पछिल्लो समय नेपाली अर्थतन्त्रको आशालाग्दो क्षेत्र भनेर कृषक र कृषि क्षेत्रलाई बुझ्ने गरिन्छ । सरकारले पनि कृषकहरुको मनोवल बढाउन र कृषि क्षेत्रमा आकर्षित गराउन कृषिमा राम्रै अनुदान पनि दिएको छ । स्थानीय उत्पादनहरु ठाउँमा पु¥याएर विक्रिवितरण गरि कृषकहरुको आर्थिक अवस्था उकास्नका लागि सरकारले विभिन्न जिल्लाहरुमा कृषि सङ्कलन केन्द्र खोलेको देखिन्छ ।

तर स्थानीय सरकारले ती केन्द्रहरुलाई महत्व नदिएका कारण निर्माण भएका कृषि सङ्कलन केन्द्रहरु पनि प्रयोग विहिन अवस्थामा पुगेका छन् । प्रयोगविहिन मात्रै होइन रमिते र लाजमर्दो अवस्थामा पुगेको छ म्याग्दीको ‘कृषि उपज सङ्कलन केन्द्र’ ।

म्याग्दीको सदरमुकाम बेनीमा जिल्ला प्रहरी कार्यालय नजिकै रहेको बहुउद्देस्यिय खेलमैदानमा निर्माण गरिएकोे ‘कृषि उपज सङ्कलन केन्द्र’ लामो समयदेखि उपयोगविहिन बनेको छ । विभिन्न ५ चरणमा कुल ३८ लाख २६ हजार ९ सय ९४ लगानीमा निर्माण सम्पन्न भएको उक्त उपज केन्द्र सम्बन्धित पक्षको वेवास्थाका कारण कहिले पशु चौपायाको बासस्थान त कहिले गाडी पार्क गर्ने स्थल बनेको छ ।

कृषि क्षेत्रको संरक्षण, सम्बद्र्धन तथा साना किसानहरुको सहजताका लागि भनेर गाउँ ईलाका, जिल्ला क्षेत्र र केन्द्रिय स्तरमा समन्वय गराउँदै राज्य र कृषकहरुको सेतुको रुपमा काम गर्ने उद्देस्यका साथ यसको परिकल्पनासँगै निर्माण गरिएको भएपनि स्थानीय सरकारले यसको महत्व बुझ्न नसक्दा यस केन्द्र अलपत्र परेको हो । पहिलोपटक २०६५ सालमा निर्माण शुरु गरिएको केन्द्रका लागि जिल्ला कृषि विकास कार्यालय म्याग्दीको पाँचलाख, डि.सी.आर.डि.सीको एकलाख र लघु उद्यम विकास समिति म्याग्दीको एकलाख रुपैयाँ गरि कुल ८ लाख लगानीमा दुईकोठे भवन बनेको थियो ।

त्यसैगरि दोस्रो चरण अन्तर्गत २०६९ सालमा कृषि विकास कार्यालयको प्राविधिक सहयोग तथा तत्कालिन जिल्ला विकास समितिको कार्यालयको एकलाख पचास हजार, लघुउद्यम विकास समिति म्याग्दीको एकलाख तथा सहमति म्याग्दी र प्लान नेपालको दुईलाख लगानी परेको थियो । त्यसैगरि तेस्रो र चौथो चरण अन्तर्गत जिल्ला कृषि विकास कार्यलयको ७÷७ लाख लगानीमा केन्द्रको स्थापना भएको थियो ।

गतवर्ष कृषि उपज सङ्कलन केन्द्रलाई व्यवस्थित गरी नगरपालिका अगाडि रहेको बसपार्कलाई त्यस स्थानमा सार्ने सहमति सहित कृषि ज्ञान केन्द्रको १० लाख, उपभोक्ता समितिको २ लाख ७६ हजार ९ सय ९४ र नगरपालिकाको ५ लाखमा घेराबार सहित खुल्ला रहेको टहरालाई विभाजन गरेर सटर निमार्ण गरिएको कृषि उपज सङ्कलन केन्द्र हाल आएर प्रयोग विहिन बनेको छ ।

