प्रकाश माविले मनायो ६७औं वार्षिकोत्सव (फोटो फिचर)

0

‘अन्तरदृष्टि प्रस्फुटनका लागि शिक्षा’ भन्ने मूल नारासहित म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित प्रकाश माध्यमिक विद्यालयले बुधबार ६७औं वार्षिकोत्सव मनाएको छ । विद्यालयको आयोजनामा विविध कार्यक्रमसहित ६७औं वार्षिकोत्सव समारोह तथा अभिभावक दिवस मनाइएको हो । वार्षिकोत्सवको उद्घाटन गर्दै बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले प्रकाश मावि म्याग्दी जिल्लाकै पुरानो विद्यालय भएकाले समाजमा शैक्षिक अभिभावकको भूमिका निर्वाह गरिरहेको बताए । उनले विद्यालयको शैक्षिक उन्नति र प्रगतिका लागि सबै जुट्नुपर्ने बताउँदै नगर क्षेत्रमा शिक्षाको गुणस्तर वृद्धि गर्न सबै एक भएर लाग्नुपर्नेमा जोड दिएका छन् । शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीका प्रमुख दलबहादुर थापाले विद्यालयले तल्लो तहमा विद्यार्थी सङ्ख्या बढाउनुपर्ने बताउँदै विद्यार्थीहरुलाई लगनशील भएर अध्ययनमा लाग्न आग्रह गरे । बेनी नगरपालिकाका शिक्षा शाखा प्रमुख शिवप्रसाद रेग्मीले सामुदायिक विद्यालयको उत्पादन स्वदेशमा र बोर्डिङको उत्पादन विदेश पलायन हुने गरेको बताउँदै विद्यालयलाई राम्रो बनाउन लगानी, अभिभावक र विद्यार्थी हुनुपर्नेमा जोड दिए ।

वार्षिकोत्सवको अवसरमा विद्यालयमा अध्यापनरत शिक्षकहरु विनय श्रेष्ठ, कविराम थापा, डिलप्रसाद श्रेष्ठ (लक्ष्मण) र शोभाकुमारी शर्मालाई सम्मान गरिएको छ । यसैगरी विद्यालयका भूतपूर्व विद्यार्थी एवं संरक्षक बिमला गौचन डा. भीमराव अम्वेडकर एक्सीलेन्सी सर्भिस अन्तर्राष्ट्रिय अवार्ड–२०१९ बाट सम्मानित भएकोमा उनलाई विद्यालयले सम्मान गरेको छ । त्यस्तै विद्यालयको कक्षा ११ र १२ मा अध्ययनरत ५६ जनाभन्दा बढी विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको छ भने मुखिया–बिच्छरा छात्रवृत्तिबाट बरदान कार्की र आशिष परियारलाई रकम प्रदान गरिएको थियो । उक्त कार्यक्रममा विद्यालयद्वारा प्रकाशित ‘प्रकाशपुञ्ज’ वर्ष १४ अङ्क १ बिमोचन गरिएको छ भने शिक्षक, विद्यार्थी र अभिभावकहरुलाई खेलकुद सप्ताहको पुरस्कार प्रदान गरिएको विद्यालयले जनाएको छ । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हरिकृष्ण सुवेदीले प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा सम्मानित व्यक्तित्व बिमला गौचन, संरक्षक दलप्रसाद श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष तारानाथ शर्मा, शिक्षक अभिभावक संघका अध्यक्ष सुवर्ण रिजाल र सदस्य लक्ष्मीकुमारी जोशीले मन्तव्य राखेका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीनकुमार श्रेष्ठको अध्यक्षता, पदेन सदस्य राजेन्द्रकुमार श्रेष्ठको स्वागत र सहायक प्रअ लेखबहादुर हमालको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply