मनकुमारी परियारले बेनी नगरपालिकाको ट्याक्टरमा घरघरमा फोहोर माग्न जान्छिन् । झन्डै १४ बर्षदेखि आएकी परियारलाई बेनीबजारबासीले समेत राम्रोसँग चिन्छन् । बेनीबजारको हरेक घर–चोक, गल्लीभित्र पुगेर फोहोर संकलन गर्ने मनकुमारीले कुहिने र नकुहिने फोहोरलाई छुट्टाछुट्टै राख्न अनुरोध समेत गर्छिन् ।

पहिले–पहिलो फोहोर माग्दा गिज्याएर बोल्नेहरूले अहिले परियारलाई मायाँ गर्छन् । बेनपा–३ भकिम्लीकी परियारले बिहानदेखि बेलुकीसम्म छोराछोरीलाईभन्दा धेरै समय फोहोर संकलन तथा ब्यवस्थापनमा खर्च गर्छिन् । तत्कालिन अर्थुङ्गे गाविसबाट करारमा नियुक्ती भएर नियमित फोहोर ब्यवस्थापनमा सक्रिय रहेकी परियारलाई विगत पाँचबर्षदेखि भकिम्लीकै जुना परियारले साथ दिएकी छन्।

आफ्नो एक्लै कमाईले दुई छोराछोरीको शिक्षादिक्षामा समेत खर्च गर्ने गरेकी मनकुमारी बिहिबार बेनी नगरपालिमा रुदै आफ्नो तीनमहिनाको तलब माग्दै थिईन्। छोराछोरीको खर्च, कोठाभाडा समेत तीनमहिनासम्म तिर्न सकेकी छैनन् । नगरपालिका भित्रका करारमा कार्यरत कर्मचारी सरह सुविधाको आश गरेकी परियारले फोहोर व्यवस्थापन गर्न मिसन फर वेष्ट मेनेजमेन्ट प्रालिलाई जिम्मा दिएपछि नियमित तलब समेत पाएकी छैनन् ।

‘मलाई धेरै अन्याय भएको छ,‘सेवासुविधामा पनि धेरै विभेद भएको छ’ परियारले आँखाभरी आँसु पारेर दुख पोखिन् । फोहोर ब्यवस्थापनमा निजी क्षेत्रको ब्यवस्थापनले सहज भएपनि कर्मचारीलाई नियमित तलब सहितको सुविधा समेत दिन नसक्ने अवस्थामा मिसन फर वेष्ट मेनेजमेन्ट प्रालि पुगेपछि बजारभित्रको फोहोर समेत संकलन हुन छोडेको छ ।

यता प्रालिका सञ्चालक यामबहादुर दमाईले सम्झौता अनुसारको तलब दिने बताए । उनले नियमित शुल्क समेत उठ्न नसकेको अवस्थामा सम्झौता अनुसारको ६०÷४० को सम्झौता अनुसार कर्मचारीलाई तलब भुक्तानी गर्ने बताए । ‘मेरो मात्रै कमजोरी होईन्,‘उहाँहरुलाई तलब दिन्छु, अर्को ब्यवस्थापन गर्छु’ दमाईले भने । उनले कुहिने, नकुहिने र अस्पतालजन्य गरी वर्गीकरण गर्नुपर्ने अवस्थामा अस्पतालबाट सम्झौता अनुसारको शुल्क नियमित नआउने गरेको बताए । यता बेनीका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद पौडेलले प्रालिलाई नगरपालिकाले करिव ३४ हजारमात्रै भुक्तानी गर्न बाँकी रहेको बताए ।

सम्झौताअनुसार फोहोर व्यवस्थापन गर्न नगरपालिकाले प्रयोग गर्दै आएको कम्प्रेसर र ट्याक्टर सहितको उपकरण समेत उपलब्ध गराएको बताउँदै सम्झौता अनुसार प्रालिलाई नै रकम भुक्तानी गरिएकाले मजदुरलाई समेत सोही प्रालिबाटै तलबसुविधा उपलब्ध गराउने बताए । बेनीबजारमा दैनिक औद्योगिक ३ मेट्रिक टन, स्वास्थ्य निकायहरूबाट २ टन र घर तथा पसलहरूबाट ५ टन हाराहारी फोहोर निस्कन्छ । दैनिक निस्कने फोहोरमध्ये रबर, छाला, धातुजन्य कपडा, सिसाजन्य, कागज, प्लास्टिकजन्य, जैविक फोहरमैला संकलन हुन्छ ।