यस उपज केन्द्र निर्माणका लागि विभिन्न ५ चरणमा कुल ३८ लाख २६ हजार ९ सय ९४ लगानी परेको बेनी नगरपालिका वडा नंम्बर ७ का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । २०६५ सालमा निर्माण गरिएको टहरामा कृषि उपज सङ्कलन मात्रै गर्ने गरिएकोमा पछि म्याग्दी उद्योग वाणिज्य सङ्घले समेत चासो देखाएपछि शनिबारे हाटबजार शुरु गरिएको थियो । शनिबारे हाटमा व्यापार गर्ने व्यापारीका लागि टहरा साँघुरो भएपछि टहराको आकार बढ्न गएको हो ।

सदरमुकाम बेनीको आसपासका कृषकहरुका उपजलाई हाटबजारमा सिधै पहुँच दिने उद्देश्यले प्रत्येक शनिबार हाटबजार सञ्चालन शुरु भएपनि बजारमा तरकारी र खुद्रा व्यापारीको असहयोगका कारण यसले निरन्तरता पाउन नसकेको खबराका कृषक राधा आचार्यको गुनासो रहेको छ । सरकारी तथा गैरसकारी संस्थाहरुको पहल र सहयोगमा सदरमुकाममा कृषि उपज सङ्कलन केन्द्र निर्माण हुँदा यसबाट उत्पादक कृषहरुलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको थियो तर सरोकारवाला निकायको बेवास्ता र कृषक–व्यापारीबीच कुरा नमिल्दा हाट बजार नै बन्द हुन पुग्यो ।

अहिले हाट बजारको अवशेषको रुपमा उपयोगविहिन टहराहरु मात्र छन् भने हाटबजार बन्द भएको वर्षौं भैसकेको छ । स्थानीय सरकार बनेपछि सो भवनको स्वामित्व नगरपालिकामा जानुपर्ने र नगरपालिकाले नै प्रयोगमा ल्याउनुपर्नेमा यस्तो हुन नसकेको अवस्था रहेको छ । ‘नगरपालिकाको कार्यपालिकाको बैठकमा मैले पटकपटक नगरपालिका अगाडि भएको बसपार्कलाई सो केन्द्रमा सारेर व्यवस्थित रुपमा सञ्चालन गरौं भनेर प्रस्ताव लैजादाँ समेत नगरकार्यपालिकाका साथीहरुले कुनै चासो नदेखाएको’ बेनपा ७ का वडा अध्यक्ष श्रेष्ठ बताउँछन् ।

प्रयोग विहिन बनिरहेको सो भवन कहिले बेनी बजारबासीको मःमः बनाउन प्रयोग हुने रागा र भैैंसी बाँध्न र कहिलेकाहीँ व्यापारीका सवारीसाधन थन्क्याउन उपयोगी भने बनेको छ । यसबारे चासो कसले राख्नुपर्ने हो ? स्थानीय सरकारको निर्माण भएको करिब ३ वर्ष वितिसक्दा पनि जनप्रतिनीधिहरुले सङ्कलन केन्द्रको बारेमा चासो नदेखाएको प्रष्ट देखिन्छ ।

वर्तमान समयमा दैनिक हजारभन्दा बढी युवाहरु कामको खोजीमा विदेशिरहँदा २ करोड ६० लाख रोपनी जमिन बाँझै छ भने बाँझो जमिनको आकार वर्षेनी बढिरहेको छ । यस्तो अवस्थामा स्थानीय सरकारले वैज्ञानिक स्रोत र साधनहरुको प्रयोग गरि यस्ता उपज केन्द्रहरुको सञ्चालन गर्नमा ध्यान पु¥याउन आवस्यक देखिन्छ । बिदेशिने युवा शक्तिहरुलाई कृषितिर लाग्न प्रेरित गर्दै बाँझो जमिनको प्रयोग गर्न सकेन भने अवको बीसवर्षपछि नेपाल कृषि प्रधान होइन बाँझो प्रधान देसको रुपमा परिचित हुनेछ । सन्दिप शर्मा/ म्याग्दी सञ्चार साप्ताहिक