अझैं घरभित्रै सुत्केरी

0

म्याग्दीको मालिका गाउँपालिका–३,रुम पात्लेकी एक गर्भवति महिलाले एकपटक पनि स्वास्थ्यचौकीमा गर्भ चेकजाँच गर्न आइनन्। भौगोलिक रुपमा विकट रहेको पात्लेबाट स्वास्थ्य चौकीसम्म पुग्न दुईघण्टाको पैदलयात्रा गर्नुपर्ने झन्झट तथा जनचेतनाको अभावका कारण चार पटक गर्भजाँच गर्नुपर्ने भएपनि घरमै सुत्केरी भईन्।

गर्भावस्थामा नियमित जाँच गराउनुपर्ने सचेतनाको अभावका कारण रुममा गरिबी तथा गर्भवति महिलाले घरमै बच्चा जन्माउने गरेका छन् । गाउँपालिकाको वडा २ र ३ मा अवस्थित रुमको जेम,बेली,पात्ले,औलाखर्क लगायतका क्षेत्रमा गतबर्ष ७ जनाले सिकिस्त अवस्थामा स्वास्थ्यकर्मीलाई बोलाएर घरमै बच्चा जन्माएको रुम स्वास्थ्यचौकीकी अनमी धनमायाँ पुनले बताईन्।

गर्भावस्थामा पनि स्वास्थ्य चौकी आउनुहुदैन्,‘जटिल अवस्थामा घरमै पुगेर सुत्केरी र शिशुको ज्यान जोगाउन सफल भएका छौ’ पुनले भनिन् । गर्भजाँच गर्न लाज मान्ने महिलाहरुले घरमै असुरक्षित तवरबाट बच्चा जन्माउने प्रयासलाई न्यूनिकरण गर्ने अभियानलाई तिब्रता दिएको अनमी पुनले बताईन् ।

स्वास्थ्य चौकीमा चार पटक गर्भजाँच गरेको, गर्भवतीले टिटी खोप लगाएको, नियमित रुपमा आइरन चक्कीका साथै स्वास्थ्यकर्मीको सुझावप्रति सचेत हुनेको संंख्या ह्वात्तै बढेपनि विकट गर्भवति महिलालाई लक्षित गरी आयोजना गरिएका कार्यक्रमहरुलाई खासे चासो नदिनेले घरमै जोखिम मोलेर बच्चा जन्माउन चाहनेगरेको स्वास्थ्यकर्मीको भनाई छ। गतबर्ष वडा नं २ र ३ मा ४० जना गर्भवतिले स्वास्थ्यचौकीमै आएर शिशुको जन्म दिएका थिए ।

स्वास्थ्यकर्मीले पोसिलो आहारमा जोड दिए पनि अभावकै कारण व्यवहारमा उतार्न सम्भव नभएकाले विपन्न महिलालाई आहाराको माग गर्ने गरेका छन् ।परम्परागत विधि प्रयोग गरेर सुत्केरी गराउँदा आमा र शिशु दुवैको ज्यान खतरामा हुने भएकाले जनचेतनामु्लक कार्यलाई तिब्रता दिइएको मालिका गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ।गाउँपालिका भित्रका विकट बस्तीहरुसम्म पुग्ने गरी विभिन्न सेवासुविधालाई प्राथमिकता दिइने गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालुले बताईन् ।

मातृ मृत्युदर, नवजात शिशु मृत्युदर कम गरी संस्थागत सुत्केरीको संख्या बढाउने अभियानले सघाउने उपाध्यक्ष विटालुले बताईन् ।‘घरघरमा झण्डा, हातहातमा अण्डा’ कार्यक्रमले गर्भवति महिलालाई प्रोत्साहन गरेको छ । गर्भवती महिलाहरुको स्वास्थ्य अवस्थाको जानकारी लिनकोे लागि मोबाईलबाट समेत सन्देश प्रवाह,गर्भजाँच गरे नगरेको सूचना स्वास्थ्य संस्थामा अभिलेख राख्ने जस्ता प्रविधिलाई समेत प्राथमिकता दिएको गाउँपालिका उपाध्यक्ष बिटालुको भनाई छ ।

बिकले ज्यान गुमाईन्, चलदेबीले दुई सन्तान
गएको कात्तिक महिनामा धवलागिरी गाउँपालिका–२ लुलाङकी ३० वर्षीया सतिकला विकको प्रसूतिपछि अत्यधिक रक्तचापका कारण मृत्यु भयो ।लुलाङ स्वास्थ्यचौकीमा छोरालाई जन्म दिएकी विक स्वास्थ्यचौकीमा चेकजा्ँचपछि सामान्य अवस्थामा घर गएकी विक बेहोस भएपछि ज्यान गएको थियो ।धवलागिरी गाउँपालिका–३, मुनाकी चलदेवी बिकलाई पहिलो बच्चा घरमै मृत्यु भयो । दोस्रो बच्चा गरिबीकै कारण बिकले असुरक्षित तरिकारबाट डेढबर्षपछि जन्माएको अर्को बच्चा पनि खेर गयो ।

प्रसुतीको चरणमा पुगेपछि स्वास्थ्य चौकी वा अस्पतालमा ल्याउनुपर्ने ज्ञानको अभावले घरभित्रै बच्चा जन्मिएपछि पुरानो कपडा बेरेर शिशुलाई बेनी अस्पतालमा ल्याएपछि चिकित्सकको टोलीले प्रयास गरेपनि शिशुलाई बचाउन सकेनन् । अन्ततः चिकित्सकले मृत घोषित गरेपछि करिव डेढबर्षको अन्तरालमा चलदेबीले दुई सन्तान गुमाईन्।

उनी गाउँबाट पर्वत बेनीमा बस्ने गरेपनि बच्चाको अवस्था सिकिस्त भएपछि मात्रै बेनी अस्पतालमा पुगेकी थिईन् । जिल्लाको विकट बस्तीहरूमा अझैपनि बर्थिङ सेन्टर सहितको सुविधाको महत्वका बारेमा ब्यापक प्रचारप्रसार हुन सकेको छैन्। गर्भवती महिलालाई स्वास्थ्यचौकीमा सुरक्षित सुत्केरी सेवा लिएबापत यसै आर्थिक वर्षबाट १ हजार ८ सय सहित विविन्न सुविधा उपलब्ध गराउने गरेको भएपनि सुविधका बारेमा विपन्नको घरदैलोमा सन्देश पुग्न सकेको छैन् ।

बेनी अस्पताल सहित जिल्लाका विभिन्न गाउँपालिका भित्रका स्वास्थ्य चौकीमा रहेको बर्थिङ सेन्टरसम्म पुग्न नसक्ने महिलाहरुलाई स्वास्थ्यकर्मीकै उपस्थितीमा प्रसुतीको सुविधाको प्रबन्ध मिलाउनुपर्नेमा जोड दिइएको छ । धवलागिरी गाउँपालिका भित्रका सबै वडामा बर्थिङ सेन्टर भएपनि मालिकाको निस्कोट, ओखरबोट र बिम, मंगला गाउँपालिकाको बावियाचौर, रघुगंगा गाउँपालिका बेगखोला, दग्नाम, चिमखोला, कुईनेमंगले र अन्नपूर्ण गाउँपालिकाको दोबा, नारच्याङ र दानाबाट छिमेकी वडामा रहेको स्वास्थ्य चौकीमा जानुपर्ने बाध्यता रहेको छ ।

Leave a Reply