मालिका गाउँपालिका–३, इग्रे रुमका मानबहादुर पटेलको स्वास्थ्य अवस्था समान्य थियो । दिनभरी खेतमा काम गरेर बेलुकी घर फर्किएर आराम गर्ने क्रममा अचानक शरीर कमजोर भएको महसुस गरेपछि भोलीपल्ट प्राथमिक उपचार केन्द्र दरबाङमा उपचारका लागि आएका पटेललाई मृगौलामा खरावीको आशंकामा थप उपचारका लागि रिफर गरे ।

बेनी हुदै पोखरा पुगेका पटेललाई चिकित्सकले दुवै मृगौला खरावी भएको रिर्पोट थमाइदिएपछि छागा बाट खसेजस्तो भए । आर्थिक रुपमा विपन्न पटेलले बैदेशिक रोजगारमा गएर घरपरिवारको सुन्दर सपना बुनेर बसेको अवस्थामा दुवै मृगौलाले काम नगरेको रिर्पोटले होसै उड्यो । अस्पतालमै थचक्कै भुईमा बसेका पटेललको आफूँ उभिएको जमिन भासिएजस्तो,पहाड खसेर थिच्चिरहेको महसुस गरे।

बेनी नगरपालिका–५, भीरमुनिका डेकनाथ शर्माले उच्च रक्तचापको औषधीको रुपमा नियमित तिते करेला खाने गर्ने गर्दथे। बेनीबजारमा खाजा घर सञ्चालन गरिरहेका शर्माले एकैदिन पटक–पटक औषधीभन्दा तिते करेलालाई रोग नियन्त्रणका लागि प्रयोग गर्ने गरेका थिए ।

एकदिन अचानक टाउको दुख्ने, रिंगटा लाग्ने समस्यालाई लिएर अस्पतालमा चेकजाँचको क्रममा दुवै मृगौला पूर्णरुपमा काम नलाग्ने अवस्था पुगेको चिकित्सकले जानकारी दिएपछि निराश भएर घर फर्किए । लक्षण नदेखिई एक्कासी मृगौला गुमाएका पटेल र शर्माले डाइलसिस गराइरहेका छन् । ३७ वर्षको उमेरसम्म कुनै शारीरिक लक्षण नदेखिएको अवस्थामा आफ्नो मृगौला खरावी भएको जानकारी पाएको पटेलले बताए।

‘कुनै संकेत नै नपाई दुवै मृगौला गुमाए,‘नदेखिनु लक्षण देखिने भन्दा खतरनाक हुने रहेछ’ पटेलले भने । उनले अघिल्लो दिन घरायसी काममा ब्यस्त भएको अवस्थामा अचानकमृगौलामा खरावी देखिएपछि जीवन नै सकिएजस्तो भएको बताए। ‘लक्षण नदेखिँदा आफूलाई सबै ठीकै छ, म स्वस्थ छु भन्ने लागेको थियो,‘मृगौलामा एक्कासी खरावी देखिएर ठूलै समस्या निम्त्याएको छ’अर्का बिरामी शर्माले भने।

उनले प्रेसरले मृगौलामा खरावी भएको अनुमान चिकित्सकले गरेपछि हाल भारतमा मृगौला प्रत्यारोपण सहित उपचारका लागि समेत पुगेको बताए। बदलिँदो जीवनशैलीसँगै मीठोमीठो खानुपर्ने, मांसाहारी खाना बढी रुचाउने, रक्सी, सुर्तीजन्य नशाको सेवन, मानसिक तनावमा रहनुपर्ने बाध्यता, शारीरिक व्यायामको कमी आदिले लगाएतले म्याग्दीमा पछिल्लो समय मृगौला रोगीको संख्या ह्वात्तै बढेको छ ।

