म्याग्दीको सदरमुकाम बेनीमा केन्द्रिय कार्यालय रहेको शालीग्राम लघुवित्त वित्तिय संस्था लि.ले गण्डकी प्रदेशभित्र ५ वटा शाखा विस्तार गरेको छ । लघुवित्त कर्जाको लगानी महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउने उद्देश्यले स्थापना भएको संस्थाले ३५ वटा केन्द्रमार्फत ६२ वटा समुहमा रहेका २५६ सदस्यलाई १ करोड ६५ लाख ३७ हजार लगानी गरेको जनाएको छ ।

संस्थाले मंगलबार बेनीमा आयोजित पत्रकार सम्मेलनमा २०७६ साल भदौ ३ गतेदेखि कारोबार सुरू गरेकोमा छोटो समयमै शाखा सहित समुहमार्फत लगानी सुरू गरिएको संस्थाका अध्यक्ष कृष्णबहादुर थापाले जानकारी दिनुभयो। उहाँका अनुसार नेपाल राष्ट्रबैंकको मर्जरको आक्रमण निति, लघुवित्तीय संस्थाको प्रतिस्पर्धा, लघुवित्त प्रतिका केही नकारात्मक धारणा चुनौती भएपनि गण्डकी प्रदेशभित्रका सबै जिल्लामा शाखा विस्तारको योजना रहेको बताउनुभयो । तत्काल मर्जर जाने योजना छैन्,‘समुदायमा विश्वास जित्ने गरी सेवा विस्तार गछौ’ अध्यक्ष थापाले भन्नुभयो ।

उहाँले लघुवित्तको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गदैं लघुवित्तमार्फत कर्जाको सदुपयोग गर्न आर्थिक हैसियत समान भएका महिला आवद्ध गराएर गरिबी निवारणमा प्रभावकारी औजार बन्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । सोही अवसरमा लघुवित्तका प्रमुख प्रशासकीय अधिकृत मनोजप्रसाद निरौलाले धितो राख्नु नपर्ने, निश्चित ब्यक्तिको समुह बनाएर कर्जा प्रवाह गरिने वित्तिय सेवा भएकाले २ देखि ४० जनाको समुहमा न्यूनतम प्रतिब्यक्ति १ हजारदेखि ३ लाखसम्म लगानी गरिएको बताउनुभयो ।

१८ प्रतिशत ब्याजदरमा लघवित्त कर्जा प्रवाह गरेकोमा ३३ प्रतिशत कृषि तथा अन्य साना ब्यवसायमा रहेको उहाँको भनाई छ । संस्थाको अधिकृत पूँजी ५ करोड, चुक्ता पूँजी २ करोड ५१ लाख रहेको छ भने विभिन्न बैंक तथा वित्तिय संस्थाबाट ३ करोड २५ लाख कर्जा लिएको छ । पर्वतको जलजला गाउँपालिका, पर्वत बेनी, कास्कीको लाहाचोक, तनहुँको खैरेनीटार, पूर्वी नवलपुरको प्रगतिनगर र शर्दी बजारमा शाखा रहेको वित्तिय संस्थाको चौमासिक आर्थिक प्रतिवेदनमा १८ लाख ३८ हजार घाटा रहेको छ ।

समुहलाई कर्जा सहित वित्तिय शिक्षा समेत प्रदान गर्ने शालीग्राम लघुवित्त वित्तिय संस्थाले जनाएको छ । पत्रकार सम्मेलनको अध्यक्षता तथा जानकारी अध्यक्ष थापा, सञ्चालक समितिको सदस्य ज्ञानेन्द्र प्रसाद सुबेदीले सञ्चालन गरेको उक्त कार्यक्रममा सञ्चालक सन्तोष रावल, दलबहादुर जिसी, अर्जुन बहादुर थापा लगायत संस्थापक शेयरहरुको उपस्थिती रहेको थियो ।