अमेरिकामा गएर ‘सेटल’ हुने रहर सबैलाई हुन्छ। सक्ने र भिसा लाग्नेहरू प्रक्रिया पु-याएरै त्यहाँ पुग्छन्। भिसा नलागेकाहरु दलालको बहकाउमा लागेर अवैध बाटोमार्फत पनि अमेरिका पुग्ने गरेका छन्। त्यस्तैमध्येका एक हुन् रुकुमका प्रमोदकुमार पुन। उनी एक वर्षअघि अवैध बाटो हुँदै अमेरिका हिँडे।

दलालले अपनाउँदै आएको रुट प्रयोग गरेर अमेरिका छिर्न ६ महिनासम्मको समय लाग्छ। दलालले हवाईजहाज, पानीजहाज, रेल र बसमार्फत मेक्सिको सीमा पार गराएर अमेरिका छिराउँछन्। पुन गत वर्ष कात्तिकमा काठमाडौंबाट अमेरिकाका लागि हिँडेका थिए। उनी गत असारमा मेक्सिको हुँदै अमेरिका पुगे। त्यहाँ पुग्नेबित्तिकै उनलाई ‘बोर्डर अफ सेक्युरिटी’ ले पक्राउ ग-यो।

पुनसँगै अन्य चारजना युवा पनि थिए। पाँचैजनालाई ‘बोर्डर अफ सेक्युरिटी’ ले समात्यो र सीमानजिकै शरणार्थी शिविरमा राख्यो। नवलपुरका अर्जुन पौडेल, दाङका अभिषेक डाँगी, रुकुमका नरेन्द्र रोइले, बाग्लुङका देवेन्द्रबहादुर क्षेत्री पनि पुनसँगै समातिएका थिए। उनीहरु एउटै दलालमार्फत ६ महिना यात्रा गरेर अमेरिका पुगेका थिए।

यसका लागि उनीहरुले दलाललाई प्रतिव्यक्ति २५ लाखका दरले पैसा बुझाएका थिए। दलालले उनीहरुलाई मेक्सिकोको सीमा पार गराएर अमेरिकाको सीमामा छाडेको थियो। त्यहाँ समातिएपछि उनीहरु एक वर्ष शिविरमा बसे। त्यसपछि अमेरिकाको अध्यागमन विभागले नेपालको अध्यागमन विभागमार्फत उनीहरुलाई बुधबार नेपाल फर्कायो। अहिले उनीहरुलाई विभागमा राखिएको मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलले जनाएको छ। यो खबर आजको नागरिक दैनिकमा छ ।

विज्ञापन