फर्किन खोजेको मुस्कान

0

२१ भदौमा विद्यालयबाट छपकैयास्थित घर फर्किंदै गरेकी ९ कक्षामा अध्ययनरत १५ वर्षीय मुस्कानमाथि एसिड आक्रमण भयो ।

त्यही दिनपछि मुस्कानको अनुहारबाट मुस्कान त हरायो नै, उनका बाबु, आमा र तीन भाइबहिनीको दैनिकी पनि बिथोलियो । घटनालगत्तै रसुल र सहनाज मुस्कानको उपचारका निम्ति सबै लालाबाला च्यापेर काठमाडौं हान्निए ।
कीर्तिपुर बर्न अस्पतालको नयाँ भवनको वार्ड नम्बर ११४ मा गत साता पुग्दा मुस्कान खातुन पछिल्लो पाँचौं अप्रेसनपछि विस्तारै तंग्रिन खोजिरहेकी थिइन् ।

बेडको एक छेउमा चुपचाप बसेकी सहनाज मुस्कानको अनुहारमा उदाउँदै गरेको खुसी हेर्न आतुरझैं थिइन् । साढे दुई महिनायता उनी एउटै कुराको पर्खाइमा छिन्, छोरीको अनुहारमा फक्रिएको पुरानो मुस्कान हेर्ने । तर त्यो त्यति सजिलो छैन ।निरन्तर ७२ दिनको अस्पताल बसाइपछि मुस्कान पहिलोपटक डिस्चार्ज भएकी थिइन् । त्यसपछि उनी कलंकीस्थित मामाघरमा २० दिन बसिन् अनि थप उपचारका निम्ति फेरि अस्पताल नै फर्किन् ।

प्रत्येकपल्ट मुस्कानलाई अप्रेसन थिएटरभित्र छिराएपछि सहनाजलाई हरेक सेकेन्ड मिनेट जस्तो लाग्छ । हरेक मिनेट घण्टा जस्तो लाग्छ । आठौं अप्रेसनमा पनि त्यस्तै भयो उनलाई । ‘बिहान नौ बजे अप्रेसन गर्न लग्यो,’ उनले सुनाइन्, ‘चार बजेमात्र निकाल्यो । त्यतिन्जेल मैले अल्लाहको दुहाई गर्दै बसें ।’ पछिल्लो अप्रेसनका बेला कुरुवा घरभित्रको छटपटी सुनाउँदा सहनाजको आँखा रसिला देखिएका थिए । उनले भनिन् पनि, ‘प्रत्येकपल्ट मुस्कानलाई अप्रेसन थिएटर छिराएपछि बाहिर ननिकाल्दासम्म हामी अब्बु र अम्मीको मन पोलिरहन्छ ।’

बिथोलिएको दैनिकी र खलबलिएको जिन्दगीको यात्रा कहिलेबाट सरल हुन्छ भन्ने उनलाई अन्दाजसम्म छैन । निरन्तरको अस्पतालको बसाइ र एकपछि अर्को गर्दै भइरहेको अप्रेसनले मुस्कान असाध्यै गलेकी छन् । उति नै गलेका छन् तर थाकेका छैनन्, सहनाज र रसुल पनि । सहनाज अहिले कलंकीस्थित दाइको दुई कोठे डेरामा आश्रय लिइरहेकी छन् । मुस्कानबाहेकका तीन छोराछोरी, श्रीमान् र उनलाई दाइको डेरामा बस्न सजिलो छैन । तर अप्ठ्यारो मानेर पनि के गर्नु । उनीसँग तत्कालै अर्को विकल्प पनि छैन । मुस्कानको उपचार कहिले सकिन्छ भन्ने पनि टुंगो छैन । उनले चिकित्सकबाट थाहा पाएकी छन्, अझै १३ सर्जरी त बाँकी नै छ ।

 

