जिल्ला समन्वय समिति म्याग्दीको नवनिर्मित सभाहलको उद्घाटन

0

जिल्ला समन्वय समिति म्याग्दीको नवनिर्मित सभाहलको मङ्गलबार बेनीमा औपचारिक उद्घाटन भएको छ । तत्कालीन शान्ति तथा पुनर्निमाण मन्त्रालय र गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको आर्थिक सहयोगमा निर्माण गरिएको सभाहलको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभएको हो ।

पुनर्निमाण मन्त्रालयको एक करोड ४२ लाख र भौतिक पूर्वाधार विकास मन्त्रालयको एक करोड ८८ लाख ८६ हजारसहित कुल तीन करोड ३० लाख ८६ हजार रुपैयाँको लागतमा भवन निर्माणसम्पन्न गरिएको छ । उक्त भवनमा करिब ५ सयजना अट्न सक्ने क्षमताको सभाहल बनाइएको छ । जिल्ला समन्वय समितिको सभाहल निर्माणसँगै अब जिल्लामा हुने ठूला कार्यक्रम सञ्चालन गर्न सहज हुने देखिएको छ ।

सभाहल उद्घाटन कार्यक्रममा बोल्दै पूर्व मन्त्री तथा सांसद थममाया थापाले विगतको समयमा भन्दा पछिल्लो समय संघीयताको कार्यान्वयनसँगै विकास निर्माणले गति लिएको बताउनुभयो । उहाँले जनताको काम नगर्ने, दुःख दिने र गैरकानुनी कार्यमा संलग्नलाई कानुनी दायरामा ल्याइएको बताउँदै जनताले अनुभूति हुनेगरी सुशासन कायम हुन थालेको बताउनुभएको छ ।

उहाँले अन्य प्रदेशहरुको तुलनामा गण्डकी प्रदेश सानो भए पनि प्राकृतिक स्रोत र साधनका हिसाबले अब्बल रहेको भन्दै कृषि, पर्यटन र जलविद्युतको पर्याप्त सम्भावना रहेकाले सोही अनुसार नीति र योजना निर्माण गरेर कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।पूर्व सभासद गोविन्द पौडेलले बेनी–दरबाङ–जलजला–ढोरपाटन हुँदै रुकुम जोड्ने सडक निर्माण कार्यलाई जोड दिन आग्रह गर्नुभएको छ । पूर्व सांसद नवराज शर्माले नेपालमा राजनीतिक संरचना बदलिएको हुँदा अब धर्तीको संरचनालाई बदल्नुपर्ने भन्दै त्यसको एउटा उदाहरण जिसस सभाहल समयमै निर्माणसम्पन्न भएको बताउनुभयो ।

सांसद रेशमबहादुर बानियाँले जिसस सभाहल निर्माणका क्रममा आफूले पनि पटकपटक अनुगमन गरेर सल्लाह, सुझाव दिइएको बताउँदै म्याग्दी जिल्लाको विकास निर्माणलाई गति दिन मुख्यमन्त्रीको ध्यानाकर्षण समेत गराउनुभयो । गण्डकी प्रदेशका सदस्य विनोद केसीले प्रदेश सरकारमार्फत जिल्लामा विकास निर्माणका धेरै कामहरु थालिएको जानकारी दिँदै विकास निर्माणमा विनियोजन भएको बजेटको कार्यान्वयनका लागि सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने बताउनुभएको थियो ।

कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, नेपाली कांग्रेस म्याग्दीका उपसभापति माधवप्रसाद रेग्मी, प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले मन्तव्य राखेका थिए । कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीको अध्यक्षता, सदस्य शेरबहादुर केसीको स्वागत र समन्वय अधिकारी ज्ञानराज कोईरालाको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply