विशाल नेपाल एकिकरणका लागि तत्कालिन राजा पृथ्वीनारायण शाहले ससाना राज्यहरुलाई आक्रमकण गर्ने क्रममा गोर्खाली सेनालाई पराजित गरेर शक्तिशाली राज्य मानिएको ढोलठानका तत्कालिन राज डिम्बबम मल्लको डढेकोट दरवार संरक्षणको अभावमा खण्डहरमा परिणत भएको छ । तत्कालीन पर्वत राज्यका एकिकरणकर्ता राजा डिम्बबम मल्लको ग्रिष्मकालीन राजधानी ढोलठान नजिकै रहेको ऐतिहाँसिक र पुरातात्विक महत्वको डढेकोट दरवार संरक्षणको अभावमा खण्डहरमा परिणत भएको हो ।

म्याग्दीको बेनी नगरपालिका वडा नं ५ मा पर्ने डढेकोट दरबार क्षेत्र सामरिक,पुरातात्विक,ऐतिहाँसिक र पर्यटकीय दृष्टिकोणले समेत अत्यन्त महत्वपूर्ण हुँदाहुँदै पनि सरोकारवालाहरुको वेवास्ताका कारण खण्डहरुमा परिणत हुँदा यस क्षेत्रको इतिहाँस नै नामेट हुने अवस्थामा पुगेको स्थानीयले बताएका छन् ।

पृथ्वीनारायण शाहको देहवसान पछि भाइ बहादुर शाहले विसं १८४०मा ढोलठानका तत्कालिन राजा डिम्बबम मल्लसंग युद्धगर्न गोर्खाबाट सेना पठाएका थिए । युद्धका लागि आफ्नो राज्यतर्फ गोर्खाली सेना आएको खबर पाएपछि डिम्बबम मल्लले पर्वते फौज लिई बहादुर शाहका सेनालाई बाटोमा नै रोकेर युद्ध गरेका थिए ।

पर्वतको ज्ञादी र सिरुवारीमा भीषण युद्ध हुँदा डिम्बबम मल्लले गोर्खाली सेनाका ५ सय जना सैनिकलाई मार्नुका साथै युद्धमा बँचेका अरु सैनिकलाई पक्रेर बेनीमा ल्याई थुनामा राखेका इतिहाँसमा उल्लेख भएको इतिहाँसकार कर्णबहादुर बानियाँले जानकारी दिए ।नेपालको संक्षिप्त इतिहाँस नामक पुस्तकमा उल्लेख भए अनुसार ढोलठान तत्कालिन पर्वत राज्य अन्तर्गतको सबैभन्दा शक्तिशालि राज्य थियो ।

यहाँका राजा डिम्ववम मल्लले ढोलठानलाई ग्रिष्मकालीन र बेनीलाई सीतकालीन राजधानी बनाएका थिए । गर्मीमा ढोलठान र जाडोमा बेनीको दरवारमा वसेर राज्य संचालन गर्ने गरेका प्रशस्तै प्रमाणहरु भेटिएका इतिहाँसकार वानियाँले बताए । बानियाँका अनुसार यस क्षेत्रमा प्रचलित ‘कहिले राजा बेनी बागलुङ,कहिले राजा ढोर‘ लोकगीतले पनि राज डिम्बबम कहिले बेनी र कहिले ढोलठानलाई राजधानी बनाउथे भन्ने कुराको पुष्टि गर्दछ ।

विसं १८४२ मा पुनः दोस्रो पटक बहादुर शाहले गोरखा र पाल्पाको संयुक्त फौज पठाइ पर्वते सेनालाई पराजित गरेपछि पर्वत राज्यलाई विशाल नेपालमा गाभ्न सफल भए । यस्तो दर्विलो र गर्विलो इतिहाँस रहेको ऐतिहाँसिक विरासतको स्थल डढेकोट दरवार अहिले भने अलपत्र अवस्थामा रहेको स्थानीय वुद्धिजीवि नीलकण्ठ शर्माले जानकारी दिए ।

