गण्डकी प्रदेशमा जडिबुटी प्रशोधन केन्द्र बनाउँदैछौं– मन्त्री पुन

0

गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले प्रदेशभित्र रहेको जडिबुटीको उपयोग गर्नेगरी प्रशोधन केन्द्र बनाउन लागिएको बताएकी छिन् । शनिबार म्याग्दी उद्योग वाणिज्य संघको २६औं वार्षिक साधारण सभाको बेनीमा उद्घाटन गर्दै उनले प्रदेश सरकारमार्फत जडिबुटी प्रशोधन केन्द्र निर्माणको तयारी थालिएको बताएकी हुन् ।

मन्त्री पुनले गण्डकी प्रदेशका सबै जिल्लामा पर्याप्त जडिबुटीको भण्डार रहेको बताउँदै जडिबुटीको सङ्कलन, प्रशोधन र बजारीकरणका लागि जडिबुटी प्रशोधन केन्द्र बनाइने बताइन् । उनले जडिबुटी प्रशोधन केन्द्र स्थापना गर्न जग्गाको खोजी गरिए पनि जग्गा पाउन समस्या भैरहेको बताउँदै प्रशोधन केन्द्र पिपिए मोडेलमा निर्माण गरिने हुँदा निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने बताएकी छिन् ।

आयातलाई प्रतिस्थापन गर्न नसके व्यक्ति धनी बन्न नसक्ने बताउँदै मन्त्री पुनले उत्पादनको विविधिकरण गरी अर्गानिक उत्पादनको प्रयोगमा जोड दिन आवश्यक रहेको बताइन् । उनले पछिल्लो समय गाउँघरमा समेत बजारको खाना तथा खाजाको प्रयोग बढ्दै गैरहेको भन्दै स्थानीय उत्पादनको प्रोत्साहन र बजारीकरण गर्नुपर्नेमा जोड दिइन् ।

उद्योग वाणिज्य संघले विभिन्न किसिमका सिपमूलक तालिमका साथै कृषि उपजको उत्पादन र प्रयोगमा जोड दिन पहल गर्नुपर्ने उनको भनाइ छ । सामाजिक विकास मन्त्री पुनले आफ्नो मन्त्रालय शिक्षासम्बन्धी नीति र ऐन बनाउन लागिपरेको बताउँदै युवा पलायन रोक्न प्रदेशभित्र गण्डकी विश्वविद्यालय स्थापनाको तयारी गरिएको जानकारी दिइन् ।

उनले गण्डकी प्रदेशभित्र कक्षा १ मा भर्नादर ७० हजार रहेपनि स्नातक तह चौथो वर्षमा पुग्दा २७ हजारमा झरेको भन्दै बिचमा रहेको विद्यार्थीको खोजी गरेर उनीहरुलाई सिपमूलक रोजगार दिन स्याङ्जामा गण्डकी प्राविधिक प्रतिष्ठान बनाउन लागिएको बताएकी थिइन् । स्थानीय स्रोतसाधनलाई एकीकृत गर्न र बसाइसराइलाई रोक्न नमुना आवासीय विद्यालय स्थापनाको अवधारणा अगाडि सारिएको मन्त्री पुनले बताइन् ।

गण्डकी प्रदेशको ३६ ओटै निर्वाचन क्षेत्रमा नैतिक शिक्षा पढाउने उद्देश्यसहित आदर्श विद्यालयको परिकल्पना गरिएको बताउँदै मन्त्री पुनले खेलकुद र सङ्गीतलाई पनि प्राथमिकता दिइएको बताएकी छिन् । उनले म्याग्दी जिल्लामा २ ओटा नमुना आवासीय, २ ओटा विशेष र २ ओटा आर्दश विद्यालय स्थापना गरिने बताउँदै सुरुङमार्ग बनाउन आवश्यक पाठ्यक्रम निर्माण र जनशक्ति उत्पादनका लागि छलफल चलाइएको बताइन् ।

नैतिकवान् र राष्ट्रलाई योगदान दिन सक्ने नागरिक उत्पादन गर्न संस्कारयुक्त शिक्षा दिन आवश्यक पहल थालिएको उनले बताएकी छिन् ।कार्यक्रममा पूर्व सांसदद्वय नवराज शर्मा र रेशमबहादुर बानियाँले देश विकासमा निजी क्षेत्रको पनि योगदान रहेको चर्चा गरेका थिए ।

गण्डकी प्रदेशका सदस्य विनोद केसीले उद्योगी व्यवसायीले नीतिनियम अनुसार आफ्नो पेशा व्यवसाय सञ्चालन गर्नुपर्ने र राज्यलाई कर तिनुपर्ने बताए । धौलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुन र म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले निजी क्षेत्रसँग आवश्यक समन्वय गरेर अगाडि बढ्ने बताएका छन् ।

कार्यक्रममा नेकपा म्याग्दीका अध्यक्ष गोविन्द पौडेल, नेपाली कांग्रेसका उपसभापति माधवप्रसाद रेग्मी, बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवाल, नेपाल उद्योग वाणिज्य महासंघका गण्डकी प्रदेश अध्यक्ष सन्जीव कोईराला, केन्द्रीय सदस्य देवकुमार श्रेष्ठ, म्याग्दी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष जीवनबहादुर विश्वकर्मा, गैरसरकारी संस्था महासंघका अध्यक्ष दीपक पौडेल, पत्रकार महासंघका अध्यक्ष तारानाथ शर्मा र मंगला बजार इकाई सभापति हुमनाथ पाण्डेले मन्तव्य राखेका थिए ।

साधारणसभाको अवसरमा हालै सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा पदक विजेताहरु महिला भलिबलका कप्तान अरुणा शाही, कमला पुन, उसु खेलाडी विन्दु पुनमगर र भारोत्तोलनकी तारादेवी पुनलाई नगद सातहजार रुपैयाँका दरले दोसल्ला ओढाएर प्रशंसापत्रसहित सम्मान गरिएको थियो ।

यसैगरी गत शैक्षिक सत्रमा उत्कृष्ट अङ्क ल्याउने व्यवस्थापन सङ्कायतर्फ म्याग्दी बहुमुखी क्याम्पसका हरिप्रसाद उपाध्याय र निता शर्मालाई पनि नगद पाँचहजार रुपैयाँ, दोसल्ला र प्रशंसापत्रसहित उद्योग वाणिज्य अवार्ड–२०७६ बाट सम्मान गरिएको छ । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यको अध्यक्षता तथा स्वागत र महासचिव लिलाराम गौतमको सञ्चालनमा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष बेलबहादुर कटुवालले धन्यवादन ज्ञापनसहित उद्घाटन समारोहको समापन गरेका थिए ।

Leave a Reply