नपत्याइँदो हिसाबले मान्छेका मृगौलामा समस्या देखिन थालेपछि म्याग्दीमा परोपकारी संस्थाओमकुमारी शान्ति कोष, विभिन्न संघसंस्था र ब्यक्तिगत रुपमा समेत आर्थिक संकलन अभियान सञ्चालन गर्ने गरिएको छ । म्याग्दीमा शरीरको महत्वपूर्ण अङ्ग मृगौलाले काम गर्न छोडेपछि उपचारर्थ बिरामीको आधिकारिक तथ्याङ्क नभएपनि पछिल्ला केहीबर्ष यता बिरामीको संख्या तुलानात्मक रुपमा बढिरहेको बेनी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अमृत अधिकारीले बताए ।

‘मधुमेह, उच्च रक्तचाप बिग्रेको अवस्थामा पनि मृगौलामा असर गर्न सक्ने सम्भावना धेरै हुन्छ,‘धेरै कारणहरु हुन्छन्, नियमित चेकजाँच गर्न सकेमा जोगिन सकिन्छ’ डा. अधिकारीले भने । जन्मजात हुने समस्या, वंशाणुगत रोगको समस्याले समेत गुम्ने उनको भनाई छ । उनका अनुसार मृगौलाको पत्थरी, ट्युमर, क्यान्सरजस्ता सर्जिकल समस्याले पनि मृगौला बिगार्न सक्ने भएकाले जिल्लामा जनचेतनामुलक अभियानलाई ग्रामिण क्षेत्रसम्म पुर्याउन आवश्यक रहेको बताए ।

डा. अधिकारीका अनुसार मधुमेह र उच्च रक्तचापका बिरामीले औषधी सेवन सुरु गरेपछि नियमित सेवन गर्नुपर्छ भन्ने चेतनाका कारण अन्तिम समयमा औषधी प्रयोग गर्दा बिरामीको मृगौला लगाएतका अन्य अंगमा समेत समस्या देखिने गरेको बताए । डा. अधिकारीका अनुसार विद्यालय देखि समुदायमा मृगौला सहित जटिल रोग बारेमा जनचेतनामुलक अभियान सञ्चालन गर्ने सकेमा रोगीको संख्या न्यूनिकरणमा सहज हुने बताए ।

‘सामान्य लक्षण देखिए पनि ओछ्यान नपर्दासम्म ‘मलाई केही भएको छैन’ भन्दै ढुक्क हुने बिरामी धेरै भेटिनुहुन्छ,‘एक्कासी रोगले च्यापेपछि पछुताउनुको विकल्प रहन्न’ बेनी अस्पतालका मेडिकल कोअर्डिनेटर डा. नवराज बस्ताकोटीले भने । उनले मृगौलाले काम गर्न छोडेपछि उपचार जति महँगो र झन्झटिलो छ त्यो भन्दा धेरै गुणा सजिलो छ यसको पहिचान र समयमै उपचार भएको डा. बस्ताकोटीको भनाई छ । सामान्य परीक्षणले मृगौलाको अवस्था थाहा हुने र समयमै उपचार सजिलो भए पनि बेवास्थाका कारण समस्या जटिल बन्दै गइरहेको छ ।

‘बिरामी बढे, बास्तविक तथ्याङ्क छैन्’
साइलेन्स किलरको रुपमा चिनिएको मृगौल रोगका बिरामीको संख्या ह्वात्तै बढेको देखिएपनि आधिकारिक तथ्याङ्क नहुदँ समस्या हुने गरेको छ । म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले पछिल्लो तीनबर्ष यता दुईजना बिरामीको उपचार अभियान सञ्चालन गरेको छ भने ३२ जना मृगौला पीडितलाई आर्थिक सहयोग समेत गरेको छ ।

