दाता बनेर आएका व्यक्ति पैसा उठाएर फरार

0
दोलखाको शैलुङ गाउँपालिकाका अध्यक्ष भरतप्रसाद दुलाल हिजोआज तनावमा छन्। दाता बनेर गाउँ आएका एक व्यक्तिले दुलालसहित गाउँलेसँग पैसा उठाएर भागेपछि समस्यामा छन्। भारत सिक्किम घर बताउने दिपक गौतम केही समयअघि दाता बनेर गाउँ पुगेका थिए। सुरूमा उनले समुदाय र विद्यालयहरूमा सहयोग पनि गरेउनको उठबस गाउँपालिका अध्यक्षदेखि जनप्रतिनिधिहरूसँग बाक्लिँदै गयो। केही समयपछि उनले गाउँलेसँगै सापटी भन्दै पैसा उठाएर फरार भए।

‘जनप्रतिनिधिसँग हिँड्ने मान्छेले बेइमानी नगर्ला भनेर गाउँलेहरूले पैसा सापटी दिए,’ स्थानीय बासिन्दा नेत्र मोक्तानले भने, ‘अहिले ती मान्छे फरार छन्।’सुरूमा गौतमले भारत सरकारले सहयोग गर्ने ठूलो प्रोजेक्ट आफूसँग भएको बताएका थिए। विद्यालय र समुदायलाई केही सहयोग गरेर उनले गाउँलेका मन पनि जिते। विद्यालय र गाउँलेहरूसँग चालिस हजारदेखि तीन लाख रूपैयाँसम्म लिएर उनी गत मंसिरदेखि सम्पर्कविहीन छन्।

कल्लावारी माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्द्रलाल घिसिङसँग पनि विद्यालयलाई सहयोग गर्ने भन्दै ५० हजार रूपैयाँ लिएका थिए। सहयोग गर्न आएको व्यक्ति उल्टै पैसा उठाएर फरार भएपछि गाउँपालिका अध्यक्ष दुलालले प्रहरी गुहारेका छन्। ‘विद्यालयलाई सहयोग गरेका व्यक्ति गत मंसिरदेखि सम्पर्कविहीन छन्। मैले प्रहरीकहाँ पनि खबर गरेको छु,’ उनले सेतोपाटीसँग भने, ‘कोसँग कति रकम उठाएर फरार भए भन्ने अहिले नै भन्न सकिन्न।’

Leave a Reply