अक्षर चिन्दै आमाहरू (फोटो÷भिडियो)

0

‘मर्ने बेलामा हरियो काँक्रो’ बेला–बेलामा बेनी नगरपालिका-७ मंगलाघाटकी ७० बर्षिया मनमाया बुढाथोकीको कानमा यस्तै कुरा गुञ्जिन्छ। उज्यालो बैकल्पिक विद्यालयमा नियमित पढ्न जाने ५० बर्ष काटेका आमाहरूलाई आफ्नो टोल, घर तथा चोक–गल्लीमा ‘मर्ने बेलामा पढ्ने रहर’, ‘घरमै आराम नगरेर बेकारमा झन्झट’, ‘बुढो दिमाखले काम गदैन’ भन्दै गिज्जाउने गर्दछन् ।

हातमा किताब, कापी र कलम बोकेर विद्यालयमा आवतजावत गर्ने आमाहरुले चस्मा लगाएर बुढेशकालमा पढ्न जाँदा बाटोमा अनेक कुरा सुन्नुपरे पनि त्यसलाई बेवास्ता गदैं विद्यालय आउने गरेको बृद्धाहरुको भनाई छ।

विदेशबाट छोराले पठाइदिएको महंगो मोबाईल नाति–नातिना गेम खेल्न मात्रै प्रयोग हुन थालेपछि घर नजिकै हरेको उज्यालो बैकल्पिक विद्यालयमा नेपाली अक्षर फरर पढ्न, मोवाइलको अंक थिचेर बोल्न सक्ने र रिचार्ड गर्ने समेत अरुको भर पर्नुपर्ने अवस्थाको अन्त्यका लागि विद्यालयमा आएको बृद्धा मनमाया बुढाथोकीले बताउनुभयो । झाक्री आमाको नामले समेत चिनिने बुढाथोकीले नियमित झाक्रीको कामलाई समेत निरन्तरता दिइरहनुभएको छ ।

म्याग्दीका केही अगुवा यूवाहरूको पहलमा स्थापना भएको उज्यालो बैकल्पिक विद्यालयमा पोशाकमै सजिएर व्यागमा किताब र कापी बोकेर हिँड्ने आमाहरूले पढ्ने धोको पुरा भएको बताउनुभयो ।‘चिच्चाउँदै अक्षर चिन्दै छु,‘अक्षर चिन्न थालेपछि आयू पनि बढ्छ जस्तो भएको बृद्धाहरुको प्रतिक्रिया छ । बिहान ११ नबज्दै साविकको महिला तथा बालबालिका कार्यालयको भवनमा रहेको विद्यालयमा पुग्ने गरेका आमाहरूले क–ख–ग–घ पढ्दा छोराछोरी समेत मख्ख छन् ।

दुखःकष्ट गरेर छोराछोरीलाई उच्च शिक्षा दिलाएका आमाहरूले बाल्यकालमा शिक्षाबाट बन्चित भएपनि बुढेशकालमा इच्छा पुरा भएको बताउँछन् । बाल्यकालमा छोरीहरूले अक्षर चिन्दा वा पढ्दा पाप लाग्छ भन्ने मान्यताले विद्यालयको मुख समेत देख्न नपाएको अवस्थामा अहिले आफ्नो नाम पढ्न र लेख्न जान्ने मात्रै नभई क्यालकुलेटर चलाउने र घरायसी हिसाव समेत गर्न सक्ने भएका छन् ।

बि.स २०७२ सालमा स्थापना भएको विद्यालयमा छोराछोरी डाक्टर, ईन्जिनियर, विभिन्न सरकारी तथा गैरसरकारी पदमा कार्यरत छोराछोरीले समेत सहयोगमा कक्षा १, ३, ५, ७, ८ र ९ सम्म नियमित विद्यालय आउनको संख्या हरेक बर्ष थपिदै गएको विद्यालय ब्यवस्थापन समितिका उपाध्यक्ष राजेश शाक्यले बताउनुभयो । विद्यालयमा २१ बर्ष उमेर देखि ७० बर्षसम्मका विद्यार्थी छन् ।

विद्यार्थीले अक्षरसँगै कम्प्यूटर समेत सिक्ने ब्यवस्था भएकाले आर्कषण बढेको छ । विद्यालयमा ६८ जना विद्यार्थी छन् । विद्यालय सञ्चालनका लागि चन्दा, वडा, शिक्षा विकास तथा समन्वय इकाई तथा नगरपालिकासँगै गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयबाट १७ लाख सहयोग कक्षा ब्यवस्थापन, कम्प्युटर, विज्ञान प्रयोगशाला, पुस्तकालय, पढ्नसिक्न सहज हुने अन्य आवश्यक पूर्वाधार लगायतको सुविधा थप गरिएको छ ।

पढिरहेको बृद्धाले एसईई दिएर मर्ने बेलामा हरियो काँक्रो भन्नेलाई गतिलो जवाफ दिने योजना सहित कडा मेहनत गरिरहेका छन् । विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्यालयमा शिक्षा लिएर घर फर्किने गरेका छन् ।

Leave a Reply