युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा क्रियाशिल संस्था नेपाल जेसीजले नेपाली राष्ट्रिय महिला भलिबल टिमको कप्तान अरुणा शाहीलाई उत्कृष्ट यूवा पुरस्कारबाट सम्मानित गर्ने भएको छ । हरेक बर्ष राष्ट्रिय महाधिवेशनको अवसरमा देशभरबाट उत्कृष्ट १० यूवामा छनौट गरी सम्मान गर्ने कार्यक्रम अन्र्तरगत शाहीलाई छनौट गरिएको म्याग्दी जेसीजका महासचिव सन्दिप खत्रीले बताए ।

उनका अनुसार नेपाल जेसीज अन्तरगत रहेका शाखामार्फत सिफारिस गरिएका यूवाहरूमध्ये म्याग्दी जेसीजको सिफारिसमा उत्कृष्ट १० मा शाहीलाई छनौट गरेको पत्र प्राप्त भएको बताए । म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा जन्मिएकी शाहीेले खेलकुदमार्फत राष्ट्रको चन्द्रसुर्य अंकीत भण्डालाई उचो बनाउन सफल भएकाले भब्य समारोहका बीच सम्मान गरिने नेपाल जेसीजले जनाएको छ ।

शाहीलाई खेलकुद, विकाश, शरिरीक विकाश तथा वातावरण सन्तुलनमा योगदान पुर्याएबापत सम्मान गर्ने प्राप्त पत्रमा उल्लेख रहेको म्याग्दी जेसीजका अध्यक्ष खम थापामगरले बताए । उनका अनुसार म्याग्दीमा जन्मिएर राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा ख्याती प्राप्त ब्यक्तिलाई सम्मानले उत्साहित भएको बताए।

सम्मानित हुने शाहीको कप्तानीमा नेपालले पहिलो बंगलादेशको ढाकामा सम्पन्न एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा स्वर्ण पदक जितेको थियो भने १३ औ दक्षिण एशियाली खेलमा पहिलोपटक रजत पदक जित्दै इतिहास रचेको थियो । कुविर र कर्णकुमारी शाहीको कोखबाट जन्मिएकी अरुणाले २०६४ साल देखी विद्यालय उमेरबाटै भलिबल खेल सुरु गरेकी थिईन् ।

शाहीले सन् २०१४ मा नेपालमा आयोजना भएको माल्दिभ्ससँगको मैत्रीपुर्ण खेलबाट राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेकी थिइन्। राष्ट्रिय टोलीबाट माल्दिभ्ससँगको मैत्रीपुर्ण, भारतसँगको मैत्रीपुर्ण, साउथ एसियन आमन्त्रण भलिबल च्याम्पियनसिप, एभीसी सेन्ट्रल जोन र १२ औं दक्षिण एसियाली खेलकुद (साग) खेलेकी थिईन् । उत्कृष्ट यूवामा छनौट भएकी शाहीलाई आगामी पुस ९ देखि ११ गतेसम्म रत्ननगर चितवनमा हुने कार्यक्रममा सम्मान गरिने छ ।