रबिना बोहरा/जिल्लामा लगानी भित्राउने उद्देश्यका साथ बागलुङमा लगानी सम्मेलन गरिएको छ । बागलुङ उद्योग बाणिज्य संघको आयोजनामा भएको ‘उज्यालो बागलुङ, समृद्ध बागलुङ’ बिषयक लगानी सम्मेलनमा गण्डकी प्रदेशका अर्थमन्त्री, नेपालका ठुला व्यवसायीहरुले सहभागिता जनाएका छन् ।

सम्मेलनमा व्यवसायीहरुले स्थानीय तह, प्रदेश सरकार एवं स्थानीयबासीको सहयोग मिलेमा बागलुङमा लगानी गर्न तयार रहेको बताएका छन् । छैठौँ बागलुङ महोत्सवको पुर्व सन्ध्यामा आयोजना गरिएको सम्मेलनमा गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङले सरकारको नीतिबाट निर्देशित भएर बिधि निर्माण गर्ने भएकाले प्रदेशको विकासका लागि काम गरिरहेको बताउनुभयो । उहाले हरेक व्यवसायीले धैर्य गरेमात्र प्रतिफल प्राप्त गर्न सकिने भएकाले पनि लगानी गर्दा दीर्घकालिन सोचका साथ गर्न आग्रह गर्नुभयो ।

‘सरकारले रातारात परिवर्तन गर्न सक्दैन, एक बर्षमा प्रतिफल पाउन धान रोप्नुपर्छ, उद्योगमा लगानी गरेपछि प्रतिफल पाउन समय लाग्छ ।’ गुरुङले भन्नुभयो । अहिले प्रदेशको सम्भावनालाई उजागर गर्दै पर्यटन, जलविद्युत, कृषि लगायतको क्षेत्रमा लगानी गरिरहेको बताउनुभयो । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष तथा व्यवसायी शेखर गोल्छाले नेपालमा भएका विभिन्न घटनाका कारणले गर्दा लगानी गर्ने वातावरण नभएकाले पनि निर्यात भन्दा आयात बढी भएको बताउनुभयो ।

कृषकलाई पनि बढी प्रतिफल दिनुपर्ने बताउदैँ उत्पादन बढाउन आवश्यक रहेको भनाई राख्नुभयो । यस्तै ग्लोबन आईएमी बैँकका अध्यक्ष चन्द्र ढकालले पर्यटनको क्षेत्रमा पनि सम्भावना बोकेको क्षेत्र बागलुङ भएकाले यस क्षेत्रमा लगानी गर्न सकिने बताउनुभयो । आफ्नै जिल्ला भएकाले पनि बागलुङमा केही गर्ने योजना समेत बनाएका ढकालले बाहिरी लगानी जिल्लामा भित्राउनका लागि स्थानीय तथा प्रदेश सरकारले साथ दिनुपर्ने बताउनुभयो । भाटभटेनी सञ्चालक मिनबहादुर गुरुङले जिल्लाका व्यवसायीहरुलाई आम्दानी बढाउने उपायका बारेमा जानकारी गराउनुभएको थियो ।

व्यवसाय सुरु गरेपछि सरसफाईमा ध्यान दिनुपर्ने, राष्ट्र प्रति जिम्मेवार बन्नुपर्ने र कडा परिश्रम गर्नुपर्ने बताउनुभयो । सरकारले काम गर्ने वातावरण बनाएमा बागलुङमा पनि छिट्टै भाटभटेनी सञ्चालन गर्ने गुरुङले प्रतिवद्धता व्यक्त गर्नुभयो । बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीको अध्यक्षतामा भएको सम्मेलनको सहजिकरण प्रभु बैँकका सिइओ अशोक शेरचनले गर्नुभएको थियो ।