मोनाको पहलमा राजकुमार बचाउन ‘ब्लड मनी’ जुट्यो

0

धन कमाउने सपना देखेर साउदी अरव पुगेका मालिका गाउँपालिका–६ दिच्यामका राजकुमार निउरेको साढे पाँचबर्षसम्म कहाँ छन् भन्ने अत्तोपत्तो थिएन् । साउदीमा बेपत्ता भएका निउरेको खोजीकार्यमा पाँचबर्षसम्म परिवारले धेरै प्रयास गरेपनि सफल भएनन् ।

कमजोर पारिवारिक अवस्थाका कारण जीविकोपार्जनका लागि आर्थिकस्रोत जुटाउन २०६८ साल जेठ २ गते साउदी पुगेका निउरेको खोजीमा परिवारले अनेकौ प्रयास गर्दा पनि कुनै सम्पर्क नभएपछि आश मारेका थिए । छोरा साउदीमै बेपत्ता भएपछि हरिमायाँको भिजेका आँखा अझै ओबाएका छैनन् ।

बुबा दतिलाल निउलेले छोराको कमाईले आराम गर्ने बुढो शरीरमा परिवारको हातमुख जोड्न दैनिक घरायसी काममा दिन गुजार्न बाध्य छ ।छोरा बेपत्ता भएपछि एउटा नातीलाई शिक्षादिक्षा, पालनपोषणका लागि हम्मेहम्मे भएको अवस्थामा मोरङ जिल्लाका कमल वस्तीको हत्याको आरोपमा जेलमा परेको खवरले छोरा फर्किने आशमै थप १ बर्ष गुजारे पनि सफल हुन सकेनन्।

साउदी अदालतले तोकिएको पाँचबर्षे सजायको कैद भुक्तान गरेपनि आवश्यक कागजात र मृतकका आफन्तले माग गरेको ब्लड मनी (क्षतीपूर्ति) तिर्न नसक्दा जेलभित्रै बस्नुपर्ने अवस्थाका बारेमा पहिलो समाचार बेनीअनलाइन र बेनी साप्ताहिकले प्रकाशित गरेपछि ‘निउरे घर फिर्ती अभियान’ ले तिब्रता पाएको थियो ।

जेल परेको ६ बर्षसम्म सम्पर्कविहिन निउरेको समाचार प्रकाशित भएपछि साउदीमा रहेका म्याग्देलीले जानकारी पाएका थिए।अहिले सामाजिक सञ्जालको भित्ता निउरे बचाँउ अभियानले रंगिएका छन् । ‘बषौं वितिसक्दा पनि छोरा फर्किएन्,‘अब धेरै आश पलाएको छ’ राजकुमारकी आमा हरिमायाँले भनिन् । ‘मेरो छोराले कसको के बिगारेको थियो र अनाहकमा सजाय पायो ? हरिमायाँले भक्कानिदै भनिन् ।

कम्पनीमा कार्यरत साथीहरू बिच झगडा भएपछि गम्भीर घाईते अवस्थामा रहेको वस्तीलाई उपचारका लागि अस्पतालमा लैजाने क्रममा फिंगर प्रिन्टलाई आधार मानेर छोरालाई प्रहरीले हत्यामा संलग्न रहेको आरोपसँगै मुद्धा दर्ता गरेको उनका साथीहरुबाट जानकारी पाएको बताईन् । ‘मेरो आँखा अझै ओभाएको छैन्,‘आश पनि मरेको छैन’ उनले भनिन् । बि.श २०७० सालदेखि अबैध रुपमा कम्पनीमा काम गदैं आइरहेका निउरे सोहीबर्ष जेलमा परेका थिए ।

२० लाख मृतकका आफन्तलाई, कागजात साउदी पुग्यो
मृतकका परिवारले सुरुवातमा ६० लाख माग गरेका थिए । निउरेको आर्थिक अवस्थाका बारेमा जानकारी गराएपछि २० लाखमा सहमति भएको छ । मोना आइसीको सक्रियतामै अभियान प्रभावकारी बनेको थियो । मोनामार्फत प्रतिबद्धता जनाइएको रकमले घरफिर्ती अभियानलाई सहज भएको पीडित निउरेका आफन्तको भनाई छ ।

