६ बर्षदेखि गोठमा बस्दै आएका भण्डारी दाजुबहिनीले घर पाए

0

विष्णु कार्की क्षेत्री ÷ धारापानी
म्याग्दीको धवलागिरी गाउँपालिका–७,चाउके धारापानीमा करिव ६ बर्षदेखि भत्किएको गोठमा बस्दै आएका ७० बर्षीया घमिष्टा र उनका दाजु चन्द्रबहादुर भण्डारीले नयाँ घर पाएका छन् । छिमेकी मुनाबाट ताकमको हिलापोखरी हुदै चाउकेमा भत्किएको गोठमा बस्दै आएका बेसहारा भण्डारी दाजुबहिनले विताएको कष्टकर दैनिकीका बारेमा समाचार प्रकाशित भएपछि गोठबाट उद्धार गरिएको छ ।

चरम विपन्नका कारण मागेर गुजरा चलाइरहेका उनीहरुका बारेमा बेनी साप्ताहिकले समाचार प्रकाशित गरेपछि स्वदेश तथा विदेशबाट संकलन भएको आर्थिक र स्थानीय यूवा माधब गिरी,अर्जुन थापा र काठमाण्डौमा रहेका यूवा नेता अर्जुन थापा लगाएतको सक्रियतामा घर बनाएर बृद्ध दाजुबहिनीलाई हस्तान्तरण गरिएको हो। ‘घरमा बस्न पाइन्छ जस्तो लागेको थिएन्,‘अहिले निद्रा लाग्छ’ खाना पकाउदै गरेकी खमिष्टाले भनिन् ।

खुल्ला आकाश जस्तै गोठमा ६ बर्षसम्म विताएकी खमिष्टाले नयाँ घर पाएपछि खुसी हुदै गाउँमा समेत आफ्नो घरका बारेमा सुनाउँदै हिड्ने गरेकी छन् ।गरिबीकै कारण उपचारबाट समेत बन्चित भएका चन्द्रबहादुरले समेत घरमा सरेपछि नयाँ जीवन पाएको बताए । पराललाई ओड्ने सिरक, बनजंगलबाट ल्याएको दाउरालाई सिरानी बनाएर सुत्नुपथ्र्यो, अहिले हामीलाई धेरै सजिलो भएको छ’ उनले भने ।

दुबैजनालाई अहिले नयाँ संसारमा प्रवेश गरेजस्तै भएको स्थानीयको भनाई छ ।लामो समयदेखि कष्टपूर्ण जीवनयापन गर्दै आएका उनीहरुले हरेक दिन स्थानीयलाई मागेर खाने गरेका थिए । चुहिने अवस्थामा रहेका पुराना भाडाँकुडा तथा एकछाक पकाउने अन्न समेत नभएको अवस्थाका बारेमा स्थलगत रुपमै पुगेर समाचार तयार गरेपछि स्वदेश तथा विदेशबाट समेत ३५ देखि ४० हजारको हाराहारीमा नगद समेत संकलन भएको थियो ।

खमिष्टा र चन्द्रबहादुरको नाममा गरिमा विकास बैंक दरबाङमा खोलिएको खातामा जम्मा भएको आर्थिकले घर बनाउने तथा आवश्यक साम्रागी खरिद गरिएको अभियानमा जुटेका स्थानीय यूवा गिरीले बताए । ‘समाचार आएपछि उहाँको उद्धारमा सक्रिय भयौं,‘अब उहाँले घर पाउनुभएको छ’ अर्को यूवा थापाले भने।

उनले नयाँ घरको आगनमा बसेर भण्डारी दाजुबहिनीले खुसी ब्यक्त गर्ने गरेको बताए । गर्मी मौसममा नजिकै पशुचौपाया भएकाले पनि लामखुट्टेले सताउने गरेको अवस्थामा पराल, पुराना कपडा र दाउरामै रात विताउने गरेका बृद्धबृद्धाको उद्धारमा सहयोग गर्नेलाई धन्यवाद समेत दिएका छन् । घमिष्टाका दाजु नशा र शरीर दुख्ने समस्याका कारण हिँडडुल गर्न समस्या भएकाले उपचारका लागि आवश्यक तयारी भइरहेको छ । यसैबीच दुवैजनाले सामाजिक सुरक्षा भत्ताले समेत जीवन चलाउन सहज हुने भएको छ ।

Leave a Reply