दुवै मृगौला खरावी भएपछि उपचारमा आर्थिक अभावमा उपचारमा समस्या भइरहेका एक यूवालाई १० लाख सहयोग गरिएको छ । जिल्लाको मंगला गाउँपालिका–५ नेटाका मृगौला पीडित २१ वर्षीय सुरेश छन्त्यालको उपचारमा अर्मन समाज काठमाण्डौ र मगर समाज काठमाण्डौको पहलमा संकलन गरिएको १० लाख शुक्रबार बेनीमा एक कार्यक्रम गरी हस्तान्तरण गरिएको छ ।

परोपकारी संस्था ओमकुमारी शान्ति कोषको कार्यालयमा आयोजित कार्यक्रममा समाजका अध्यक्ष टंकप्रसाद बुढाथोकीले कोषका अध्यक्ष राजेश शाक्य,सुरेशकी आमा सिता पाईजा र ठुलोबुबा हिमप्रसाद छन्त्याललाई सहयोग हस्तान्तरण गनुभएको हो । सहयोग हस्तान्तरणमा बोल्दै समाजका अध्यक्ष बुढाथोकीले समाजमार्फत संकलन गरिएको आर्थिक हस्तान्तरण गरिएको बताउँदै मृगौला प्रत्यारोपणको कार्यमा सहज हुने बताउनुभयो ।

Gepostet von बेनीअनलाइन – Benionline.com.np News am Freitag, 3. Januar 2020

सोही अवसरमा कोषका संस्थापक अध्यक्ष चन्द्रकुमार केसीले मृगौला पीडित छन्त्यालको अभिभावकको मृगौला म्याच नभएको जानकारीसँगै थप उपचारका लागि भारत लैजानुपर्ने बताउनुभयो । सहयोग हस्तान्तरण कार्यक्रममा मंगला मावि बावियाचौरका पूर्व बिब्यस अध्यक्ष चन्द्रप्रसाद बुढाथोकी लगायतको उपस्थिती रहेको थियो ।

कोषका अध्यक्ष शाक्यले छन्त्याललाई आवश्यक पर्ने डोनरको खोजीसँगै प्रत्यारोपण र नियमित औषधी सेवनमा खर्च गरिने बताउनुभयो । कलिलै उमेरमा मृगौलाले काम नगरेको जानकारी पाएलगत्तै कोषमार्फत अभियान सुरु भएको थियो । सहयोग हस्तान्तरण कार्यक्रमको अध्यक्षता अध्यक्ष शाक्य, स्वागत प्रथम उपाध्यक्ष हरिकृष्ण गौतम र सञ्चालन सहसचिव सन्दिप खत्रीले गर्नुभएको थियो । सोही अवसरमा अर्मन समाज काठमाण्डौका अध्यक्ष बुढाथोकीले आजिवन सदस्यता लिनुभएको थियो ।

विज्ञापन