तेजाब आक्रमणयता सहनाजले कुनै रात र दिन पनि छोरीलाई एक्लै छाडेकी छैनन् । अस्पतालमै उनको रात पर्छ, अस्पतालमै बिहान सुरु हुन्छ । पति रसुल दिनभर छोरी र उनलाई साथ दिन्छन् । साँझ ६ बजेतिर अस्पतालबाट निस्कन्छन्। तर मन भने छोरीसँगै हुन्छ । रसुल घर पुगेपछि पनि सहनाजलाई तारन्तार फोन गरिरहन्छन् । छोरीलाई औषधि खुवाए–नखुवाएको बुझ्छन् । खाना खाए–नखाएको सोध्छन् । राति सुत्नुभन्दा अघि पनि रसुल छोरीकै खैखबर बुझेर निदाउँछन् । अनि बिहान १० नबज्दै टिफिनमा छोरी र पत्नीलाई खाना बोकेर अस्पताल पुगिहाल्छन् ।

प्रत्येक सर्जरीपछिको शारीरिक पीडा र त्यसपछि घाउ निको नहुन्जेलसम्मको छटपटी मुस्कानले आजसम्म पचाइसकेकी छन् । महिनौंसम्म अस्पताल बस्दाको अत्यास पनि पचाउँदै हिँडेकी छन् । तेजाब आक्रमणको घटनाले उनको अनुहारको नाप नक्सा मात्र बदलिदिएन, जीवन बुझाइ र समझ शैली पनि बदलिदियो ।

आक्रमणलगत्तैका दिनमा अस्पतालको पट्यारलाग्दो समय कटाउन मुस्कानलाई दकस थिएन । दैनिक भेट्न आउनेको ताँती हुन्थ्यो । पत्रकार, कलाकार, सेलिब्रिटीदेखि नेतासम्म उनलाई भेट्न को मात्रै पुगेनन् । सबैले माया र शुभेच्छा दिए । केहीले मनैदेखि सहयोग पनि गरे । समयसँगै शुभेच्छुकहरू आ–आफ्नै काममा हराए । मुस्कानले सुनाइन्, ‘सुरु–सुरुमा त कत्ति धेरै मान्छे हुन्थे । अहिले फाट्टफुट्ट मात्र आउँछन् । अनि म फुर्सदमा किताब पढछु ।’

उनले आफूले साहसी केटीका रूपमा चिनिएका अफगानी मलाला युसुफजाईको आत्मकथा ‘आईएम मलाला’ देखि सरुभक्तको ‘चुली’ उपन्यास, झमक घिमिरेको ‘जीवन काँडा कि फूल’ लगायतका दर्जन किताब पढेको सुनाइन् ।
उपचारका क्रममा मुस्कानको तिघ्रा र पेटको छाला निकाल्दै जलेको ठाउँमा टाल्न एकपछि अर्को अपरेसन भइरहेको छ । तेजाबले जलेको दाहिने कानलाई जोगाउने हर प्रयास सफल नभएपछि चिकित्सकले कान नै काटिदिए । एसिड पीडितका निम्ति काम गरिरहेका सामाजिक अभियन्ता उज्ज्वलविक्रम थापाले कान्तिपुरसँग भने, ‘ख्याल गर्नुस् त तपार्इंको छोरी गालामा एउटै मात्र पिम्पल आउँदा पनि कति निराश हुन्छे वा उदास हुन्छे । मुस्कानको अनुहारबाट त मुस्कान नै खोस्ने काम भएको छ । धन्न बलियो आत्मबलले आफूलाई सम्हालिरहेकी छन् ।’

मुस्कानको आत्मबल बलियो बनाउन भारतीय अभिनेता अमिताभ बच्चनले भिडियो सन्देश नै पठाए । अन्य भारतीय कलाकारले पनि स्वास्थ्य लाभको कामना गरे । गायक राजु लामादेखि पूर्वमिस नेपाल श्रृंखला खतिवडासम्मले उनलाई भेटे र हौसला दिए ।

अस्पतालको बेडमा दिन र रात काटिरहेकी मुस्कानलाई छपकैयाको यादले बेलाबेला खुब सताउँछ । स्कुले साथीहरू सम्झनामा आउँछन् । हजुरआमा जायदा खातुनको खुबै सम्झना आइरहन्छ । उनले सुस्तरी सुनाइन्, ‘फेसबुकमा मेरो फोटो हेरेर हजुरआमा खुबै रुनुहुन्छ रे । कहिलेकाहीँ रुँदै फोन पनि गर्नुहुन्छ ।’ रोइरहेकी हजुरआमासँग कुरा गर्दा मुस्कानको गलामा शब्द अड्किएजस्तो हुन्छ । उनले हजुरआमाको कुरा सुनाइन्, ‘अरू जे भए पनि जति खर्च लागे पनि अनुहारको दाग हटे हुन्थ्यो ।’

