राष्ट्रिय परोपकार महासंघ म्याग्दीको अध्यक्षमा बरुवाल

0

राष्ट्रिय परोपकार महासंघ नेपालका संस्थापक अध्यक्ष पण्डित कमलनयन गौतमले परोपकार महासंघमार्फत विभिन्न विधामा काम गरिएको बताएका छन् । उनले राष्ट्रिय परोपकार महासंघ नेपालको तर्फदेखि समाज सुधारका लागि देशका विभिन्न जिल्लाहरुमा अभियान थालिएको बताएका हुन् ।

राष्ट्रिय परोपकार महासंघ नेपाल जिल्ला कार्यसमिति म्याग्दीको बुधबार सदरमुकाम बेनीमा छैटौं साधारणसभा तथा दोस्रो अधिवेशनको उद्घाटन गर्दै पं. गौतमले परोपकारी क्षेत्रमा महासंघ क्रियाशिल रहेको बताए ।

उनले महासंघमार्फत देशका १२ जिल्लामा आश्रम स्थापना र ४३ जिल्लामा सञ्जाल विस्तार गरिएको बताउँदै गुरुकुल आश्रम, ज्येष्ठनागरिक संरक्षण, नैतिक शिक्षा सञ्चालन, समुदायका बिकृति, विसङ्गति न्युनीकरणमा जोड दिइएको बताएका थिए ।
पं. गौतमले परोपकार महासंघले परोपकारी क्षेत्रसँग सम्बन्धित अभियान सञ्चालन गरेको बताउँदै आर्थिकले मात्रै केही पनि गर्न नसक्ने भएकाले विचार परिवर्तन हुनुपर्ने बताए ।

उनले महासंघले बर, पिपल, डुम्रीलगायत जातका विभिन्न विरुवाहरुको संरक्षण गर्नका लागि विशेष अभियान नै चलाएको बताएका छन् । उनले नैतिक शिक्षा सिकाउन नेपालको वर्तमान शिक्षा प्रणालीलाई परिवर्तन गर्न आवश्यक रहेकोमा जोड दिए । देशले सबैभन्दा धेरै बजेट शिक्षा क्षेत्रमा छुट्याउने गरेपनि त्यसमा वैदेशिक लगानी भएकाले शिक्षा प्रणाली परिवर्तन हुन नसकेको उनले बताए ।

कार्यक्रममा गलेश्वर शिवालय क्षेत्र विकास कोषका सदस्य–सचिव माधवप्रसाद रेग्मीले राष्ट्रिय परोपकार महासंघमार्फत परोपकारी क्षेत्रमा काम गर्नुपर्ने बताए । महासंघका जिल्ला अध्यक्ष लोकनाथ रेग्मीको अध्यक्षता, उपाध्यक्ष सन्जु बरुवालको स्वागत र सचिव कृष्णबहादुर बानियाँको सञ्चालनमा सम्पन्न उद्घाटनसत्रको कार्यक्रममा कोषाध्यक्ष अमृतदेवी बानियाँले संस्थाको आर्थिक गतिविधिसहित मन्तव्य राखेकी थिइन् ।

यसैबीच दोस्रो अधिवेशनले सन्जु बरुवालको अध्यक्षतामा राष्ट्रिय परोपकार महासंघ नेपाल जिल्ला कार्यसमिति म्याग्दीको नयाँ कार्यसमिति चयन गरेको छ ।

महासंघको उपाध्यक्षमा कृष्णबहादुर बानियाँ, सचिवमा अमृतदेवी बानियाँ, कोषाध्यक्षमा शर्मिला थापा र सहसचिवमा चिरञ्जीवी आचार्य निर्वाचित भएका छन् । कार्यसमिति सदस्यहरुमा लक्ष्मी केसी, रमिता क्षत्री, खेमराज पौडेल, सीता कुँवर, सीता थापा, सुनिता केसी, अम्बिका श्रेष्ठ, बिमला बरुवाल, प्रताप बानियाँ र सीता चोखाल केसी रहेका छन् । महासंघको सल्लाहकारमा माधवप्रसाद रेग्मी, कृष्णप्रसाद शर्मा, प्रकाशकुमार श्रेष्ठ, क्या. मिनबहादुर कार्की र निवर्तमान अध्यक्ष लोकनाथ रेग्मी रहेका छन् ।

Leave a Reply