा स्नान गर्न आउने बिरामी र पर्यटकको सङ्ख्या बढ्दै गैरहेको छ ।

विज्ञापन