राजा डिम्बबम मल्लले पुरातात्विक शैलीमा निर्माण गरेको दरवारमा आगलागी भएपछि उनले ढोलठानमा पुनः अर्को दरवार बनाएर तल सरेका र आगोलागेर डढेकोले पुरानो दरवार रहेको ठाउँलाई डढेकोट दरवार भनिएको स्थानीय शिक्षक एवम् बुद्धिजीवि शिव बानियाँले बताए ।

डढेकोट दरवार रहेको ठाउँका ढुङ्गा र पर्खाल अहिले अलपत्र अवस्थामा रहेका छन् । दरवार नजिकै रहेको कोत भने स्थानीयले सुरक्षित राखेका छन् । त्यो कोतमा विभिन्न आकृतिका ढुङ्गाका मुर्ति,त्रिशुल लगाएतका पुरातात्विक सामाग्रीहरु अहिलेसम्म पनि सुरक्षित छन् ।

आँखै अगाडी देखिन्छन् १८ हिमाल र ६७ गाउँ
डढेकोट दरवार केवल ऐतिहाँसिक महत्वले मात्रै होइन पर्यटकीय दृष्टिकोणले समेत अत्यन्त सम्भावनायुक्त ठाउँ हो । यहाँबाट पूर्वोत्तरतर्फ नजर घुमाउँदा धौलागिरि,माछापुच्छे,अन्नपूर्ण,निलगिरी,गुर्जा,मानापाथी लगाएतका १८ ओटा हिमालको अत्यन्तै मनकोहक दृश्य देखिन्छ ।

त्यसैगरी यहाँबाट म्याग्दी जिल्लाका सम्पूर्ण गाउँहरुका साथै पर्वत,बागलुङ,काँस्की,स्याङ्जा,अर्घाखाँची र गुल्मी जिल्लाका ३० भन्दा बढि भूभागहरु देख्न सकिने गैरसरकारी संस्था मिलन म्याग्दीका उपाध्यक्ष शिव बानियाँले बताए ।
स्थानीय बानियाँका अनुसार यहाँबाट म्याग्दी जिल्लाका साविकका ३७ गाविस,पर्वत,बागलुङ,काँस्की,स्याङ्जा,अर्घाखाँची र गुल्मी जिल्लाका ३० भन्दा बढि भूभागहरु र १८ ओटा हिमालहरुको सर्वाधिक नजिकबाट नाङ्गो आँखाले अवलोकन गर्न सकिन्छ ।

प्रचूर पर्यटकीय सम्भावनाको अनुपम स्थान
म्याग्दीको बेनी नगरपालिका वडा नं ५ गाजनेको धुरीमा अवस्थित डढेकोट दरवार क्षेत्र प्रचूर पर्यटकीय सम्भावनाले युक्त अनुपम स्थान भएको बेलाबेलामा यहाँ पुग्ने गरेका पर्यटकहरुले बताएका छन् ।

‘रामायण’का अनुसार विद्वान् महर्षि पुलस्त्यका नाति तथा विश्रवा ऋषिका छोरा रावणको जन्मभूमि र ऐतिहासिक पर्वत राज्यको राजधानीसमेत रहेको गाजनेको धुरीमा रहेको केभहिल प्राकृतिक सुन्दरता र हिमशृङ्खलाको दृश्यावलोकनका लागि पनि प्रसिद्ध छ । यहाँबाट धौलागिरि हिमाल पुनहिलबाट भन्दा पनि नजिकबाट अवलोकन गर्न सकिने दोस्रो पटक

डढेकोट दरवार नजिकको केभहिल भ्रमणमा आएका पोखराका निकेश बानियाँले बताए ।त्यसै गरी ढडेकोट दरवारदेखि तल्लोपट्टी चौधौंँ शताब्दीताका तत्कालीन पर्वत राज्यका एकीकरणकर्ता एवं चर्चित राजा डिम्बबम मल्लद्वारा स्थापित जगन्नाथ मन्दिर धार्मिक एवम् पर्यटकीय दृष्टिकोणले समेत नेपालभर प्रसिद्ध छ । यो मन्दिर केभहिलको नजिकैमा रहेको छ ।

