धवलागिरी गाउँपालिका–७ ताकममा शनिबारदेखि सुरु भएको निशूल्क बृहत स्वास्थ्य शिविरमा विरामीको भिड लागेको छ। विशेषज्ञ चिकित्सक सहितको टोली दुर्गम बस्तीमा पुगेपछि आफ्नो समस्या लिएर गाउँपालिका भित्रका विभिन्न बस्तीबाट शिविरमा विरामी आएका छन् ।   

शिविरको संविधान सभाका सदस्य नवराज शर्माले उद्घाटन गदैं विपन्नता तथा विभिन्न कारणले रोग लुकाएर बस्न बाध्य गाउँलेलाई शिविरले रोगको पहिचान गर्ने बताउनुभयो । सोही अवसरमा धवलागिरी गाउँपालिकाकी अध्यक्ष थमसरा पुनमगरले जनताको आधारभुत आवश्यकता पुरा गर्न गाउँपालिका प्रतिबद्धत रहेको बताउनुभयो ।

लायन्स क्लव अफ बेनी पिस सिटीले आइतबारसम्म सञ्चालन गर्ने शिविरको पहिलो दिन ९ सय १४ जनाले सेवा लिएका छन्। गण्डकी मेडिकल कलेज पोखराका प्रिन्सिपल रविन्द्र कुमार श्रेष्ठको नेतृत्वमा स्त्री रोग विशेषज्ञ हाडजोर्नी, रेडियोलोजी, बालरोग, छाला तथा यौन रोग विशेषज्ञ, नाक, कान घाँटको टोली सहित बेनीस्थीत निलगिरी डेन्टरमा कार्यरत डा. विवेक सुनारको डेन्टलको टोलीले सेवा दिएको छ ।

बेनी अस्पतालको प्राबिधिक सहयोगमा सञ्चालन शिविरमा धवलागिरी गाउँपालिका अन्तरगतका ताकम, मुना, मुदी, लुलाङका साथै छिमेकी मालिका गाउँपालिकाको देविस्थानबाट समेत विरामी आएको लायन्स क्लव अफ बेनी पिस सिटीका अध्यक्ष नरेश श्रेष्ठले बताउनुभयो । शिविरमा बिरामीको स्वास्थ्य परिक्षण, परामर्श र निशूल्क औषधि वितरण गरिने भएको छ । कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष राजेश शाक्यले मन्तब्य राख्नुभएको थियो भने महासचिव सन्दिप खत्रीले सञ्चालन गर्नुभएको थियो ।