पछिल्लो समय नेपाली राष्ट्रिय टोलीका पूर्वफरवार्ड सन्तोष साहुखल नेपालमा छैनन् । सन्तोष राष्ट्रिय टोलीमा नदेखिएको ४ वर्ष बढी भइसकेको छ । उनी अहिले जापानमा छन् । लिग नहुनु र उनी जापान जानु र संयोगजस्तै बन्न पुगेको थियो । तर, उनी जापानमा रहे पनि फुटबलबाट टाढा छैनन् ।  आफैं खेल्छन् अनि सिकाउँछन् पनि ।

 

यही नेपालले पाएको छरिता फरवार्डमध्येका एक सन्तोष साहुखल घरेलु फुटबलको मेरुदण्ड मानिने ‘ए’ डिभिजन लिगमा १ सय गोल नजिक उभिएका छन् । शुक्रबार उपाधिको दावेदारका रूपमा हेरिएको र राष्ट्रिय खेलाडीको बाहुल्यता रहेको मछिन्द्रविरुद्ध एक गोल गरेपछि उनी लिगमा शतक गोलबाट एक कदम मात्रै पछि छन् ।

लिगमा लगातार गोल गरिरहेका छन् । लिगको सुरुवाती दुई खेलमा नै गोल गर्न सफल ३१ वर्षे सन्तोषले लिगमा ९९ गोल गरेका छन् । लिगको सुरुवाती दुई खेलमा उनको यो तेस्रो गोल हो । उनले पहिलो खेलमा संकटाविरुद्ध दुई गोल गरेका थिए । लिगको तेस्रो राउन्डमा न्युरोड टिम (एनआरटी) विरुद्धको खेलमा गोल गर्न सफल भए सन्तोषले लिगमा १ सय गोलको आँकडा पार गर्नेछन् ।

लामो समयपछि अघिल्लो वर्षदेखि लिग सुचारु भएपछि सन्तोष जापानमा आफ्नो समय मिलाएर लिगमा १ सय गोल गर्ने लक्ष्यका साथ च्यासल युथ क्लबमा आबद्ध भएका थिए । तर, तालिका नमिल्दा उनले ५ खेलमा ३ गोल गर्दै लिगमा ९६ गोल गर्दै जापान फर्किएका थिए । लिगमा १ सय गोल गर्ने लक्ष्यमा यसपटक पनि लिगमा उनी च्यासलको कप्तान भएर लिग खेलिरहेका छन् । उमेर बढ्दै जाँदा उनको खेलमा भने थप निखार आएको छ । शारीरिक रूपमा पनि उनी पहिलाभन्दा फिट देखिन्छन् । आजको राजधानी दैनिकमा खबर छ ।

मध्यपुर युथ एसोएिसनबाट खेल जीवन सुरु गरेका सन्तोषले २०६० बाट व्यावसायिक खेल जीवन सुरु गरेका सन्तोषले घरेलु फुटबलको सर्वाधिक सफल र चर्चित क्लब थ्री स्टार क्लबको अग्रपंक्ति सम्हाल्ने मौका पाएको थियो । डेब्यु लिगमा उच्च प्रदर्शन गरेका सन्तोष त्यसपछि विभागीय एपीएफ क्लबमा पुगेका थिए ।

त्यसपछि २००७ देखि २०१० सम्म उनले बंगलादेशको चितगोङ अबहानीबाट खेले । त्यसपछि स्वदेश फर्किएका सन्तोषले पुनः थ्री स्टार नै रोजे । उनी २०६७ को सर्वाधिक गोलकर्ता समेत भए । २०६८ मा सर्वाधिक मूल्यमा मनाङ पुगेका सन्तोषको गोल गर्ने श्रृंखला रोकिएन । उनले मनाङबाट १६ गोल गरे । त्यसपछि उनी पुनः थ्री स्टारमै आवद्ध भए । २०६८ मा उनले ८ गोल गर्न सफल भए । त्यसपछि नेपालमा लिग हुन सकेको थिएन । उनी पनि जापान प्रस्थान गरेका थिए । यसपटक सन्तोष पक्कै पनि शतकीय गोलको खुसी लिएर जापान फर्कनेछन् ।

विज्ञापन