‘दीगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ भन्ने मूल नारासहित सोमबार जिल्ला सहकारी संघ म्याग्दीको सदरमुकाम बेनीमा १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले स्थानीय तहले सहकारीमैत्री नीतिनियम बनाउनुपर्ने बताएका छन् ।

उनले सबै सहकारी संघसंस्थाहरुले संरक्षित पुँजी कोषको स्थापना गर्नुपर्ने बताउँदै म्याग्दी जिल्लामा राष्ट्रिय सहकारी बैंकको शाखा ल्याउनका लागि आवश्यक पहल गर्ने बताए ।  कार्यक्रममा जिल्ला सहकारी संघका पूर्व अध्यक्षद्वय देउप्रसाद छन्त्याल, सुदर्शनकुमार श्रेष्ठ, बेनपा–६, का वडा अध्यक्ष कृष्णबहादुर बानियाँ, धौलागिरी गाउँपालिकाका प्रवक्ता झकबहादुर छन्त्याल, बेनी नगरपालिका सहकारी शाखाका कर्मचारी कुमार रिजाल र जिल्ला सहकारी संघका संस्थापक कोषाध्यक्ष अमृतदेवी बानियाँले मन्तव्य राखेका थिए ।

साधारणसभामा सहकारी संघका सचिव ज्योती लामिछानेले प्रगति र कोषाध्यक्ष सुरेन्द्रराज शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रम जिल्ला सहकारी संघका अध्यक्ष दीपक बिखर्चीको अध्यक्षता, उपाध्यक्ष ज्ञानेन्द्र सुवेदीको स्वागत र सचिव ज्योती लामिछानेको सञ्चालनमा सम्पन्न भएको थियो ।