नेपाल भ्रमण वर्ष–२०२० को प्रचारप्रसार गर्ने उद्देश्यसहित म्याग्दीमा माघेसङ्क्रान्ति मेलामा जिल्लाका पर्यटकीयस्थलहरुको प्रचारप्रसार गरिने भएको छ। परम्परागत रुपमा लाग्दै आइरहेको माघेसङ्क्रान्ति मेलाको जगेर्ना, स्थानीय उत्पादनको बजारीकरण तथा आन्तरिक पर्यटन प्रवद्र्धनसँगै नेपाल भ्रमण बर्षको अवसरमा म्याग्दीका पर्यटकीयस्थलमा पर्यटकलाई आर्कषित गर्ने गरी विषेश प्राथमिकता दिइने महिला उद्यम विकास समितिका सभापति सुनिता केसीले बताइन् ।

उनका अनुसार नेपाल भ्रमण वर्ष–२०२० लाई म्याग्दीमा पनि शुभारम्भ गर्नेगरी आगामी पुस २९ देखि माघ १ गतेसम्म माघेसङ्क्रान्ति मेलामा जिल्लाका सबै स्थानीय तहको कृषि उपजको प्रर्दशनी, विभिन्न जातजातिको झाँकी प्रर्दशन, पर्यटकीय क्षेत्रहरुको फोटो प्रर्दशनी समेत गरिने छ । उनका अनुसार मेलामा खुल्ला एकल लोकनृत्य तथा नेपाल भ्रमण वर्ष–२०२० लाई लक्षित गरी खुल्ला लोकगीत प्रतियोगिता राखिएको छ ।

म्याग्दी उद्योग वाणिज्य संघ अन्तरगतको महिला उद्यम विकास समितिको मूल आयोजनामा हुन लागेको मेलामार्फत म्याग्दीमा भित्रिने विदेशी पर्यटकलाई स्वागत समेत गरिने छ । ‘मेलामा मात्रै सिमित गदैनौ,‘पर्यटन प्रर्वधनको महत्वपूर्ण आधार बनाउँछौ’ प्रथम उपाध्यक्ष लक्ष्मी भण्डारी कार्कीले भनिन् ।

उनका अनुसार म्याग्दी भित्र रहेका पर्यटकीयस्थलको अवलोकन सहित आन्तरिक पर्यटनलाई समेत सघाउने बताईन् । आन्तरिक पर्यटनका लागि उद्यमीहरुले नै होमस्टेको प्रर्वधनलाई समेत प्राथमिकता दिएका छन् ।‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित आयोजना गरिने मेलामा जिल्लाभित्रका पर्यटकीय, धार्मिक र ऐतिहासिक क्षेत्रलाई समेटेर फोटो प्रर्दशनी गरिनेछ ।