विकास निर्माणको जग बसाल्दैछौं : मुख्यमन्त्री गुरुङ

0

म्याग्दी – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकार विकास निर्माणका लागि आवश्यक आधारहरु तयार पार्न लागिपरेको बताउनुभएको छ । जिल्ला समन्वय समिति म्याग्दीको नवनिर्मित सभाहलको मङ्गलबार बेनीमा उद्घाटन गर्दै उहाँले गण्डकी प्रदेशभित्र विकास निर्माणको जग बसाउन आवश्यक ऐन, कानुनको निर्माण थालिएको बताउनुभएको हो ।

मुख्यमन्त्री गुरुङले प्रदेश समन्वय परिषदको हालसम्म तीनवटा वैठक बसिसकेको बताउँदै कानुन तर्जुमा गर्नका लागि सहजीकरण समिति बनाइएको बताउनुभयो । उहाँले प्रदेशभित्र विकास निर्माणको आधार निर्माण गर्न विभिन्न पहलहरु भैरहेको बताउँदै प्रदेशको विकासका लागि सडक, कृषि, पर्यटन, जलविद्युत र खानेपानीलाई प्राथमिकता दिइएको बताउनुभयो ।

उहाँले गण्डकी प्रदेशमा अझै पनि ९ प्रतिशत घरधुरी विद्युत सेवाबाट बञ्चित रहेको भन्दै उज्यालो प्रदेश कार्यक्रम अन्तर्गत तत्कालका लागि सोलार प्यानल जडान गरेरै भए पनि विद्युतीय सेवा उपलब्ध गराइने बताउनुभएको छ ।
प्रदेश प्रहरी ऐन बनाउनका लागि जनतासँग सुझाव माग गरिने बताउँदै मुख्यमन्त्री गुरुङले विदेशी सहयोग र लगानी भियाउन आवश्यक नीति, ऐन निर्माण गरी सार्वजनिक, निजी क्षेत्र र सहकारी मिलेर अगाडि बढ्ने धारणा राख्नुभयो ।

उहाँले गण्डकी प्रदेशमा आवश्यक जनशक्तिको विकास र उत्पादन गर्न प्रदेश विकास प्रतिष्ठान बनाइने बताउँदै विकास निर्माणलाई जोड दिन मुख्यमन्त्रीको नेतृत्वमा प्रदेश विकास समस्या समाधान समिति बनाइने बताउनुभयो । विकासे योजनाहरुको कार्यान्वयन गर्न वातावरणीय प्रभाव मूल्याङ्कन (आइई) गर्नका लागि प्रदेश र स्थानीय तहमा वन तथा वातावरण ऐन निर्माणको तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।

मुख्यमन्त्री गुरुङले पञ्चवर्षीय योजनाको खाका बनाइएको बताउँदै संघ, प्रदेश र स्थानीय तहले निर्माण गर्ने योजनाको वर्गीकरण गरेर अगाडि बढेमा डुब्लिकेसन नहुने बताउनुभयो ।

उहाँले गण्डकी प्रदेशको तनहुँ, लमजुङ, स्याङ्जा, म्याग्दी र मुस्ताङमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गरिने जानकारी दिँदै मुस्ताङ जिल्लामा हाई अल्टिच्युडको रङ्गशाला निर्माण गरिने जानकारी समेत दिनुभयो । संघ, प्रदेश र स्थानीय तहको सहभागितामा रङ्गशाला निर्माण गरिने भन्दै उहाँले रङ्गशाला निर्माणका लागि सम्बन्धित स्थानीय तहले डिपिआर तयार गरेर पठाउनुपर्ने बताउनुभएको छ ।

स्थानीय तहले योजना निर्माण गर्ने क्रममा संघ र प्रदेश सरकारले बनाएको योजनालाई हेरेर बनाउनुपर्ने मुख्यमन्त्री गुरुङको भनाइ छ ।
राष्ट्रिय अर्थतन्त्रका हिसाबले गतवर्ष अन्य प्रदेशहरुको तुलनामा गण्डकी प्रदेश अगाडि रहेको बताउँदै मुख्यमन्त्री गुरुङले यसवर्ष ८ प्रतिशत आर्थिक वृद्धिदर पु¥याइने लक्ष्य लिइएको बताउनुभयो । उहाँले हाल नेपालको प्रतिव्यक्ति आय १ हजार ४१ डलर रहेको भन्दै १५ सय ४० डलर पु¥याउनुपर्ने बताउनुभयो ।

उहाँले गण्डकी प्रदेशमा अहिले ७२ वर्ष औषत आयु रहेकोमा ७५ वर्ष पु¥याइने बताउँदै त्यसका लागि प्रदेशभित्र क्यान्सर, मुटु, बालरोग नियन्त्रणका लागि अस्पतालहरु निर्माण गरिने बताउनुभयो । उहाँले विशेष सहयोगमार्फत जिल्ला अस्पतालहरुलाई ३३ करोड रुपैयाँ पठाइएको बताउनुभयो ।

तत्कालीन शान्ति तथा पुनर्निमाण मन्त्रालयको एक करोड ४२ लाख र गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको एक करोड ८८ लाख ८६ हजारसहित कुल तीन करोड ३० लाख ८६ हजार रुपैयाँको लागतमा सभाहल निर्माण गरिएको छ ।

Leave a Reply