कोषका अध्यक्ष राजेश शाक्यका अनुसार मृगौलामा समस्या देखिएका बिरामीले सहयोगका लागि निवेदन आउने क्रम जारी भएपनि मृगौला डोनरको पहिचान नभएसम्म उपचार अभियान सञ्चालनमा समस्या हुने गरेको बताए । ‘निवेदनमा अधिकांस मृगौला रोगी नै हुनुहुन्छ,‘ठूलो आर्थिक जुटाउन हम्मेहम्मे परेको छ’ शाक्यले भने । उनका अनुसार आर्थिेक संकलन जुटाएर मंगला गाउँपालिका–१ कुहुँका डकबहादुर रोका, अर्मनका सुरेश छन्त्याल, रुमका मानबहादुर पटेल सहित धेरै बिरामीको उपचारमा सहयोग गरेको बताए ।

एकपछि अर्को मृगौला रोगी आउन थालेपछि विद्यालयस्तरबाटै जनचेतनामुलक अभियान सञ्चालनका लागी पहल सुरू गरेको शाक्यको भनाई छ। ओमकुमारी शान्ति कोषले हाल २ जनाको अभियान र ३२ जना मृगौला रोगीको उपचारमा सहयोग गरेको छ। नियमित औषधी, डायलासिस सहित खान बस्नेका लागि लाग्ने खर्चका साथै प्रत्यारोपणमा समेत ठूलो खर्च लाग्ने भएकाले विपन्न बर्गले सहयोग जुटाउन नसके मृत्यु रोज्नुपर्ने अवस्था रहेको शाक्यको भनाई छ । कोष बाहेक धेरै बिरामीलाई समुदायस्तरमा अभियान समेत सञ्चालन गर्ने गरिएको छ।

सामाजिक सञ्जालमा महिनैपिच्छे नयाँ बिरामीले अपिल गरेको देखिने गरेपनि जिल्लामा मृगौला रोगीको संख्याको बास्तविक तथ्याङ्क राख्ने निकाय नभएकाले समस्या भइरहेको छ । धेरै बिरामी पोखरा, काठमाण्डौ लगाएतका क्षेत्रमा जाने भएकाले पनि तथ्याङ्क संकलनमा तालमेल नभएको बेनी अस्पतालका अध्यक्ष बेलबहादुर कटुवालले बताए । अस्पतालमै डायलासेस सेवा सुरु भएमा म्याग्दी तथा आसपासका क्षेत्रमा बिरामीको बिवरण संकलनमा सहज हुने उनको भनाई छ ।

कसरी गर्ने मृगौलाको हेरचाह ?
म्याग्दीमा श्रीमान श्रीमतिलाईको एकैपटक मृगौलामा खरावी देखियो । मृगौलामा समस्या देखिएपछि काठमाण्डौमा उपचार गराइरहेका छन् । एकैपटक श्रीमान–श्रीमतिको दुवै मृगौलामा खरावीले चिकित्सक समेत आश्चर्य चकित परे । प्रेसरका बिरामीले औषधी सेवन गरेपनि एक्कासी मृगौलामै समस्या देखिएको अवस्थालाई एउटा उदाहरणको रुपमा समेत लिन सकिन्छ ।

एउटा रोगको बिरामीले सोही रोगलाई मात्रै ध्यान दिदाँ शरीरका अन्य अंगमा परेको नकारात्मक असरप्रति बेवास्ता गर्दा थप जटिल रोगको सामना गर्नुपर्ने चिकित्सक बताउँछन् । आधुनिक जीवनशैली, खानपान, व्यस्तता, तनाव आदिका कारण मृगौलामा समस्या देखिने गरेको छ ।

चिकित्सकहरूका अनुसार मृगौलामा समस्या देखिने मुख्यतः दुई कारण छन् । एउटा मृगौला आफैँभित्रको समस्या र अर्को शरीरका अन्य अङ्गमा लागेका रोगहरूका कारण। ‘वर्षमा एकपटक मृगौलाको जाँच गर्नु अनिवार्य छ ।एक व्यक्तिले सामान्यतः दैनिक अढाईदेखि तीन लिटरसम्म पिसाब हुनेगरी पानी पिउनुपर्छ ।आफूखुसी र जथाभावी रूपमा एन्टिबायोटिक र पेन किलर औषधिको प्रयोगले पनि मृगौला खराब हुने क्रम बढाउँदै लगेको छ ।

