सुन्तलाको पकेट क्षेत्र मानिएको बेनी नगरपालिका–४, बास्कुनामा सुन्तला बिक्रीबाट गाउँमा ३० लाखभन्दा बढी नगद भित्रिएको छ । डेढदशक अन्नबालीको विकल्पमा व्यावसायिक सुन्तलाखेती विस्तार गरेका स्थानीय कृषकले उत्पादन गरेको सुन्तलाको बोटमै ब्यापारी पुगेपछि यसबर्ष ३३ लाख बराबरको सुन्तला बिक्री भएको कृषकले बताएका छन् । कुनैबेला कोदो फल्ने बारी र धान फल्ने खेत मासेर बास्कुनाबासीले विस्तार गरेको सुन्तलाको उत्पादन समेत बढेपछि कृषकलाई उत्साहित भएका छन् ।

बास्कुनामा लटरम्म फलेको सुन्तलाबाट २४ कृषकले घरमै नगद बुझेको स्थानीय अगुवा कृषक तिलक गुरुङले बताए । पोखराबाट आएका ब्यापारीले बोटमै खरिद गरेपछि स्थानीय लालबहादुर केसीको ६ लाख ५० हजार, तिलक गुरूङ ६ लाख, देउ बहादुर हुमेन ५ लाख, नर बहादुर केसी ३ लाख ५० हजार, मन बहादुर खत्री २ लाख ५० हजार, जसबहादुर थापा २ लाख, शेरबहादुर केसी २ लाख लगाएय न्यूनतम २५ हजारसम्मको सुन्तला बजारमा पुगेको कृषकको भनाई छ । आगामी बर्ष करिव ५० लाखको सुन्तला विक्री हुने अनुमान गरिएको छ ।

तीनबर्षभित्र २० हजार बोटले फल दिने बताउँदै केहीबर्षभित्र गाउँबाटै करोडभन्दा बढीको सुन्तला विक्री गर्ने गरी नयाँ बिरुवाहरु विस्तार गरिएको छ ।  स्वादिलो, गुणस्तरीय र गुलीयोपन भएका पनि स्थानीय बजारमा समेत उच्च माग छ । जिल्लाका ६ वटै स्थानीय तहको ७ सय १० हेक्टर जमिनमा सुन्तला खेती भइरहेकोमा यसबर्ष २ सय ८० हेक्टरबाट २ हजार ३१० मेट्रिक टन सुन्तला बिक्री हुने अनुमान गरिएको छ । ज्ञान केन्द्रले स्थानीय तहसंग सहकार्य गरी पकेट क्षेत्रमा बगैचा विस्तार,सुधार, पुराना बोटको मर्मत, सुन्तला ढुवानीमा सघाउने गरेको छ ।