अर्जुन कार्की
बागलुङ, २३ पुस ।
बागलुङका युवा फुटबल खेलाडी कमल थापाले काठमाडौंमा जारी कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा डेब्यू गरेका छन् । बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डेका थापाले हिमालयन शेर्पा क्लबबाट मंगलबार फ्रेण्डस क्लब विरुद्ध मैदान उत्र्दै ए डिभिजन लिगमा डेब्यू गरेका हुन् । यससँगै थापा ए डिभिजन लिग खेल्ने बागलुङको दोस्रो खेलाडी भएका छन् ।

गत वर्ष बागलुङका आशिष केसीले फ्रेण्डस क्लबबाट ए डिभिजन लिगमा डेब्यू गरेका थिए । उनी यस वर्षको लिगमा पनि फ्रेण्डस क्लबबाटै खेलेका छन् । हिमालयन शेर्पाबाट पोखरामा हुने आहा रारा गोल्डकप लगायतका प्रतियोगिता खेलिसकेका थापाले ए डिभिजन लिगमा डेब्यू गर्न पाउँदा खुसी लागेको बताए । उनले गतवर्ष पनि क्लबले लिग अगाडी नै ट्रेनिङमा बोलाउँदा व्यक्तिगत कारणले आउन नसकेर लिग छुटेको बताउँदै अहिले क्लबको एक खेल पछि क्लबमा समावेश भएको र पेपर लगायतका कारणले क्लबको पाँचौं खेलमा डेब्यू गर्ने मौका पाएको बताए ।


थापाले खबरवे अनलाईनसँग कुरा गर्दै पहिलो खेलमा आफुबाट केहि गल्ती भएकाले त्यसलाई सुधार गर्दै आफ्नो उत्कृष्ट खेल प्रस्तुत गर्ने बताए । उनले राष्ट्रिय टिममा पर्ने सोच भएपनि उमेर समुहको खेलमा आफ्नो खेल उत्कृष्ट हुँदाहुँदै पनि पावरको आधारमा अरु खेलाडीहरुलाई समावेश गर्दै आफुलाई मौका नदिएकोमा टिममा पर्नेमा अझै शंका लाग्ने गरेको बताए । थापाले राष्ट्रिय टिममा पर्नको लागि खेल्नुभन्दा पनि क्लबको लागि आफ्नो शतप्रतिशत दिएर खेल्ने बताए ।
एन्फा उत्पादन थापाले नेपालको अन्डर १३, १५ र १६ टिमबाट खेलिसकेका छन् । यस्तै उनले ए डिभिजन क्लबहरु समावेश हुने मनकामना गोल्डकप, काँकरभित्ता गोल्डकप, सिमरा गोल्डकप लगायतका प्रतियोगिताहरु खेलिसकेका छन् ।
मिडफिल्ड पोजिसनबाट खेल्डने थापा एन्फा बागलुङको बागलुङ ११ टिमका भरपर्दा खेलाडी समेत हुन ।
गतवर्षको ए डिभिजन लिगमा बागलुङका अविशेक बोहोरा थ्री स्टार क्लबमा आवद्ध भएपनि डेब्यू गर्नभने पाएका थिएनन् ।