सुरक्षित गर्भपतन सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यचौकीमा अनुगमन

0

‘प्रभावकारी परिवार नियोजनसहितको सुरक्षित गर्भपतन, प्रजनन अधिकारको सम्मान’ भन्ने नाराका साथ सुरक्षित गर्भपतन सेवाको सुदृढीकरणका लागि अनुगमन भएको छ । जिल्ला समन्वय समिति म्याग्दीको सहयोग र आइपास नेपालको आयोजनामा सोमबार परियोजना सल्लाहकार समितिद्वारा संयुक्त रुपमा अनुगमन गरिएको हो ।

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२, भूरुङ–तातोपानी स्वास्थ्यचौकीमा उपलब्ध रहेको सुरक्षित गर्भपतन सेवाको बारेमा अनुगमन गर्नुका साथै स्वास्थ्यकर्मी, जनप्रतिनिधि, स्वयंसेविका र स्थानीयवासीसँग अन्तत्र्रिmया गरिएको आइपासले जनाएको छ । निःशुल्क सुरक्षित गर्भपतन सेवाको प्रभावकारिता थाहा पाउनका लागि सल्लाहकार समितिबाट अनुगमन गरिएको आइपास नेपालका गण्डकी प्रदेश संयोजक थमकुमारी कुँबरले बताइन् ।

२०७० सालदेखि निःशुल्क सुरक्षित गर्भपतनसम्बन्धी सेवा सञ्चालनमा आएदेखि हालसम्म भूरुङ–तातोपानी स्वास्थ्यचौकीमार्फत कुल २ सय ५६ जनाले सेवा लिएको अनमी निता पुनले जानकारी दिएकी छिन् । यसमध्ये २ सय ९ जनाले छोटो अवधि र २५ जनाले लामो अवधिको सुरक्षित गर्भपतनसम्बन्धी सेवा लिएको उनले तथ्याङ्क प्रस्तुत गरेकी थिइन् । स्वास्थ्यचौकीमा १५ वर्षदेखि ५० वर्षसम्मका महिलाहरु निःशुल्क सुरक्षित गर्भपतन सेवा लिन आउने गरेको बताउँदै उनले पछिल्लो समय गर्भपतन सेवा लिनेहरु बढेको बताइन् । भूरुङ–तातोपानी स्वास्थ्यचौकीमा ९ हप्तासम्मको निःशुल्क सुरक्षित गर्भपतन सेवा उपलब्ध रहेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले बाध्यकारी अवस्थामा सुरक्षित गर्भपतन गराउनुपर्ने बताए । उनले सुरक्षित गर्भपतन सेवालाई प्रभावकारी बनाउनुपर्ने आवश्यक रहेको बताउँदै यसका लागि सम्बन्धित गाउँपालिका र वडा कार्यालयले अपनत्व लिनुपर्ने बताएका छन् । प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले सुरक्षित गर्भपतनका विषयमा समुदायस्तरमा जानकारी गराउनुपर्ने बताउँदै महिला स्वास्थ्य स्वयंसेविकाहरुमार्फत प्रभावकारी रुपमा कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले राज्यले ल्याएको सुरक्षित गर्भपतन सेवामार्फत असुरक्षित गर्भपतनलाई न्युनीकरण गर्न आवश्यक रहेको बताएका थिए ।

बेनी अस्पतालका क्लिनीकल कोअर्डिनेटर डाक्टर नवराज वस्ताकोटीले सेवाग्राहीको आवश्यकता र अवस्थालाई ध्यानमा राखेर सेवा प्रवाह गर्नुपर्ने बताए । स्वास्थ्यचौकी व्यवस्थापन समितिका उपाध्यक्ष दशरथकुमार कर्माचार्यको अध्यक्षता र निमित्त इन्चार्ज बिक्रम बुढाथोकीको सञ्चालनमा सम्पन्न कार्यक्रममा आइपासका प्रदेश संयोजक कुँबरले सहजीकरण गरेकी थिइन् ।

Leave a Reply