बिहान उठेर खोरमा जानु । बाख्रालाई खोर बाहिर सार्नु । कुँडोफाँडो खुवाउनु । घाँस दिनु । खेतबारीमा चराउन लैजानु र बेलुका साँझ पर्न थालेपछि खोरमा ल्याउनु । दिनभरी बाख्राकै स्याहारसुसारमा व्यस्त हुनु । यस्तो दैनिकी हो, एक बाख्रापालक कृषकको । म्याग्दीको बेनी नगरपालिका–५, डडुवाका राजु केसी अहिले बाख्रापालनमा व्यस्त देखिन्छन् ।

दुईवटा बाख्रा घरको पिँडीमा पालेर बाख्रापालन व्यवसाय सुरु गरेका उनले २०७२ सालबाट व्यवसायिक रुपमा बाख्रापालनमा प्रवेश गरेका थिए । गाउँबाट सुविधाको खोजीमा विदेशिए पनि उनले बाख्रापालन व्यवसाय भने छाडेनन् । घर आँगन आसपासका क्षेत्रमा बाख्रापालनलाई विस्तार गर्दै केसीले गाउँमै व्यवसायिक बाख्रापालनमा आफ्नो छबि बनाए ।

दुईवटा बाख्राबाट व्यवसायमा प्रवेश गरेका केसीसँग अहिले उन्नत जातका बोकालगायत गरी कुल ५५ ओटा बाख्रा रहेका छन् । बाख्रापालन व्यवसायबारे जानकारी दिँदै केसीले भने, ‘अवसरको खोजीलाई बाख्रापालनले छेक्यो, ‘बाख्रापालनबाट सन्तुष्ट छु ।’ साना–ठूला गरी खोरमा १५ वटा बोयर जातका बोका र बाख्रासहित खरी, जमुनापारीलगायत जातका बाख्रा रहेको उनले जानकारी दिए । ४५ हजार र ३२ हजारका दुईवटा बोयर बोका पालेका उनले बोयर बाख्रापालनलाई प्राथमिकता दिएकाले खोर विस्तार गरेका छन् ।

बाख्रापालनमा धेरै दुःख भए पनि लगानी अनुसारको आम्दानी प्राप्त गर्न आफू सफल भएको केसी बताउँछन् । ‘छोराछोरीको शिक्षादिक्षासँगै घरखर्च पुगको छ’ उनले भने, ‘केही वर्षभित्रै बोयरको नमुना केन्द्र बनाउने प्रयासमा छु ।’ म्याग्दीसहित विभिन्न ठाउँबाट बोयर जातका पाठापाठीको माग आउन थालेको बताउँदै उनले एक वर्षमा मात्रै व्यवसायिक बाख्रापालनबाटै चारलाख रुपैयाँको हाराहारीमा आम्दानी हुने गरेको बताएका छन् । उनले बाख्राको मलमुत्र सङ्कलन गर्ने र तरकारी खेतीमै उपयोग गर्ने गरेका छन् । कृषक केसीले व्यवसायिक बाख्रापालनबाट आफू सन्तुष्ट रहेको बताउँदै भने, ‘पैसा कमाउनकै लागि विदेश जानुपर्देन ।’ ‘स्वदेशमै बसेर पनि केही गर्न सकिन्छ’ उनले थपे ।

बाख्रापालक कृषकले सामुदायिक वनलाई वार्षिक शुल्क तिरेर चरन क्षेत्रमा लैजाने गरेपनि आफ्नै जमिनमा नेपियर, स्टाईलो, सुडान, किम्बु, कुटमिरो, ईपिल, बकाइनोलगायत प्रजातिका घाँस खेतीका बिरुवा लगाएका छन् । बाख्रापालनलाई व्यवस्थित गर्न थप १६ रोपनी जग्गामा घाँस खेती गरेकाले यसलाई बढाउने उनको योजना छ । उन्नत जातका बाख्रासँगै स्थानीय बाख्राको समेत माग धेरै रहेको बताउँदै उनले बाख्रापालनबाट परिवारको जीवनस्तरमा सुधार ल्याउन सकिने कृषक केसीसँग अनुभव छ ।

पछिल्लो समय हिमाली जिल्ला म्याग्दीमा व्यवसायिक पशुपालनतर्फ लाग्ने युवाहरुको सङ्ख्या बढ्दै गैरहेको छ । विदेशबाट फर्किएका वा विदेश जान लागेका युवाहरु समेत व्यवसायिक रुपमा कृषि, पशुपालन, माछापालन, फलफुल लगायतका खेतीतर्फ आकर्षित भएर लागेका छन् । व्यवसायिक खेतीतर्फ आकर्षित भएर लागेका युवा कृषकहरुलाई लक्षित गरेर राज्यका निकायले अनुदान, तालिम, गोष्ठी, उपकरण सहयोग जस्ता कार्यक्रमहरु ल्याउन आवश्यक छ ।