म्याग्दी र मुस्ताङ जिल्ला बीचको सीमा विवाद समाधानको प्रयास भएको छ । लामो समयदेखिको विवादले दुवै जिल्लाका बासिन्दालाई समस्या उत्पन्न भइरहेको अवस्थामा समस्या समाधानका लागि बुधबार मुस्ताङको देउरालीमा दुई जिल्लाको जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, स्थानीय सरोकारवालाको टोलीले तीनबुँदे समझदारी सहित एक संयुक्त समिति गठन भएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दाना र मुस्ताङको थासाङ गाउँपालिका–४ बादरजुङ, चरन क्षेत्र, विकास निर्माण लगायत विभिन्न विषयमा पटक–पटकको समस्यालाई समाधान गर्न उपसमितिले नापी विभागसँग समन्वय गरी आवश्यकता अनुसार स्थलगत अनुगमन समेत गरी छिट्टै समाधान गर्ने सहमति गरेका छन्। दुवै जिल्लाको सिमाना क्षेत्रमा जडिबुटी,पशुचौपाय चरनक्षेत्र प्रयोगमा स्थानीय बीच विवाद उत्पन्न हुने गरे पनि समाधानको दिर्घकालिन उपायको खोजी हुन सकेको थिएन् ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन, थासाङ गाउँपालिका अध्यक्ष बुद्धिप्रसाद शेरचन, जिल्ला समन्वय समिति म्याग्दीका अध्यक्ष देबेन्द्र बहादुर केसी, मुस्ताङका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्याल, म्याग्दीका प्रजिअ ज्ञाननाथ ढकाल लगायत स्थानीय वडा प्रतिनिधि, स्थानीयबासीको उपस्थिती रहेको थियो ।

सिमा विवाद समाधानका लागि आवश्यक पर्ने सम्पूर्ण खर्च सिमा विवाद भएका स्थानीय तहले ब्यवस्थापन गर्ने, कुनैपनि समस्या भएमा जिल्ला प्रशासन कार्यालयबाट प्रजिअले समन्वय गर्ने समेत सहमति भएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डम बहादुर पुनले बताउनुभयो । दुवै जिल्लाका प्रजिअले समेत जनप्रतिनिधि सहितको उपस्थितीमा भएको छलफल सहितको निर्णयले दिर्घकालिन सिमा समाधानको बाटो खुलेको बताउनुभएको छ ।

म्याग्दीबाट मुस्ताङ जोड्ने सडक सञ्जाल तथा माथिल्लो क्षेत्रमा यार्सा सहित बहुमुल्य जडिबुटी, ठूलो चरन क्षेत्र भएकाले समेत स्थानीय बीच भोकचलनमा विवाद हुने गरेको थियो। यसभन्दा अघिपनि पटक–पटक उक्त सिमा विवादका बारेमा छलफल भएपनि निश्कर्षमा पुग्न सकेको थिएन ।

विवादित भुभाग नापेर केही समयपछि पुनः समाधानको उपाय खोजिने भएपछि सिमा क्षेत्रका स्थानीय समेत उत्साहित भएका छन् । दुवै जिल्लाका सीमाका वडाले आ–आफ्नै जग्गा भएको दाबी गर्दै आएको अवस्थामा समस्याको समाधानका लागि नापी नक्साकै आधारमा विवाद टुंगो लाग्ने बताइएको छ । म्याग्दीसँग सिमा जोडिएको कास्की, बागलुङ, पर्वत जिल्लाको सिमा क्षेत्रमा समेत बेलाबेलामा विवाद हुने गरेको छ भने जिल्ला भित्र आन्तरिक विवाद समेत छ ।