बेनी अस्पतालमा इलेक्ट्रिक टोकन सिस्टम सुरु, अब बिरामी लाइनमा बस्नुनपर्ने

0

बेनी अस्पतालमा उपचारका लागि बिहिबार विहान पुगेका ६० बर्षिय बृद्ध यामबहादुर पुन टिकट लिन लाइनमा बस्नु परेन् । उनीसँगै पर्वतको मल्लाजबाट आएकी ६५ बर्षिया मनकुमारी थापा मगरले टोकन लिएर प्रतिक्षालयमा बसिन् । बिहिबारदेखि बिरामीको सुविधाका लागि सुरु गरिएको इलेक्ट्रिक टोकन सिस्टमको पहिलो र दोस्रो प्रयोगकर्ता दुवैजनाले टोकन प्रणालीले लाइनमा बस्नुपर्ने झन्झटको अन्त्य भएकोमा खुसी ब्यक्त गरे ।

बेनी अस्पतालले बिरामीको सहजका लागि सुरु गरेको टोकनले विरामीलाई लामो समयसम्म लाइनमा बस्नुपर्ने तथा चिकित्सकलाई समेत हतार गरेर देखाउने प्रबृत्तिको अन्त्य भएको अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए ।‘आफ्नो पालोमा टिकट लिएर डाक्टरसम्म पुगेर चेकजाँच गर्न सजिलो भएको छ’कटुवालले भने। उनका अनुसार लाइनमा ठेलमठेल गरेर टिकट काट्नुपर्ने अवस्थाको अन्त्यले बिरामीलाई उपचारका लागि समेत सहज भएको बताए।

आफ्नो टोकन लिएपछि बेञ्चमा बसेर पालो कुर्ने र सोही टोकन अनुसार डाक्टरले समेत चेकजाँच गर्ने भएकाले टोकट सिस्टमको सुरु भएसँगै बिरामीलाई अस्पताल परिसर वा आफ्नो टोकन लिएर अन्य कामका लागि बजारमा गएर पालोमा चेकजाँच गर्न सहज भएको अस्पताल विकास समितिले जनाएको छ । जटिल समस्या भएका बिरामीलाई सहज हुने गरी अन्य सुविधा समेत थप गर्ने तयारी भइरहेको जनाइएको छ।

विगतमा लाइनमा बस्दा भीडभाड हुने तथा बिरामीलाई उपचारमा समस्या हुने,घचेटाघचेट हुने लाइनमा पालो मिचेर अगाडि जाने, इमजेन्सीका नाममाआफन्तलाई लाइनमा घुसाउने लगायतका समस्या हट्ने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. अमृत अधिकारीले बताए ।

बिरामीले टोकन लिएर टिकट कोटपछि टिकटसँगै माइकबाट बिरामीको टोकन नम्बर अनुसार आफैं बोलाइने छ ।बिरामीको सेवाका लागि अस्पतालले एकजना कर्मचारीलाई समेत खटाएको छ । अस्पताल भित्र केही स्वास्थ्यकर्मीको सेवाप्रति गुनासोका साथै विभिन्न समस्याहरुलाई समेत योजनाबद्ध तरिकाले समाधानको प्रयास गरिएको अस्पतालले जनाएको छ । अस्पतालले निकट भविस्यमै मृगौला रोगीलाई डायलासिस सेवा सुरुको तयारी समेत गरेको छ ।

Leave a Reply