बेनी नगरपालिकालाई फोहोर संकलनमा सक्रिय रहेका मजदुरलाई सुविधा सहित ब्यवस्थापन गर्न नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थिहरुको संगठन अनेरास्ववियू म्याग्दीले माग गरेको छ । बेनी बजारमा फोहोर व्यवस्थापनको काम गर्ने कर्मचारीले तलव नपाएको गुनासो मिडियामार्फत सार्वजनिक भएपछि शुक्रबार जिल्ला अध्यक्ष सुबाश विश्वकर्माको नेतृत्वमा गएको टोलिले मजदुरको आवाजको सुनुवाई गर्न माग गरेको हो ।

तत्काल मजदुरको पक्षमा निर्णय गर्न नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्मालाई अनुरोध गरेको टोलीका सदस्य सन्दिप शर्माले बताए। उनका अनुसार अध्यक्ष विश्वकर्माले नगरपालिकाले तत्काल मजदुरको पक्षमा निर्णय नगरे अनेरास्ववियूले नगरपालिका भित्र अन्दोलनका कार्यक्रमहरु गरिने चेतावनी समेत दिएको बताए । वेनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिप्रसाद शर्माले नगरपालिकाले फोहोर व्यवस्थापनको जिम्मा लिएको ठेकेदार कम्पनि सँग छलफल भई रहेको भन्दै मजदुरको माग अनुसार नै निर्णय गरिने बताए ।

फोहोर व्यवस्थापनको जिम्मा लिएको मिसन फोर वेष्ट म्यानेजमेन्ट प्रालि ले फोहोर व्यवस्थापनमा कार्यरत कर्मचारी मनकुमारी परियार र जुना दमाईले तीन महिना र चालक चित्रबहादुर बुढाथोकिले एक महिनाको तलव नदिएको भन्दै कर्मचारीहरुले मंसिर अन्तिम साता देखि फोहोर व्यवस्थापनको काम रोकेका छन् ।

छलफल कार्यक्रममा नगरपालिकाका प्रवक्ता रामकृष्ण बराइली, कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा अनेरास्ववियू म्याग्दीका विद्यार्थि नेता गणेश सुवेदी, जनक सुनाम लगाएतको उपस्थिती रहेको थियो ।मजदुरको गुनासो सहित बिहिबार जिफन्ट म्याग्दीका सचिव अर्जुन राना सहितको टोली समेत नगरपालिकामा पुगेको थियो । नगरकार्यपालिकाको बैठकले बेनीबजारको फोहोर ब्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिने निर्णय गरेको थियो ।