मंगला गाउँपालिका वडा नं ३ बरंजा बान्द्रकी ८ बर्षिया रोशनी घर्ती मगरलाई विश्व मगर संघ बेल्जियमले आर्थिक सहयोग गरेको छ । ब्रेन ट्यूमरबाट ग्रसित मगरलाई बेल्जियमबाट पठाइएको ६० हजार ६७१ रुपैयाँ नेपाल मगर संघको केन्द्रिय सल्लाहाकार तथा समाजशास्त्री झकेन्द्र घर्ती पीडित बालिकाको आमा कुमारी मगरलाई हस्तान्तरण गरेको विश्व मगर संघ बेल्जियका अध्यक्ष लोक रानाले बताए ।

‘सानो सहयोगले नानुको उपचारमा सहज हुनेछ,‘सबैलाई नानुको नयाँ जीवनका लागि सहयोगको अपिल गर्दछु’ रानाले बेनीअनलाइनलाई भने । छिकेमी बागलुङ जिल्ला गलकोट नगरपालिका–१० पाण्ड्बखानी मामा घर भएकाले बागलुङबासीबाट समेत सहयोगको संकलन भइरहेको बताइएको छ । बैदेशिक रोजगारीको सिलसिलामा बहराइन पुगेर घर फर्किएका पीडित बालिकाको बुबा बिपिनको ४ बर्षअगाडी हेपेटाइटिस–बी रोगको संक्रमण देखिएपछि उपचारको क्रममा जन्डिस र क्यान्सरले ज्यान लिएको थियो ।

ब्रेन ट्युमरसँगै क्यान्सरको संकेत देखिएपछि भक्तपुर क्यान्सर अस्पतालमा रहेकी कुमारीले छोरीको उपचारमा आर्थिक जुटाउनै हम्मेहम्मे भएको बताईन् । काठमाण्डौको टिचिङ अस्पतालमा अप्रेसन गरेपछि थप उपचारका लागि भक्तपुर क्यान्सर अस्पतालमा रहेकी छोरीलाई सहयोग जुट्ने क्रम जारी भएपनि कति खर्च लाग्छ भन्ने एकिन नभएको उनको भनाई छ ।

विज्ञापन