मोनामार्फत १५ लाख र अन्य अभियानबाट प्राप्त ५ लाख मृतकका आफन्तलाई हस्तान्तरण गरिएको थियो । मृतकका परिवारलाई आर्थिक दिएको बैंक विवरण, कानुनी प्रक्रिया र पीडित परिवारको सहमतिको विवरण पठाइएकाले निकट भविस्यमै निउरे घर फर्किने मोना अन्तराष्ट्रियका अध्यक्ष ओमनारायण जुग्जालीले बताए ।

उनले निउरेको घर फिर्तीका लागि म्याग्देलीको सक्रियताले एकता र सहकार्यको सन्देशलाई समेत प्रवाह गरेको बताए । ‘मोनामार्फत हामीले पन्ध्र लाख संकलन गर्ने प्रतिबद्धता जनाएका थियौं,‘आर्थिककै कारण उहाँलाई कुनै समस्या भएन’जुग्जालीले भने । उनले मोना आइसीमार्फत एनसीसीबाट प्राप्त सहयोग बाहेक तत्कालै प्रक्रिया अगाडी बढाउन पर्नेभ भएकाले केही रकम खोजेर समेत सहयोग गरेको बताए । मोनाको एनसिसीबाट प्रतिबद्धता जनाए अनुसारको सहयोग आउने क्रम जारी रहेको जनाइएको छ ।

म्याग्दीमा मोनामार्फत पहिलोपटक जेलमा परेकालाई ब्लड मनी संकलन गरी घर फिर्ती अभियान सञ्चालन गरिएको महासचिव विक्रम कार्कीले बताए । उनका अनुसार मोनाले विभिन्न देशमा जेल सजाय भोगिरहेकाहरुको तथ्याङ्क सहित प्रवासी म्याग्देलीको बास्तविक तथ्याङ्क संकलनलाई समेत प्राथमिकता दिएको बताए । निउरे घर फिर्ती अभियानमा बेनीबजारमा सुर्यकिरण न्यौपाने, दरबाङमा वडा अध्यक्ष सन्तनाथ सुबेदी लगाएत विभिन्न क्षेत्रमा आर्थिक संकलन भइरहेको छ ।

मृतकका आफन्तलाई दावी गरेको आर्थिक हस्तान्तरण सहित आवश्यक कागजी प्रक्रिया पृरा गरी साउदी पठाइएको छ । यो अभियानमा मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका, उपाध्यक्ष खरमायाँ विटालु, काठमाण्डौमा बलभद्र ढकाल सहितको टोलीले साथ दिएका थिए । आवश्यक कागजात सहितको प्रक्रिया पुगेमा अवको डेढ महिनाभित्र राजकुमार नेपला आउन सक्ने सम्भावना देखिएको छ ।

हरिमायाँको त्यो याचना
गएको कात्तिक ४ गतेको तयार पारिएको समाचारमा राजकुमारी आमा हरिमायाँले भनेकी थिईन्,’ छोरालाई साउदी जेलबाट ल्याइदिनुहोस्’ ।उनले उक्त संवादमा छोरालाई घर फर्काउन कहाँबाट ल्याउँ ३० लाख ?’ भन्दै सहयोगको याचना गरेकी थिईन् । परिवन्धका कारण ६ वर्षदेखि जेलमा बन्दी जीवन बिताइरहेका राजकुमार अब केही समयमा उनकै काँखमा आइपुग्नेछन् । हरिमायाँको रोदनसहितको समाचार प्रकाशित भएपछि जेलबाट घरमा छोरालाई ल्याउन प्रवासी म्याग्देलीले राजकुमार निउरे बचाउ अभियान’ सुरु गरेका छन् ।

उनलाई जेलमुक्त गर्न थालिएको ब्लड मनी संकलन अभियान सफल भएको छ । उनले गाउँपालिकाको उपाध्यक्ष खरमायाँ विटालुको कार्यकक्षमा रुदै गरेको याचनाले समेत धेरैको मन छोएको थियो । ‘अब उहाँ रुनु पर्ने छैन्,‘ निर्दोष छोरालाई जेलबाट फर्काउन म्याग्देलीले पैसा जुटाएका छन्’ मोना आइसीका कोषाध्यक्ष मुक्ती रोकाले भने । उनले जेलमा अन्योलको जीवन बाँचिरहेका निउरेको अभियान सफल भएपछि सम्पूर्ण सहयोग सहितको विवरण सार्वजनिक गर्ने बताए ।

Leave a Reply