म्याग्दीको सदरमुकाम बेनीमा रहेको बेनी बचत तथा ऋण सहकारी संस्थाले १९ औं स्थापना दिवस बेनी नगरपालिका–६, बगुवाखोलामा बौद्धिक अपाङ्ता भएकाहरुलाई सहयोग गरी मनाएको छ । बौद्धिक तथा शारीरिक अपाङ्गता भएका विद्यार्थीलाई आवश्यक पर्ने साम्रागी खरिदका लागि आकस्मिक कोष स्थापनार्थ २५ हजार सहयोग गरेको सहकारीका अध्यक्ष रमेश गिरीले बताए ।

उनले सहकारीले स्थापना दिवसको अवसरमा विभिन्न रचनात्मक कार्यलाई प्राथमिकता दिएको बताए । सहयोग हस्तान्तरण कार्यक्रममा सहकारीका पूर्व अध्यक्ष शिवकुमार श्रेष्ठ, विद्यालयका सहायक प्रअ धनबहादुर क्षेत्रीले मन्तब्य राखेको सहकारीका प्रबन्धक सञ्जन शाक्यले बताए । सहकारीले स्थापना तथा अन्य समयमा समेत समुदायमा आवश्यक परेको क्षेत्रमा सहयोग गदैं आइरहेको छ ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर हमालले सरकारी अनुदानबाट मात्रै विद्यार्थीलाई रेखदेख तथा शैक्षिक गतिविधिमा अपुग भइरहेको अवस्थामा जन्मदिन, बार्षिकोत्सव, दिवंगत आफन्तको सम्झना लगाएत विभिन्न कार्यक्रमहरूबाट प्राप्त सहयोगले सहज भएको बताए । कार्यक्रममा सहकारीका सञ्चालक समिति, सल्लाहकार, सेयरसदस्यको उपस्थिती रहेको थियो ।