लभ्लीहिल घुम्न गएका यूवाले चारघण्टा लगाएर फोहोर संकलन गरे

0

बेनी नगरपालिका–२ खबरास्थित लभ्लीहिलमा घुम्न गएकाहरूले यत्रतत्र फालेको फोहोर संकलन गदैं थिए केही यूवा । गोलघर (भ्यु प्वाईन्ट), रेलिङ र बस्नका लागि आरामदायी बेन्चका साथै आसपासका क्षेत्रमा फोहोरले कुरुप बन्दै गएको देखेपछि यूवाहरुले करिव चारघण्टा फोहोर संकलन गरेका थिए । सदरमुकाम बेनीबजारको नजिक र सुन्दर पर्यटकीय गन्तब्यको रुपमा चिनिदै गएको लभ्लीहिललाई फोहोर रहित बनाउने अभियानमा जुटेको यूवा सन्देश आचार्यले बताए ।

‘फोहोर गर्ने पर्यटक हुदैनन्,‘पर्यटकीय ठाउँमा विदेशी पर्यटक भित्राउन सुन्दर बनाउनुपर्छ’ आचार्यले भने । उनले नेपाल भ्रमण बर्ष मनाइरहेको अवस्थामा आफ्नो ठाउँबाट पर्यटकीय क्षेत्रको सफा र सुन्दर बनाउने अभियानमा यूवाहरु लाग्नुपर्ने सन्देश दिन आफुँहरुले लभ्लीहिलबाट अभियान सुरु गरेको बताए । उनले म्याग्दीका अन्य पर्यटकीयस्थलमा समेत पुगेर सरसफाई गर्ने बताए ।

‘फोहोर संकलन गरेर सन्देश दिन खोजको मात्रै हो ।मानिसको सभ्यता पनि सरसफाईबाटै देखिन्छ’ अर्का यूवा सुप्रिम हमाल ठकुरीले भने । उनीसँगै अरुण लाम्गाडेले समेत लभ्लीहिल आसपासमा ८ बोरा फोहोर सङ्कलन गरेका थिए ।‘फोहोर संकलन सुरु गरेपछि घुम्न गएकाहरु चकित पर्नुभयो, सन्देशमुलक गतिविधिबाट पनि धेरैको आनिवानी परिवर्तन गर्न सकिन्छ’ यूवाहरुले भने ।

बेनी मोना लभ्लीहिल पदमार्ग बनेपछि घुम्न जानेको चाप बढेको छ भने सडक सञ्जालमार्फत समेत सवारीसाधनमै लभ्लीहिल पुग्ने गरेका छन् ।घुम्न जाने क्रममा लगेको खानेकुरा खाएपछि यत्रतत्र फाल्ने गरेकाले पनि कुरुप बन्दै गइरहेको थियो । विद्यार्थीले जोखिम मोलेर भीरबाट समेत फोहोर संकलन गरेका थिए । बेनीदेखि आधा घन्टाको दूरीमा रहेको लभ्लीहिलबाट बेनीबजार, गलेश्वर, पौलस्त्य आश्रम, भकिम्लीको स्वर्गाश्रम, पर्वत बेनी र मल्लाजलगायतका क्षेत्रहरु देख्न सकिन्छ । यसैगरी म्याग्दी जिल्लाको अधिकांश भू–भागका साथै उत्तरी पर्वतको जलजला गाउँपालिकासहित संसारको सातौं अग्लो चुचुरो धौलागिरि, अन्नपूर्ण हिमाल तथा सूर्योदयको समेत अवलोकन गर्न पाइन्छ ।

Leave a Reply