म पलपल मरेर बाँचेको मान्छे’
उच्च रक्तचापका कारण मेरो ०६५ सालमा दुवै मृगौलामा समस्या देखियो । सुन्दर सपना बोकेर भविस्य बनाउने प्रयासमा जुटिरहेको अवस्थामा अचानक मृगौलामा समस्या देखिएपछि मेरो सपना मोडियो ।नियमित औषधी सेवन तथा डायलासिस गर्नुपर्ने भएपछि मैले धेरै समय अस्पतालमै विताउनुप¥यो । मृगौला फेल भएपछि जिन्दगी नै समाप्त भएको महसुस गरेकोे थिए ।

ब्लड प्रेसरका कारण दुवै मृगौला खरावी, जन्डिसबाट समेत ग्रसित भएको अवस्थामा ब्यक्तिगत तथा विभिन्न क्षेत्रबाट आर्थिक सहयोग जुटेपछि मलाई मेरो आमाले मृगौला दान गर्नुभएपछि नयाँ जीवन पाए । उपचारमै करिव ४० लाख खर्च भयो । मलाई मृगौलामा समस्या हुदाँ म्याग्दीमा निकै कमलाई समस्या देखिएको थियो । ओमकुमारी शान्ति कोष, देउराली यूवा क्लव कुहुँको विषेश पहलमा मेरो उपचारका लागि धेरै आर्थिक जुट्यो ।

मैले आमाको मृगौरा र समुदायको सहयोगमा नयाँ जीवन पाए । अहिले बुद्ध एकेडेमीमा कम्यूटर शिक्षकको रुपमा कार्यरत छु ।‘ अचानोको पीडा खुकुरीलाई थाहा हुँदैन’ भन्ने नेपाली उखान जस्तै जसलाई समस्या परेको हुन्छ पीडा पनि उसैले मात्र भोगेको हुन्छ भनेर मैले दुवै मृगौला खराबीभएपछि जीवन मरणको दोसाधनमा पुगेका सुरेश छन्त्याल बचाउ अभियानको नेतृत्व गदैं करिव २५ लाख सङ्कलन गरेका थिए ।त्यस्तै मृगौला खरावीबाट चिन्तित भएका बिरामीलाई प्रत्यक्ष भेटेर र अन्य माध्यमबाट समेत परामर्श दिने गरेका छन् ।

‘म पलपल मरेर बाँचेको मान्छे,‘मृत्युलाई नजिकबाट पन्छाएर नयाँ जन्म लिएजस्तै अन्य विरामीलाई पनि उर्जा थप्ने प्रयासमा छु’ । अहिले ओमकुमारी कोषको कार्यसमितिमा बसेर काम गरिरहेको छु । अब साइलेन्स किलरको रुपमा चिनिएको मृगौल रोगका बारेमा रोकाले विद्यालय तथा अन्य संघसंस्थाले गरेका कार्यक्रममा जनचेतनामुलक कार्यक्रम सञ्चालनको योजना छ ।

विद्यार्थीमार्फत अभिभावक र समुदायसम्म मृगौला रोगबाट जोगिने अभियानलाई प्रभावकारी बनाउन सकिने भएकाले जनचेतनाको अभावको अभावकै कारण पीडित भएकाले गरिब तथा विपन्न बस्ने बस्ती, दलित तथा जनजातिको खानपीनलाई समेत सुधार ल्याउने गरी अभियानमा जुट्ने प्रयासमा छु ।
मृगौला पीडित मनबहादुर पटेलसँग प्रत्यारोपण गरेका डकबहादुर रोका ।