हजुरआमाले मुस्कानका निम्ति मस्जिदमा गएर प्रार्थना गरेकी छन् । आफ्ना गाउँले र साथीहरूले पनि यस्तै प्रार्थना गरेको मुस्कानले सुनाइन् । सहनाजले यही बेला भनिन्, ‘पूरै सन्चो भएपछि मुस्कानलाई लिएर राजस्थानको अजमेर सरिफमा च्यादर चढाउँछु भनेर भाकल गरेकी छु ।’ मनोकामनाका साथ मुस्लिम धर्म मान्नेहरू राजस्थानस्थित अजमेर सरिफको कब्रस्तानमा च्यादर चढाउने गर्छन् ।

मुस्कानले कैयन् सहयोगी हात भेटिन् । प्रदेश सरकारले पाँच लाख रुपैयाँ दियो । वीरगन्ज नगरपालिकाले तीन लाख दियो । गत ९ असोजमा केन्द्र सरकारले पनि तीन लाख दिने घोषणा सुनायो । समाजसेवी थापाले भने, ‘सम्झिनुस् त आफ्नो पदीय मर्यादाको ख्याल नेताहरू कति धेर गर्छन् । तर मुस्कानलाई सहयोग गर्ने काममा केन्द्र र प्रदेश सरकारले दिएको रकमको मर्यादा मिल्यो त ?’ खैर जसले जति सहयोग गरे पनि त्यही नै सहनाजलाई लाख भइदियो ।

केन्द्र सरकारले घोषणा गरेर गृह मन्त्रालयमार्फत पाउने भनिएको रकम भने सहनाजले पाएकी छैनन् । गत मंगलबार गृह मन्त्रालय पनि धाइन् । गृहका कर्मचारीले मुस्कानका बाबुको नागरिकता मागे । जुन केही समय अघि हराएको थियो । मुस्कानको जन्मदर्ताको कागज पनि उनीसँग थिएन । उनले आग्रह गरिन्, ‘म पनि जन्म दिने आमा नै हुँ, मेरै नाममा दिनुस् ।’ तर कर्मचारीले वीरगन्ज गएर मुस्कानसँगको नाता प्रमाणितको कागज बनाएर ल्याएपछि मात्रै दिन मिल्ने बताए । सहनाजले भनिन्, ‘अस्पतालमा छोरीलाई कुर्न छाडेर म कहाँ कागज बनाउन जाम ?’

२०७१ यता मुस्कान जस्तै १२ महिला र ३ पुरुष एसिड प्रहारको घटनामा परिसकेका छन् । एसिड आक्रमणको तारोमा परेकाहरू सबैले मुस्कानले जस्तै शारीरिक र मानसिक सास्तीको लामो बाटो हिँडेका छन् । ‘पीडितहरूको पीडाको गहिराइभन्दा संख्या गन्ने प्रवृत्तिले गर्दा एसिड आक्रमण जस्तो जघन्य अपराधीलाई कडा सजाय गर्नेतर्फ सरकार गम्भीर देखिँदैन,’ उज्ज्वलले भने, ‘तेजाब आक्रमणकारी कानुनी छिद्र प्रयोग गरेर खुलेआम हिँडिरहेछन् वा कम सजायमै छुट्ने सम्भावना देखिँदै छ ।’ उनको बुझाइमा तेजाब आक्रमणका घटनाले समग्र महिलालाई मानसिक त्रास सिर्जना गरेको छ ।

उज्ज्वलले केही समयअघि राजधानीका विभिन्न कलेजमा पढ्ने एक हजार छात्रालाई प्रश्न गरे, ‘तिमीले प्रेम सम्बन्ध टुटायौ भने प्रेमीबाट एसिड प्रहार होला भन्ने डर छ ?’ ७८ प्रतिशत अर्थात् ७८० छात्राले प्रेम सम्बन्धबाट पर हट्ने निर्णय गरे आफूमाथि पनि एसिड प्रहार होला कि भन्ने डर रहेको बताए । उज्ज्वलले यस्तै प्रश्न २ सय ३० जना छात्रलाई गरे । कुनै पनि छात्रले आफूले सम्बन्ध टुटाउँदैमा आफूमाथि केटीबाट एसिड प्रहारको घटना होला भन्ने डर नरहेको बताए ।

