रोल्पाका १४ बर्षिय जेवलाल विक एकबर्षको तलब माग्दै धर्नामा

0

रोल्पाको सुनछहरी गाउँपालिकाका १४ बर्षिय जेवलाल विक बुधबार म्याग्दीको जिल्ला प्रशासन कार्यालय अगाडी धर्नामा भेटिए। विभिन्न माग राखिएका प्ले कार्ड सहित मजदुरको भीडमा भेटिएका विकका उमेरका साथीहरू विद्यालयमा पढ्दै छन् । चरम विपन्नताका कारण सानै उमेरमा विद्यालय छोडेर म्याग्दी हानिएका बिक विगत एकबर्षदेखि बेनी–जोमसोम–कोरला सडकमा जाली मुन्ने काममा खटिएपनि तलब पाएका छैनन् ।

घरमा एक बहिनी र बुबालाई आवश्यक पर्ने खर्च जुटाउन गाउँलेसँगै विहानदेखि साँझसम्म सडकमा मजदुरी गर्ने विकले शर्मा यूनाईटेड जेभीबाट तलब नपाएपछि बहिनी र बुबालाई समेत फोन गरेका छैनन् । ‘काम गरेको पैसा नै पाएको छैन्,‘धेरै पटक भोकै सुतेको छु’ विकले बेनीअनलाइनलाई भने ।उनले बहिनीको शिक्षादिक्षाका लागि समेत आफुँले सडकमा काम गर्न आएको बताए । ‘तलब पाएपछि यहाँ काम छोडेर अर्को ठाउँमा जान्छु,‘अब तलब नपाई घरमा जाने अवस्था छैन’ विकले भने ।

सरकारले बालबालिकालाई आधारभुत आवश्यकता सहित शिक्षादिक्षामा प्राथमिकता दिइरहेको अवस्थामा विकले घरको आर्थिक अवस्थाले विद्यालयको ठाउँमा सडकमा जाली बुन्ने काममा खटिएपनि ठेकेदार कम्पनीले समयमै तलब नदिदाँ घरजाने पैसा समेत नभएर अलपत्र परेका छन् । शर्मा यूनाईटेड जेभीले जिम्मा लिएको सडकखण्डमा कार्यरत मजदुरलाई विगत ६ महिनाको तलब भुक्तानी नगरेपछि बुधबार जिल्ला प्रशासन कार्यालयको गेटमा धर्ना बसेर तलब सुविधा माग गरेका छन् ।

मजदुरले विगत ६ महिनाको तलब १ करोड ११ लाख नपाएपछि सडकखण्ड अन्तरगत बेगखोलाको तिप्ल्याङदेखि भुरुङ तातोपानीसम्म प्रर्दशन गदैं कम्पनीको कार्यालयमा तालबन्दी गरेको मजदुर संगठन जिफन्ट म्याग्दीका सचिव अर्जुन रानाले बताए । सडकमा कार्यरत ६० जना मजदुरको १ करोड ११ लाख शर्मा यूनाईटेड जेभीबाट भुक्तानी गर्न बाँकी छ ।
मजदुरले तलब नपाएसम्म आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।

यता प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले मजदुरको माग जायज भएको बताउँदै तलबका लागि पटकपटक भएको सहमति कार्यान्वयन नभएको बताए । ७६ किलोमिटरको बेनी–जोमसोममा चारवटा र ११० किलोमिटर दूरीको जोमसोम–कोरला खण्डमा सातवटा प्याकेज बनाएर निर्माण कार्य अघि बढाइएको छ । गण्डकी प्रदेशको लाइफ लाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्डमा शर्मा यूनाईटेड जेभीको प्रगति समेत निराशजनक छ।

Leave a Reply