राष्ट्रिय अनुसन्धान विभागलाई फोन ट्यापिङको अधिकार दिन लागिएकोमा प्रमुख प्रतिपक्षी दल कांग्रेस सशंकित बनेको छ । यस्तो प्रावधानले नागरिकको गोपनीयता भंग हुने र संविधानविपरीत समेत रहेको भन्दै उसले विरोध गरेको छ । सरकारले राष्ट्रिय सभामा दर्ता गरेको गुप्तचरसम्बन्धी ‘नेपाल विशेष सेवाको गठन र सञ्चालनसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक’मा गुप्तचरलाई ‘इन्टरसेप्सन’को अधिकार दिने उल्लेख छ । त्यो संविधान प्रतिकूल भएको भन्दै कांग्रेसले विधेयक नै फिर्ता लिन माग गरेको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले सोमबार विज्ञप्ति जारी गरी विधेयक फिर्ता लिन माग गरेका हुन् । विधेयकले नेपालको संविधानको मौलिक हकले प्रदान गरेको नागरिकको स्वतन्त्रताको हकलाई कुण्ठित गर्ने, नागरिकका हरेक सूचना चुहावट हुने, गोपनीयता भंग हुने र स्वतन्त्रतालाई समाप्त गर्ने प्रावधान राखिएको उनको दाबी छ ।

विज्ञापन