दोलखाको कालिञ्चोक मन्दिर दर्शन गरेर फर्कदै गरेका तीर्थयात्री चढेको बस सिन्धुपाल्चोक जिल्लाको खाडिचौर-जिरी सडक खण्डको ६ किलोमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने अन्य १८ जना घाइते भएका छन्।

मन्दिर दर्शन पश्चात कालिन्चोकबाट भक्तपुरतर्फ हिँडेको बा ४ ख ४४६८ नम्बरको बस आइतबार बिहान थुमपाखरमा दुर्घटना भएको थियो। भक्तपुरबाट बस रिजर्भ गरेर गएका उनीहरु कालिञ्चोक तीर्थयात्रा सकेर फर्कदै थिए। जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार मृत्यु हुनेमा ८ महिला, ३ जना पुरुष, २ बालिका र १ बालक रहेका छन् । मृतकमध्ये भीमेश्वर नगरपालिकाकी जुनु तामाङको पहिचान भएको प्रहरीले जनाएको छ

दुर्घटनाका घाइतेमध्ये १२ जनाको सिन्धु सदाबहार अस्पताल खाडिचौर र गम्भीर घाइते भएका ६ जनालाई हेम्स अस्पताल काठमाडौंमा रिफर गरिएको डीएसपी काफ्लेले बताए । मृतकमध्ये भीमेश्वर नगरपालिकाकी जुनु तामाङको पहिचान भएको प्रहरीले जनाएको छ ।घुम्तिमा दुर्घटना भएको बस माथिल्लो सडकबाट खसेर तल्लो सडकमा पुगेको थियो। सिन्धुपाल्चोकका निमित्त प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माका अनुसार दुर्घटनाको कारण थाहा हुन सकेको छैन। तर बिहान हुस्सुका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको उनले बताए।