कतिपय अभिभावकले आफ्नो छोराछोरीको जन्मदिनको नाममा धेरै खर्च गर्छन् । तर, मंगला गाउँपालिका वडा नं १ कुहुँकी दिविजा बरुवालले छोरी समृद्धिको पहिलो जन्मउत्सवको अवसरमा दिपशिखा माविका कक्षा १–३ का ४० जना विद्यार्थीलाई झोला वितरण गरेकी छन् । ‘छोरीको पहिलो जन्मउत्सव विद्यार्थीसँग मनाउने अवसर मिल्यो,‘जन्मदिनमा धेरै खर्च गर्ने योजना बनाएनौ‘ बरुवालले भनिन् । विद्यार्थीलाई २० हजार बराबरको झोला वितरण गरिएको थियो ।

विद्यालयमा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा प्रधानाध्यापक डा. नन्दबहादुर खत्रीले जन्मदिनको अवसरमा प्राप्त सहयोगको सन्देश धेरै ठूलो भएको बताए । उनले गरिबीकै कारण विद्यार्थीलाई पठनपाठनमा समस्या भइरहेको अवस्थामा प्राप्त सहयोगले सहज भएको बताए ।

जन्मदिन मनाउने आ–आफ्नै शैली भएपनि सामाजिक प्रतिष्ठाको छोराछोरीको जन्मदिनमा अनावश्यक खर्च गर्नेलाई चुनौती जस्तै भएको कार्यक्रममा सहभागीले बताएका थिए । सोही अवसरमा गंगा बरुवालका छोरा अनुभव केसीले १ देखि ३ कक्षासम्मका विद्यार्थीलाई स्टेशनरी वितरण गरेका थिए । कार्यक्रममा बालिका समृद्धीकी हजुरआमा गौमति बरुवाल लगाएतको उपस्थिती रहेको थियो । पछिल्लो समय म्याग्दीमा जन्मदिनको अवसरमा विभिन्न सामाजिक कार्यमा सहयोग गर्ने कार्यले तिब्रता पाएको छ ।

Leave a Reply