उनले प्रश्न गरे, ‘किन हाम्रा नानीहरू आफ्नो स्वतन्त्र निर्णयपछि पनि केटाबाट यस्तो भय पाल्छन् ?’ उनको प्रश्नको उत्तर शृंखलाबद्ध एसिड प्रहारका घटनाको अन्तर्य नियाल्दा भेटिन्छ । मुस्कानमाथि एसिड प्रहारको घटनामा उनले गरेको प्रेमको अस्विकारोक्ति जोडिएको थियो । त्यस्तै २०७१ फागुन १० गते काठमाडौंको वसन्तपुरमा सीमा बस्नेत र संगीता मगरमाथि जीवन परियारले एसिड प्रहार गरेका थिए । यो घटनामा पनि १० कक्षामा अध्ययनरत संगीताले जीवनको प्रेम अस्वीकार गरेपछिको प्रतिशोध भेटिन्छ ।

अधिकांश एसिड प्रहारका घटनाको अन्तर्यमा भेटिने एउटै समानता भनेको प्रेम अस्वीकार भएको बदलामा उत्पन्न प्रतिक्रिया नै हो । गत जेठको पहिलो साता कालोपुलमा डेरा गरी बस्ने २० वर्षीय जेनी खड्कामाथि एसिड प्रहार भयो । श्रीमान्सँग सम्बन्ध बिग्रेपछि आमासँग बस्दै आएकी जेनीमाथि उनका श्रीमान् विकास भनिने विष्णु भुजेलले एसिड छ्यापेका थिए ।

२०७५ असोज पहिलो साता आफूभन्दा तेब्बर उमेरका ५० वर्षीय रामबाबु पासवानले रौतहट चन्द्रनिगाहपुर ६ की १८ वर्षीया सम्झनाकुमारी दासमाथि एसिड छ्यापेका थिए । २०७५ असोजमै नवलपरासीको कावासोती १६ डन्डाकी २७ वर्षीया वसन्ती परियारमाथि छिमेकी ३७ वर्षीय विमल श्रीपालीले एसिड प्रहार गरे । एसिडबाट अनुहार जलेकी सम्झनाको कीर्तिपुरस्थित बर्न सेन्टरमा उपचारका क्रममा मृत्यु भयो । तर बाँचेकाहरूले भोगेको सास्ती र तिनका परिवारले बेहोरेको हैरानीको लामो शृंखला हामीसँग छ ।

एसिड प्रहार भएको घटना आठ महिना पुरानो भए पनि जेनीकी आमा कमलाको दु:खको चक्र सकिएको छैन । समय बित्दै जाँदा एसिडको असर शरीरका भित्री भागमा जसरी फैलिन्छ नि, हो त्यसैगरी उनका दु:ख फैलिँदै गएजस्तो लाग्छ । अरूको घरमा घरायसी काम गरेर बनिबुतो गर्दै आएकी एकल आमा कमलाको दिनचर्या पनि मुस्कानकी आमा सहनाजको जस्तै बिथोलियो । सहनाजलाई त रुने साथी श्रीमान् थिए तर कमलाले त्यो पनि पाइनन् ।

जेनीमाथि एसिड प्रहार भएको भोलिपल्ट महानगरीय प्रहरी वृत्त कमलपोखरीमा पीडिकविरुद्ध लिखित जाहेरी दिँदै थिइन् । त्यो दिन उनको अनुहार रुँदारुँदै थाकेजस्ता देखिएका थिए र उनी हतप्रभ थिइन् । आठ महिनापछि रातोपुलमा भेट्दा पनि उनको अनुहारबाट उदासीको रंग उडिसकेको थिएन । घटनापछिको डेढ महिनामा जेनीमाथि ६ वटा शल्यक्रिया गरियो । गत असोज दोस्रो साता फेरि दुईवटा शल्यक्रिया भयो । कमलाले सुनाइन्, ‘अझै कति अपरेसन गर्नै बाँकी छ ।’

