नेपाल टेलिकमले बेनीबजारमा दु्रत गतिको इन्टरनेट सेवा विस्तार सुरु गरेको छ । टेलिकमले भ्वाइस तथा डाटाका लागि प्रयोग गर्दै आइरहेको तामाको तार (कपर) प्रविधिलाई पूर्ण रूपमा हटाएर फाइबर प्रविधिको इन्टरनेट बेनीबजार, जलजला गाउँपालिका तथा आसपासका क्षेत्रमा विस्तार कार्य सुरु गरेको हो । फाइबर टु द होम नाम दिइएको सेवामार्फत तत्काललाई इन्टरनेट तथा ल्यान्डलाइन टेलिफोन सेवा उपलब्ध गराइएको टेलिकम म्याग्दीका प्रमुख विष्णुदेव शाहले बताए।

‘सस्तोमा दु्रत गतिको इन्टरनेट प्रयोग गर्नुहोस्,‘सेवालाई आवश्यकता अनुसार विस्तार गर्ने योजना छ’ उनले भने । नयाँ र पुरानो नम्बर प्रयोग गरी भ्वाइस र इन्टरनेट प्रयोगकर्तालाई एफटीटीएच प्रविधिको सेवा उपलब्ध गराइएको छ । सदरमुकाम बेनीमा रहेका १ हजार २१६ ग्राहकले सेवाग्राही रहेकोमा मंगलबारसम्म १ सय ४० सेवाग्राहीले दु्रत गतिको इन्टरनेट प्रयोग गरेको टेलिकमले जनाएको छ ।

मासिक ८ सय रुपैयाँ लिइएकोमा बार्षिक एकमुष्ट भुक्तानी गर्नेलाई छुट रहेको बताइएको छ । फाइबरमार्फत् इन्टरनेट तथा ल्यान्डलाइन टेलिफोन सेवासँगै निकट भविस्यमा भिडियो अर्थात टिभी सेवा समेत सुरु गर्ने योजना रहेको छ ।

गलेश्वर, बेनीबजारसँगै छिमेकी पर्वत जिल्लाको जलजला गाउँपालिका अन्तरगत वारीबेनी लगाएतका आसपासका क्षेत्रका ग्राहकहरूलाई भरपर्दो, गुणस्तरीय तथा तिब्र गतिको डाटा सहितको सेवाले सेवाग्राही समेत उत्साहित भएका छन् । नवीन र अत्याधुनिक सूचना प्रविधिको रुपमा रहेको एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन, दु्रत गतिको इन्टरनेट र टिभि सेवाले ग्राहकलाई आर्कषित गरेको छ ।

तामाको तारको प्रयोग गर्दा धेरै प्रकारका तार टाँग्नुपर्ने, पटक–पटक आउने समस्या आउने र इन्टरनेटको गति घट्दै जाँदा सेवाग्राहीले अन्य इन्टरनेट सेवाप्रदायकमा आर्कषित हुनुपर्ने अवस्था रहेको अवस्थामा फाइबर प्रविधिको सेवाले सहज हुने बेनीबजारबासीको भनाई छ।