म्याग्दीको बेनी नगरपालिका–३,भकिम्ली तल्लो राखुकी खिरमती रानाले एकमहिना अगाडी नै सुन्तला विक्री गरिन् । सुन्तला टिप्न अनुकुल समय भएपनि रानाको बोटमा लटरम्मै सुन्तला छन् । रानाजस्तै तल्लो राखुका अधिकांस कृषकको सुन्तलाको बोट बुकिङ भइसकेको छ । गतबर्षको तुलनामा धेरै र ठूलो र दानाले बोट नै थाम्न नसक्ने अवस्थमा टेको लगाएर राखिएको छ । माथिल्लो राखुको तुलनामा तल्लो राखुमा यसपटक सुन्तलाको उत्पादन राम्रो देखिएको छ ।

गाउँका कृष्णबहादुर पुन, हरिमायाँ आले, जम बहादुर घर्ती, बलविर पुन, लीला पुनका साथै हरिमायाँ घर्ती र भुमी पुनको सुन्तला बगान नै विक्री भएपछि ब्यापारीले अनुकुल मौषममा टिप्ने योजना बनाएका छन् । विगतमा भरिया, सवारीसाधनको प्रयोग गरी सुन्तला ढुवानी गर्ने राखुका ६० घरधुरीले केहीबर्ष यता आफ्नै घरआगनबाटै सुन्तला विक्री गर्ने गरेको स्थानीय डेकबहादुर घर्तीले बताए । ‘केही कृषकले काँचै सुन्तलाको समेत पेस्की बुझ्नुभएको थियो,‘ब्यापारीले विक्री गरेको सुन्तलाको रेखदेखको जिम्मा समेत कृषकलाई नै दिन्छन्’ उनले भने ।

करिव आधादशक अगाडी सडक सञ्जालले जोडिएपछि स्थानीय कृषक समेत रहेकी वडा सदस्य मनकुमारी पुन र स्थानीय राजु पुनले अधिकांस कृषकलाई उचित मुल्य गाउँमै दिएर सुन्तला खरिद गरेका छन् भने केही बाहिरी ब्यापारीले समेत नियमित सुन्तला लैजाने गरेको छन् ।

‘एकैपटक गाउँका सुन्तला वुकिङ भयो ।घरमै राम्रो मुल्य पाएपछि कृषक उत्साहित छन्’ वडा सदस्य पुनले भनिन् । उनले स्थानीयलाई प्रति केजी ५० रुपैयाँ तथा क्यारेटको १ हजारसम्म दिएको बताउँदै ब्यापारीभन्दा पनि कृषकको सहजताका लागि समेत जिल्ला बाहिरसम्म विक्री गर्ने गरेको बताईन् ।

बारीको छेउमै ट्रक ल्याएर आएका ब्यापारीले कृषकले भनेजस्तो मुल्य दिएपछि खाली तथा अन्य अन्नबाली हुने खेतबारीमा समेत नयाँ बोट लगाइएको छ । आगामी तिनबर्षभित्र गाउँबाट करिव ७० लाखसम्मको सुन्तला विक्री गर्ने गरी गाउँमै रहेको नर्सरीबाट खाली जमिनमा सुन्तला लगाइएको कृषकको भनाई छ । विगतमा घरको प्रयोजन र आफन्तलाई कोसेली लैजान घरबारी र आसपासका क्षेत्रमा लगाएका सुन्तलाहरूले धमाधम बजार पाउन थालेपछि सिंगो गाउँ सुन्तला खेतीमा आर्कषित भएको छ ।

गतबर्ष गाउँबाट करिव २५ लाखको सुन्तला विक्री भएको थियो । ‘ए’ र ‘बी’ ग्रेडको सुन्तला प्रतिकेजी ५० रुपैयाँसम्म र ‘सी’ ३० रुपैयाँ ब्यापारीले गाउँमै मुल्य दिएर ढुवानी गर्ने गरेकाले पनि बजारसम्म पु¥याउन अतिरिक्त खर्च नलाग्ने कृषकको भनाई छ । स्वादिलो, गुणस्तरीय र गुलीयोपन भएका सुन्तलाहरू उत्पादन हुने भएकाले राखुको सुन्तलालाई पोखरा र काठमाण्डौको बजारमा सजिलै पुर्याउने गरिन्छ ।

विज्ञापन