म्याग्दी बहुमुखी क्याम्पसको २९औं वार्षिकोत्सव तथा १९औं क्याम्पस सभा (फोटो फिचर)

0

म्याग्दी बहुमुखी क्याम्पसको २९औं वार्षिकोत्सव तथा १९औं क्याम्पस सभा सुरु भएको छ । ‘सफल जीवनका लागि गुणस्तरीय शिक्षा’ भन्ने मूल नारासहित शुक्रबार एक समारोहकाबीच २९औं वार्षिकोत्सव तथा १९औं क्याम्पस सभा सुरु गरिएको हो ।

म्याग्दी बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष बालकृष्ण सुवेदीको अध्यक्षतामा सुरु भएको २९औं वार्षिकोत्सव तथा १९औं क्याम्पस सभाको गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले उद्घाटन गरिन् । क्याम्पस सभामा बोल्दै पूर्व सांसद रेशमबहादुर बानियाँले म्याग्दी बहुमुखी क्याम्पसको दीगो विकासका लागि सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । गण्डकी प्रदेश सभा सदस्य विनोद केसीले म्याग्दी क्याम्पसको विकासका लागि प्रदेश सरकारमार्फत आवश्यक पहल गर्ने बताउँदै भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्ने बताएका छन् ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले समाजमा देखिएका सामाजिक बिकृति तथा विसङ्गति न्युनीकरणमा म्याग्दी क्याम्पसले पनि आवश्यक भूमिका खेल्नुपर्ने बताउँदै भौतिक संरचनालगायत हरेक दृष्टिकोणले क्याम्पसको विकास भैरहेको बताए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीका सचिव हरिकृष्ण श्रेष्ठले क्याम्पस सञ्चालन गर्न अझै चुनौती रहेको बताए । नेपाली कांग्रेसका उपसभापति माधवप्रसाद रेग्मीले क्याम्पसको उन्नतिका लागि सबैको देन रहेको बताए ।

वार्षिकोत्सवको अवसरमा सामाजिक विकास मन्त्री नरदेवी पुनले गण्डकी प्रदेशको आर्थिक सहयोगमा क्याम्पसमा हालै निर्माण गरिएको क्याम्पस सभाहलको समेत उद्घाटन गरेकी छिन् । २०४८ साल पुस १८ गते स्थापना भएको म्याग्दी बहुमुखी क्याम्पसमा अहिले कुल १ हजार ३१ जना विद्यार्थीहरुले अध्ययन गर्दै आइरहेका छन् । शिक्षा, मानविकी र व्यवस्थापन सङ्कायमा कक्षा ११ देखि स्नातक तहमा बिहान र दिवा तथा स्नातकोत्तर तहमा पढाई हुँदै आएको छ।

कार्यक्रममा क्याम्पसका भूतपूर्व अध्यक्ष सुवासकुमार श्रेष्ठ, अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवाल, पब्लिक प्राध्यापक संघ म्याग्दी बहुमुखी क्याम्पसका सभापति नारायणप्रसाद सुवेदी, पूर्व विद्यार्थी मञ्चका सचिव अर्जुन पौडेल र स्वतन्त्र विद्यार्थी युनियनका कार्यवाहक सभापति ईश्वर सुवेदीले मन्तव्य राखेका थिए । क्याम्पसका उपाध्यक्ष सोमनाथ ढुङ्गानाले स्वागत गरेको कार्यक्रममा क्याम्पस प्रमुख टिकाराम सापकोटाले वार्षिक र सहायक क्याम्पस प्रमुख श्रीधर सुवेदीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

क्याम्पस सभाको अवसरमा क्याम्पसमा स्थापना गरिएका संगिता बानियाँ (राम्जाली) छात्रवृत्ति स्मृति कोष, पबि बलभद्र थापा छात्रवृत्ति स्मृति कोष, कलावर्ती छात्रवृत्ति स्मृति कोष र दलबहादुर खत्री स्मृति छात्रवृत्ति कोष तथा क्याम्पसको तर्फदेखि गत शैक्षिक सत्रमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरुलाई नगद एवं प्रशंसापत्रले पुरस्कृत गरिएको थियो । उक्त कार्यक्रममा विद्यार्थीहरुले नृत्य र नाटक प्रस्तुत गरेका थिए ।

Leave a Reply