१३ वर्षकी छोरी र नाति च्यापेर माइत बसेकी जेनीलाई उनले जेनतेन पालेकै थिइन् । तर घटनापछि उनलाई मुस्किल भयो । कमलाले सुनाइन्, ‘डेढ महिना त अस्पताल नै बसें ।’ नाति कसले हेरिदियोस्, सानी छोरीलाई खाना बनाएर कसले देओस् अनि छोरीको उपचारको निरन्तर प्रक्रियामा को सामेल होस् ?

३ वर्षको नातिलाई उनले एउटा सामाजिक संस्थामा हुर्काउन दिएकी छन् । जेनीको उपचार प्रक्रिया अझै जारी छ । कमलाका अनुसार जेनी प्रत्येक साताको केही दिन चण्डोलस्थित एक फिजियोथेरापीमा धाइराख्नुपर्छ । उनले सुनाइन्, ‘अझै पनि छोरीलाई गर्धन चलाउन गाह्रो हुन्छ । पोलेको ठाउँको नसा फुलेर आउँछ ।’

डेढ महिना अस्पताल बसेर डिस्चार्ज भएपछिका दिनमा उनी जिन्दगीको पुरानै लयमा फर्किन खोजिरहेकी छन् । तर कसरी पो सकिएला र ? उनले उपचारका नाममा चार लाखभन्दा धेरै खर्च भइसकेको हिसाब सुनाइन् । यो बीचमा केन्द्र सरकारले दिएको तीन लाख त बुझिन् तर आफ्नी छोरीजस्तै पीडित मुस्कानलाई प्रदेश २ सरकारले दिएजस्तै राहत आफ्नो प्रदेशले किन नदिएको होला भन्ने पनि खसखसी लागिरह्यो । भनिन्, ‘घटना भएपछि त सबै क्यामेरा र माइक बोकेर आए । तर अहिले सबैले बिर्सिए ।’

१४ वर्षकै उमेरमा अल्लारे उमेरकी छोरीलाई विकास भनिने विष्णु भुजेलले ललाइफकाई भगाउँदा पनि उनले सहेकै थिइन् । सौता हाल्ने गरी विकासले झुक्काएर छोरीलाई भगाएको थाहा पाउँदा पनि उनले मन बाँधेकै थिइन् । अनि १५ वर्षमै छोरीले नाति जन्माउँदा पनि चुपचाप स्विकारेकै थिइन् । तर त्यही केटोले आफूले दु:ख सुखले हुर्काएको छोरीलाई एसिड छ्याप्दा भने उनले सहन सकिनन् । त्यसैले त उनी घटनाको कैयन् दिनसम्म अनिँदै भइन् । आँखा ओसिलो भइरह्यो । यतिबेला उनलाई ती सबै कुराले भन्दा छोरीको चरित्रमाथि नै प्रश्न गर्ने र उनीमाथि नै शंकालु नजरले हेर्ने केही आफन्ती र चिनारुहरू देखेर दिग्दार लाग्छ ।

सबै जे भयो भयो उनले सहेकै छिन् । भोगेकै छिन् । तर एउटा प्रश्नले उनको मन खाइरहन्छ । कमलाले मधुरो स्वरमा सुनाइन्, ‘त्यो अपराधी जेल त पुग्यो । तर केही वर्षमै छुटेर आइहाल्छ । छुटेपछि के त्यसले हामीलाई बाँकी राख्ला ?’

उज्ज्वलसँग पनि एउटा प्रश्न छ । प्रश्न गर्नुअघि उनले औसतमा प्रत्येक सय दिनको अन्तरमा एउटा एसिड प्रहारको घटना हुने गरेको सुनाए । उनले मुस्कानमाथि एसिड छ्यापिएको घटनापछिको समय गने र भययुक्त स्वरमा सुनाए, ‘सय दिन त कट्यो नै । अब फेरि कुनचाहिँ मुस्कानमाथि एसिड छ्यापिने हो !’ कान्तिपुर दैनिकमा खबर छ ।

Leave a Reply