मनोरम हिमशृङ्खलाको दृश्य नजिकैबाट नियाल्न पाइनु यस क्षेत्रको अर्को आकर्षण हो । बेनीबजारदेखि नजिकैको क्षेत्र भनेको पुलस्त्य पुलहाश्रम, ढोल्ठान दरवार, जगन्नाथ मन्दिर रहेको गाजनेको धुरी, टोड्केको धुरी लगायत क्षेत्र नै भएकाले ती क्षेत्रको व्यापक रुपमा प्रचारप्रसार गर्न सक्ने र यी ठाउँहरुको धार्मिक, ऐतिहासिक र पर्यटकीय महत्व बुझाउन सक्ने हो भने नेपाल र भारतका मात्रै होइन तेस्रो मुलुकका हजारौं पर्यटक यहाँ आउन सक्ने प्रशस्तै आधार रहेका छन् ।

गण्डकी प्रदेशकै एकमात्र ‘जगन्नाथ मन्दिर‘ रहेको ठाउँ

१४ औं शताब्दीमा यहाँका तत्कालीन राजा डिम्बबम मल्ल (दिलीप) ले निर्माण गर्न लगाएको शिखर शैलीको भगवान जगन्नाथको मन्दिर यहाँको प्रमुख आकर्षणमध्येको एक हो ।गण्डकी प्रदेशमा नै भगवान जगन्नाथको यहाँ बाहेक अन्यत्र कही पनि मन्दिर नभएको मन्दिर पुनर्निमाण समितिका अध्यक्ष यामवहादुर बानियाँले बताए ।

राता अक्षता नचढ्ने सो मन्दिरमा वेसार मिसाएर पहेंला अक्षताले पुजा गर्ने गरिन्छ ।भगवान जगन्नाथको मन्दिरका कारण गाजने गाउँमा कुखुरापालन र मदिरा उत्पादन हुँदैन । विगतमा कुखुरा पालेका र रक्सी बनाउने मानिसहरुको उठिबास लागेको हुँदा कुखुरा र मदिरा उत्पादन नहुने स्थानीयको अनुभव छ । जगन्नाथलाई कुखुरा पालेको र मदिरा उत्पादन गरेको मन नपर्ने हुँदा गाउँभरी नै त्यसको व्यापार नहुने स्थानीयले बताएका छन् यहाँ दर्शन तथा पूजा गरेमा मनोकांक्षा पुरा हुने जनविश्वास रहेको छ ।

समुद्री सतहदेखि करिब दुई हजार ४०० मिटर उचाइमा रहेको सदरमुकाम बेनी बजारदेखि करिब डेढ÷दुई घण्टाको पैदल यात्रापछि पुग्न सकिने डढेकोट प्राकृतिक सुन्दरता र ऐतिहासिक महत्वले युक्त त छ नै धार्मिक दृष्टिकोणले समेत प्रमुख आकर्षणको केन्द्र बन्न सक्ने जगन्नाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बानियाँको भनाइरहेको छ ।

केभहिलबाट करिब आधा घण्टाको दूरीमा रहेको जगन्नाथ मन्दिर भारतको उडिसा राज्यमा रहेको जगन्नाथ मन्दिरकै ढाँचामा निर्माण गरिएको छ । । तीन वर्ष अघि पुनःनिर्माण सम्पन्न गरिएको मन्दिरका लागि २०६८ सालमा महायज्ञ लगाइएको थियो। महायज्ञबाट संकलित रु एक करोड ८ लाखको लागतमा मन्दिरको पुनःनिर्माण गरिएको अध्यक्ष बानियाँले बताए ।

