म्याग्दीको एक स्थानीय तहले गर्भवती महिला, हजार दिनका आमा र शिशुको पोषण सुधारका लागि फरक शैलीको अभियान सञ्चालन गरेको छ ।  मालिका गाउँपालिकाले ‘घरघरमा झण्डा, हातहातमा अण्डा’ कार्यक्रम सुरु गरेको हो ।

गाउँपालिकाको वडा नं २ रुममा मंगलबार उपाध्यक्षसँग गर्भवति भेटघाट कार्यक्रम अन्तरगत गर्भवति महिलाको घरमा झण्डा राख्ने र अण्डा वितरण सहित आवश्यक रचनात्मक कार्यको सुरू गरिएको गाउँपालिका उपाध्यक्ष खरमायाँ बिटालुले बताईन् ।‘आगामी दिनमा अन्य आकर्षणका लागि कार्यक्रम ल्याउँछौ,‘महिलाको पोषणमा यो सुधार कार्यक्रम सहयोगी बन्ने छ’ बिटालुले भनिन् ।

उनले घरभित्रको जोखिमपूर्ण सुत्केरी हुने अवस्थाको अन्त्य सहित गर्भवती महिलालाई भेट्न घरघरमै पुग्ने, गर्भवती भएको चौथो महिनादेखि चारपटकसम्म परीक्षणका लागि स्वास्थ्य संस्था जान आग्रह, महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीलाई समेत अभियानमा संगै जोड्ने बताईन् ।

कार्यक्रम अन्तरगत वडा नं २ का ४९ जना गर्भवतिलाई एक÷एक क्यारेटका दरले अण्डा र घरमा राख्नका लागि हरियो झण्डा वितरण गरिएको थियो। हरियो झन्डाले स्वास्थ्य स्वयंसेविकालाई गर्भवती महिलाको घर पहिचानमा समेत सहज हुने गाउँपािलकाले जनाएको छ ।

गाउँपालिका भित्रका सबै ७ वटै वडामा कार्यक्रम सञ्चालन गरिने छ । गाउँपालिका भित्र भौगोलिक रुपमा विकट बस्तीहरुमा अझैपनि घरमै सुत्केरी हुने र स्वास्थ्य संस्थासम्म नआउने प्रचलन रहेकोमा अभियान अन्तरगत बर्थिक सेन्टरमै सुत्केरी हुने गरी प्रोत्साहन सहितको जनचेतनामुलक कार्यलाई समेत प्राथमिकता दिने बताइएको छ ।

गाउँपालिका भित्रका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीले समेत अभियानले भविस्यमा सकारात्मक प्रभाव पार्ने बताएका छन् । झन्ढार अण्डासँगै गरिएका कार्यक्रमबाट गर्भवति महिला समेत उत्साहित छन् । उनीहरुलाई कुनै समस्या भएमा तत्कालै उद्धार सहितका अभियानलाई समेत जोडिने बताइएको छ ।