’फेरी त्यो दिन सम्झन चाहन्न’

0

जेनिशा पुरी/ करिव ९ महिना लामो कष्टपूर्ण इन्डोनेसिया बसाइ र संघर्षपछि सकुशल नेपाल फर्किएकी बेनी नगरपालिका–९, तोरीपानीकी मुना खत्रीलाई आइतबार भेट्दा सेवाग्राहीलाई सेवा दिइरहेकी थिईन्। बेनीको न्यूरोडस्थीत न्यू धौलागिरी बचत तथा ऋण सहकारी संस्थामा सोझपुछ कक्षमा रहेकी खत्रीको अनुहारमा पीडाको बीचमा कृत्रिम मुस्कार देखिन्थ्यो।

कुर्चिमा बसेर कम्प्यूटर चलाइरहेकी उनले सेवाग्राहीको आवश्यकताका बारेमा सहकारीमा सिनियर कर्मचारीलाई जानकारी गराउने र आवश्यकता अनुसार सहयोग गर्ने प्रयास गरेकी थिईन् । मानब तस्करको चंगुलमा नारकीय दिनको सम्झनाले मुस्कानलाई अपहरण गरेजस्तो देखिएपनि उनले पीडालाई लुकाएर दैनिक काममा जुट्ने गरेकी छन् ।

थोरै पैसा लगानीमा सुरक्षित र छोटो समयमै समुन्द्री तथा स्थलमार्ग हुदै अस्टे«लिया पुगिने सपना बोकेर इन्डोनेसिया पुगेकी खत्रीले आर्थिक तथा मानसिक शोषणको पीडालाई बिर्सिएर घरपरिवार र समाजमा घुलमिलको प्रयासमा रहेको खत्रीको भनाई छ। ‘कालको मुखबाट फर्किए,‘अब पुराना दिनलाई सम्झिन चाहन्न’ खत्रीले भनिन्।

उनले ती दिनहरु कहालीलाग्दो सपना झै भएको बताउँदै सहकारीमा सेवाग्राहीसँग गरिने ब्यवहार,नियमित काम बाहेक दिदीहरुले बचत, कर्जा प्रवाह लगायत सहकारीका गतिविधिका बारेमा सिक्ने प्रयास गरेको बताइन्। इन्डोनेसियाबाट फर्किपछि समाजमा घुलमिल हुन नसक्ने अवस्थामा उद्धार गरेर बेनीसम्म ल्याउने समाजसेवी चन्द्रकुमार केसीले थप हौसला दिएपछि नयाँ जीवनमा प्रवेश गरेको बताईन्। सहकारीमा आउने सेवाग्राहीको मायाँले समेत अनुहारमा पुरानै चकम फर्काउने कोशिस गरेको उनको भनाई छ।

दिउँसो जागिर खाने, विहान–बेलुकी आत्मनिर्भर बन्ने विभिन्न तालिम सिक्ने योजना सुनाउँदै खत्रीले विभिन्न सिपमुलक तालीममा समेत समय दिने बताईन् । ‘फेरी त्यो दिन सम्झन चाहन्न त्यही कथा म दो¥याउन चाहन्न’ खत्रीले भनिन् । उनले पुरानो दिन र त्यही कथालाई पुनः दो¥याउनु भनेको आफ्नो र परिवारलाई थप पीडाको भारी बोकाउनु भएको बताईन् ।

‘मैले मेरो परिवारलाई खुसी बनाउन पुराना दिनलाई दिमाखबाटै हटाउने प्रयासमा छु’ खत्रीले भनिन् ।ब्यस्त समयले पीडालाई मनैदेखि हटाउन सकिने उनको भनाई छ। घरपरिवार र आफन्तलाई पुरानै मुना भएर देखाउन निरन्तर मेहनत गर्ने बताईन् ।

समाजमा सकारात्मक अभियानमा सहभागी हुने, पीडामा परेका यूवाहरुलाई आफ्नो भोगाईको अनुभव सुनाउने, समाजसेवामा लाग्ने खत्रीको चाहना छ। दलालको आश्वासनमा आफुँजस्तै अरु चेली बन्धक हुने अवस्थाको अन्त्यका लागि धेरै जनचेतना फैलाउने चाहना रहेको खत्रीको भनाई छ ।

यता सहकारीका अध्यक्ष लीलाबहादुर बानियाँले खत्रीको ठूलो आँट र सुझबुझपूर्ण तरिकाका कारण मानव तस्करको अन्तराष्ट्रिय जालो तोडिएको बताउँदै सहकारीले उचित जिम्मेबारी दिने बताए।

‘उनको प्रयासमा अलपत्र छ जना नेपालीको उद्धार भएको थियो,‘धेरै नेपाली फस्नबाट जोगाउने उनको प्रयासलाई उच्च सम्मान गरेका छौ’ अध्यक्ष बानियाँले भने । उनले समाजमा मुनाको साहसको उच्च सम्मान आवश्यकता रहेको बताउँदै ब्यक्तिगत रुपमा समेत आवश्यक परेमा सहयोग गर्ने बताए। तत्काल धेरै दवाव हुने कामभन्दा उनलाई सहज हुने गरी कामको ब्यवस्था मिलाइएको छ।

Leave a Reply