शिखर शैलीमा निर्माण गरिएको यो मन्दिरदेखि माथितिरको गाजने धुरीमा रहेको डढेकोट दरबारमा तत्कालीन समयमा भीषण वज्रपातबाट दरबार नष्ट भएपछि ढोलठानामा नयाँ दरबार निर्माण गरिएको इतिहासमा उल्लेख छ ।

विशाल, बलशाली र समृद्ध चौबिसी राज्यको सर्वाधिक लामो समयसम्म राजधानी रहेको गाजने र ढोलठाना हो भने सहराजधानी हुँदै धेरै पछि मात्र बेनी बजार राजधानी बन्न पुगेको म्याग्दीका इतिहासकार चन्द्रप्रकाश बानियाँद्वारा लिखित ‘ऐतिहासिक पर्वत राज्य’ नामक ग्रन्थमा उल्लेख छ ।

विसं १८४२ मा गोरखा र पाल्पाको संयुक्त फौजले पर्वते सेनालाई पराजित गर्नुअघि पर्वत राज्यको राजधानी ढोलठाना र सहराजधानी बेनीलाई बनाएको “कहिले राजा बेनी बाग्लुङ्ग, कहिले राजा ढोर” भनेर गाइने यस क्षेत्रको लोकगीतको आधारमा पनि भन्न सकिन्छ ।

प्रशासकहरुको विश्वासिलो ठाउँ

प्रशासनिक दृष्टिकोणले पनि यो स्थान अत्यन्तै महत्वपूर्ण मानिन्छ । अघिल्लो पुस्ताका म्याग्देली कार्यालय प्रमुखले समग्र जिल्लाको दृश्यावलोकनसहित वस्तुस्थिति मूल्यांकन यहाँबाट नै गर्ने गरेको स्थानीयवासी वयोवृद्धले बताएका छन् ।
विशिष्ट व्यक्तित्वले आफ्नो पदबहाली र रमानापूर्व विश्वमहायज्ञ स्थलको चरु निधारमा धस्ने र जगन्नाथ मन्दिरको दर्शन गरी मनोकांक्षा पूरा हुने विश्वास प्राचीन समयदेखि आजपर्यन्त मानिँदै आएको पाइन्छ ।

बेनी नगरपालिकाभित्र रहेका टोड्के, जगन्नाथ, पौलस्त्य पुलहाश्रम, जालपा, महारानी, गलेश्वर, ज्यामरुककोट, भकिम्लीको स्वर्गाश्रम जस्ता ऐतिहासिक र धार्मिक महत्वका क्षेत्रको संरक्षण र उपयोगको चाँजोपाँजो मिलाउने अभियानमा बेनी नगरपालिका लागेको नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले बताए ।

“स्थानीय जनतालाई संरक्षणबाट प्राप्त हुने लाभ र संरक्षण नहुँदा हुने नोक्सानीका लागि प्रत्यक्ष रुपमा जिम्मेवार बनाएर सचेत गरियो र आवश्यक आधार विकास गर्न सरकारस्तरबाट आर्थिक लगानीको वातावरण बनाइयो भने अवश्य पनि यी सम्पदाहरुले भविष्यमा बेनीवासीलाई मात्र होइन, देशकै पर्यटकीय विकासका संभावनामा महत्वपूर्ण योगदान गर्नेछन्” श्रेष्ठले भने ।

यति धेरै महत्व र विरासत रहेको ढडेकोट दरवार अहिले खण्डहरमा परिणत भएको छ । यहाँ रहेका भग्नावशेषहरुको संरक्षण गरी नयाँ पद्यतीद्धारा पुननिर्माणको पहल हुने हो भने यो स्थान तत्कालिन बाइसे चौबिसे राज्यको मात्रै नभएर गोर्खा राज्यको अध्ययन अनुसन्धानका लागि पनि उपयुक्त स्थान बन्न सक्ने स्थानीय बुद्धिजीविहरुले बताएका छन् ।